0
गोल्डेन न्यूज संवाददाता
धादिङ–पोखरा सम्पर्क समाजको नवौं अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न असफल भएपछि आरोप–प्रत्यारोप शुरु भएको छ । सामाजिक संस्था भएपनि खासगरि कांग्रेस–माओवादी र एमालेबीच आरोप–प्रत्यारोप शुरु भएको हो । एमालेले रणनीतिक रुपमा सामाजिक संस्थामा घुस्न खोजेका कारणले नै नेतृत्व चयन हुन नसकेको आरोप कांग्रेस–माओवादी केन्द्रले निकटले लगाएका छन् भने एमाले निकटले माओवादीले सबै पदमा एकलौटी गर्न खोजेको र त्यसमा कांग्रेसले साथ दिएपछि आफूहरुले नमानेको बताएको छ । एमाले निकट वेनी पाठकले गोल्डेन न्यूज दैनिकसंग भने–‘माथिल्ला सबै पदमा एकलौटी गर्न खोज्ने अनि एमालेका कारण सहमति भएन भन्नु तर्कसंगत कुरा हुँदैन ।’ उनले भने–‘सामाजिक संस्था हो, सबै मिलेर अघि बढ्नुपर्नेमा अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पद दुवै माओवादीले लिएर कहाँ सहमति हुन्छ ?’ वरिष्ठ उपाध्यक्ष पदमा गोकर्ण लम्साललाई नैतिक तथा विधान दुवैले नदिने एमाले निकट एक वरिष्ठ पूर्व पदाधिकारी बताउँछन् । उनले भने–‘समाजको विधानमा लगातार २ पटक भन्दा बढी एकै पदमा बस्न नपाउने व्यवस्था छ, गोकर्ण लम्साल २ पटक वरिष्ठ उपाध्यक्ष भइसकेका व्यक्ति हुन् र अध्यक्ष पदमा उम्मेदवारी दिएर फेरि वरिष्ठ उपाध्यक्ष बन्छु भन्नु उहाँको नैतिकता भएन, पदलोलुपता भयो ।’
यता माओवादी निकट रेशम सिंखडाले माओवादी र कांग्रेस बीच एक खालको सहमति भइसकेको भएपनि एमालेकै कारण सहमति जुट्न नसकेको आरोप लगाउछन् । उनी भन्छन्–‘पदाधिकारीको ४ पदमा एमाले निर्विरोध भइसकेको अवस्थामा पनि वरिष्ठ उपाध्यक्ष पदमा दावी गर्न हुँदैनथ्यो । कार्यसमिति सदस्य पदमा पनि एमाले निकट आउन सक्थ्यो, यो कुरामा उनीहरुले ध्यान दिएनन, आफ्नो अडान कायम राखे र सहमति हुन सकेन ।’
‘माओवादीले अध्यक्ष पाउने हो भने वरिष्ठ उपाध्यक्ष एमाले र महासचिवमा कांग्रेस निकट वा अन्य जो कोहीले पाउनुपर्छ’–समाजका एक अग्रजले गोल्डेन न्यूज दैनिकसंग भने–‘अधिवेशनका क्रममा भएको सहमतिले सबैको चित्त बुझाउन सकिन्न ।’
कांग्रेस निकट केदार धमलाले उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सह–कोषाध्यक्षमा एमाले निकटका निर्विरोध भइसकेको भन्दै अन्य पदमा दावी गर्न नहुनेमा जोड दिएका थिए भने एमाले निकटले वरिष्ठ उपाध्यक्ष पद आफूहरुले पाउनुपर्ने अडान राखेका थियो ।
समाजको नेतृत्वका लागि माओवादी केन्द्र निकट युवराज खतिवडा र गोकर्ण लम्साल, एमाले निकट कृष्णबहादुर लम्साल र वीरबहादुर थापाले उम्मेदवारी दिएका  थिए । अध्यक्षका उम्मेदवार खतिवडाको समूहले समाजको केही पदमा बाहेक सबै पदमा उम्मेदवारी दिएको थियो। यस्तै वरिष्ठ उपाध्यक्ष पदमा एमाले निकट गुणप्रसाद सापकोटा (भरत) र माओवादी केन्द्र निकट सुदर्शन बसौलाले उम्मेदवारी दिएका थिए । उपाध्यक्ष पदमा एमाले निकट शम्भु अधिकारी र कांग्रेस निकट वेणु पण्डितले उम्मेदवारी दिएको भएपनि संस्थाको विधान अनुसार पण्डितलाई उम्मेदवार बन्न अयोग्य भएकी थिइन। उनी निवर्तमान कार्यसमितिमा सदस्य रहेको र नियमित बैठकमा अधिकांश सहभागी नभएको भन्दै अयोग्य हुन पुगेकी हुन् । पण्डित अयोग्य भएपछि अधिकारी निर्विरोध उपाध्यक्ष भएका छन् । समाजको विधान अनुसार समाजको नियमित बैठकमा कम्तिमा ८० प्रतिशत सहभागी हुनुपर्ने व्यवस्था छ ।
