0
गोल्डेन न्यूज संवाददाता
सरकारी कार्यालयको उदाशिनताको कारण कास्कीको लेखनाथ र हंसपुरका केही बस्तीहरु महिनांैदेखि अन्धकार भएका छन् । नेपाल विद्युत प्राधिकरण लेखनाथ वितरण केन्द्रले पहल नगरिदिंदा लेखनाथ–१० खोलाबेशी र हंसपुर गाबिस–९ काउरेवासीहरु एक महिनादेखि अन्धकारमा बस्न बाध्य भएका हुन् । भदौ महिनाको शुरुवात संगै बिग्रिएको त्यस क्षेत्रको ट्रान्सफर्मररु अझै मर्मत हुन नसक्दा खोलाबेशी र काउरेका जनता अँध्यारोमा नै रात काट्न बाध्य भएका हुन् । पटक–पटक ताकेता गर्दा पनि बिद्युत प्राधिकरण लेखनाथ केन्द्रले वेवास्ता गरेको स्थानीयवासीहरुको गुनासो छ । बिग्रिएको १०÷१२ दिनमा एक पटक मर्मत हुने गरेपनि बनेको २÷३ दिन पनि बिजुली बाल्न नपाउँदै पुनः बिग्रिने गरेको लेखनाथ–१० खोलाबेशीका स्थानीय शिबराज आचार्यले बताए । पटक–पटक लाईन बिग्रने र लामो समयसम्म पनि नबन्ने गरेका कारण मोवाईल समेत चार्ज गर्न नपाउँदा सञ्चार सुबिधाबाट पनि बन्चित हुनुपरेको लेखनाथ–१० खोलाबेशीकै अर्का स्थानीय रामचन्द्र सुबेदीको गुनासो छ । एक महिनाको बीचमा ३ पटक ट्रान्सफर्मर मर्मत भएपनि राम्रो काम नगरेका कारण पटक–पटक बिजुलीको लाईन बिग्रने गरेको हंसपुरका तारानाथ सुबेदीको भनाई छ । नयाँ ट्रान्सफर्मर नफेरी पुरानै ट्रान्सफर्मर फेर्ने गरेका कारण पटक पटक एउटै समस्या दोहोरिने गरेको उनले बताए । लामो समयदेखि बिद्युत लाईन मर्मत नभएको भन्दै सोमबार हंसपुर र खोलाबेशीका स्थानीयवासीहरु नेपाल बिद्युत प्राधिकरण लेखनाथ वितरण केन्द्रमा डेलिकेसन आएका थिए ।  मंङ्लबार सम्ममा लाईन मर्मत हुने आश्वासनपछि उनीहरु फर्किएका छन् भने विद्युत प्राधिकरण लेखनाथ केन्द्रले सोमबार नयाँ ट्रान्सफर्मर आईपुगेको र मंङ्लबार सुरुमै त्यस क्षेत्रको लाईन मर्मत हुने कार्यालयका इञ्जिनियर आनन्द शर्माले जानकारी दिए । चट्याङका कारण पटक–पटक त्यस ठाऊको ट्रान्सफर्मर बिग्रने गरेकोले समस्य भएको उनको भनाई थियो । चट्याङका कारण धेरै ठाउँमा ट्रान्सफर्मर बिग्रिएको भन्दै अब सबै ठाऊँको मर्मतको काम हुने उनले बताए । पहिरोका कारण बाटो अबरुद्ध हुँदा थुमाकोडाँडा सैमर्याङ लगायतका ठाउँको लाईन मर्मत गर्न समस्या भरु्एको शर्माले बताए । चट्याङका कारण हंसपुर सहित थुमाकोडाँडा सैमर्याङ, बडहरे लगायतको ठाऊँमा पनि ट्रान्सफर्मर बिग्रिएको नेपाल बिद्युत प्राधिकरण लेखनाथ वितरण केन्द्रले जानकारी दिएको छ ।



Post a Comment

 
Top