0
‘ओ–नेगेटीभ’ रगत अभावमा उपचार पर्खेकी एक बिरामीको चारदिनपछि बल्ल शल्यक्रिया भएको छ । पोखरा–८, सिर्जनाचोक बस्ने फूलकुमारी शाहको ओ–नेगेटिभ रगत अभावमा मणिपाल शिक्षण अस्पतालमा शल्यक्रिया रोकिएको थियो । नेपाली कांग्रेस वडा इकाइ समिति पोखरा–८ ले शुक्रबार खुला रक्तदान आयोजना गर्दा दाताले दिएको एक यूनिट रगत पाएपछि बल्ल उनको शल्यक्रिया भएको छ । १ सय २ औं बिपी जयन्तीको अवसर पारेर आयोजित रक्तदानमा ३५ यूनिट रगतमध्ये फूलकुमारीलाई मिल्ने एक यूनिट ओ नेगेटिभ रगत पनि संकलन भएको थियो । फूलकुमारीलाई चारयूनिट रगत चाहिएको रहेछ । त्यसमा तीन यूनिट उनीहरुले आफै व्यवस्था गरेका रहेछन्’ रक्तदान आयोजक समितिका संयोजक तथा वडा उपसभापति सुनील मर्सानीले भने, ‘अपुग एक यूनिट हामीले आयोजना गरेको रक्तदानमा संकलन भयो । त्यही रगत लगेर फूलकुमारीको शल्यक्रिया सम्पन्न भयो ।’ एकयूनिट रगत नपाउँदा चारदिनदेखि शाहको शल्यक्रिया रोकिएको उनले बताए । समयमा रक्तदान कार्यक्रम आयोजना गर्दा बिरामीले उपचार पाउन सकेको उनले बताए ।
बेलाबेला हुने गरेको रगतको अभाव पुरा गर्नका लागि खुला रक्तदान कार्यक्रम आयोजना गरेको संयोजक मर्सानीले बताए । ‘रगत अभावमा कोही बिरामीले अकालमा ज्यान गुमाउनु हुँदैन,’ उनले भने । इकाइ सभापति सुवास सिग्देलको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि कांग्रेस कास्की सभापति कृष्ण केसीले बिपीको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा कांग्रेस ३ नम्बरका क्षेत्रीय सभापति विजय आचार्य, नगर सभापति बजीरमान श्रेष्ठ, सभापति सिग्देल, जिल्ला कोषाध्यक्ष लक्ष्मी पाण्डे लगायतले बोलेका थिए ।



Post a Comment

 
Top