यस्तै समाजको महासचिवमा पाँचवटा इकाइको प्रतिनिधित्व गर्दै हरि पन्त र माओवादीको तर्फबाट युगमराज अगस्तीले उम्मेदवारी दिएका थिए । समाजको सचिव पदमा एमाले निकट योगप्रसाद सापकोटा, कोषाध्यक्षमा समिर अर्याल र सह–कोषाध्यक्षमा कृष्ण विक निर्विरोध भएका छन् । समाजको कार्यसमिति पदमा पनि दर्जन बढीको उम्मेदवारी परेको छ ।
अध्यक्ष पदमा उम्मेदवारी दिएका खतिवडालाई नेपाली कांग्रेस निकटको समर्थन थियो भने उनी सहमति तथा मतदान दुवै प्रक्रियाबाट अध्यक्ष बन्न चाहन्थे । सहमतिको आधारमा उनी अध्यक्ष बन्ने पक्का भएपनि एमाले निकटका कारण उनी सफल हुन सकेनन् । नेतृत्वमा सहमति जुटाउन पटक–पटकको छलफलले युवराज खतिवडा अध्यक्ष, गोकर्ण लम्साल वरिष्ठ उपाध्यक्ष र महासचिवमा हरि पन्त हुने निष्कर्ष निकाले पनि एमाले निकटले वरिष्ठ उपाध्यक्षमा दावी नछाडेपछि समाजको नयाँ नेतृत्व चयन असफल भएको थियो ।
मानवीय सेवा गर्ने सामाजिक संस्थामा राजनीतिक गतिविधि हावी भएर नेतृत्व चयन नै असफल हुनु र आरोप–प्रत्यारोप चल्न थालेपछि आग्रजहरु चिन्तित बनेका छन् ।   समाजका पूर्व अध्यक्ष तथा सल्लाहकार परिषद् संयोजक रुद्र प्रसाद खनाल समाजिक संस्थामा राजनीतिक रुपमा पद बाँडिनु विडम्वना भएको बताउछन् । खनाल अधिवेशनको कार्यक्रम अवधिभर निराश मुद्रामा थिए । यसअघिका अधिवेशन तथा प्रत्येक गतिविधिमा सक्रिय हुने खनाल यसपटक चुप लागेर बसेका थिए । उनी निष्क्रिय हुँदा नै सहमति हुन नसकेको केही अग्रज बताउन्छन् । खनालले पनि आफूमाथि सधैं आरोपमात्र लाग्ने गरेकाले यसपटक निष्क्रिय बसेर अरुको चर्तिकला हेरेको बताउछन् । उनले भने–‘म सक्रिय भएर काम गर्दा सबैले म माथि अनेक किसिमका लान्छना लगाउँथे । यसपटक म निष्क्रय भएर बसें देखिहाल्यो नि परिणाम ।’ छिट्टो बैठक बोलाएर यो समस्या सुल्झाउनुपर्ने भन्दै यस विषयलाई लामो समय राखेर तन्काउँदा राम्रो सन्देश नजाने उनी दावी गर्छन ।
यता समाजका केही अग्रजहरु युवराज खतिवडालाई नै अध्यक्ष बनाएर भएपनि समस्याको समाधान गर्नुपर्नेमा जोड दिएका छन् । ‘खतिवडाको प्रतिवद्धतामा समाजको नाममा जग्गा र भवन बनाउने उल्लेख छ । एक कार्यकाल २ वर्षको मात्र हुन्छ । एक कार्यकाल उनैलाई अध्यक्ष बनाएर भएपनि समस्याको समाधान खोजिनुपर्छ’, सल्लाहकार तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रुद्र भट्ट भन्छन–‘खतिवडालाई अध्यक्ष बनाउँदैमा सबै कुरा बिग्रन्छ भन्नु नै गलत हो । अब खतिवडाले आफ्नो प्रतिवद्धता अनुसार काम गर्छन् कि गर्दैनन् त्यो हुर्न जरुरी हुन्छ । पद नै ठूलो कुरा होइन ।’
यसैबीच अध्यक्ष पदमा उम्मेदवारी दिएका युवराज खतिवडाले अधिवेशनका क्रममा आफूले केही गल्ती र त्रुटि गरेको भन्दै पछुत्तो लागेको बताए । उनले सबैको समर्थन भए आफू समाजको नेतृत्व गरेर काम गर्न चाहिरहेको स्पष्ट पारे। गोल्डेन न्यूज दैकिनसंग कुरा गर्दै उनले भने–‘आफू केही गर्छु भनेर समाजमा आएकाले एक पटक भएपनि आफूलाई सबैले स्वीकार्नुपर्छ।’ समाजिक हितबाहेक आफ्नो अन्य कुनै व्यक्तिगत स्वार्थ समाजसंग नभएको उनले स्पष्ट पारे । समाजमा आफूले एक पटक अवसर पाए नमूना काम गरेर देखाउने उनले बताए ।
अधिवेशनबाट नेतृत्व चयन असफल भएपछि अध्यक्षका उम्मेदवारहरु कृष्णबहादुर लम्साल, गोकर्ण लम्साल र वीरबहादुर थापाले सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो त्याग गरेर संस्थालाई दीगो र नमूना बनाउन प्रयत्न गर्नुपर्नेमा जोड दिएका छन् ।

Post a Comment

 
Top