0
कांग्रेसको भ्रातृसंस्था तरुण दलको महाधिवेशन कात्तिक २७–२९ मा हुने भएको छ। यसअघि असोज ३–५ मा पोखरामा महाधिवेशन गर्ने तय भए पनि सबै जिल्लामा अधिवेशन सम्पन्न नहुने र कतिपय जिल्लामा विवाद रहेकाले महाधिवेशन सार्नुपरेको पार्टीद्वारा गठित निर्देशन समितिका सदस्य रामकृष्ण यादवले बताए।  यादवका अनुसार निर्देशन समितिको बिहीबार बसेको बैठकले महाधिवेशनको नयाँ मिति तय गरेको हो।  महाधिवेशन स्थल भने समितिले तोकेको छैन। समितिले तरुण दल केन्द्रीय कार्यसमितिलाई असोज १० सम्म सबै जिल्लाका अधिवेशन सम्पन्न गर्न निर्देशनसमेत दिएको छ। तोकिएको अवधिमा जिल्ला अधिवेशन सम्पन्न गर्न नसके निर्देशन समितिले हस्तक्षेप गरी अधिवेशन सम्पन्न गराउने सदस्य यादवले बताए। तरुण दलको हालसम्म ६२ जिल्लामा अधिवेशन सम्पन्न भएको छ। तर, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले ५१ जिल्लाबाहेकमा विधिवत् अधिवेशन हुन नसकेको दाबी गर्दै आएको छ। पौडेल समूहले सबै जिल्लाको अधिवेशन सम्पन्न नहुँदासम्म महाधिवेशनमा भाग नलिने चेतावनी दिँदै आएपछि अधिवेशन सारिएको हो।  संस्थापन पक्ष भने अधिवशेन हुन नसकेका जिल्लामा भागबन्डाका आधारमा प्रतिनिधि छुट्याएरै भए पनि महाधिवेशन गराउनुपर्ने पक्षमा थियो। तर, पौडेल पक्ष नमानेपछि महाधिवेशन नै सार्नुपरेको हो।

Post a Comment

 
Top