0
गोल्डेन न्यूज संवाददाता
रोटरी क्लबको दुई दिने राष्ट्रिय सम्मेलन पोखरामा हुने भएको छ । बुधवारदेखि सुरु हुने सम्मेलन बिहीवारसम्म चल्ने सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । नेशनल कन्फेरेन्स अन लिट्रेसी एण्ड वास इन स्कुल विषयक दुई दिने सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।  सम्मेलनको उद्घाटनमा राष्ट्रपति सहित शिक्षामन्त्री धनिराम पौडेल, रोटरी इन्टरनेशनलका पूर्व अध्यक्ष तथा द रोटरी फाउण्डेशन का ट्रष्टी चेयर कल्याण बनर्जी, रोटरी इन्टरनेशनलका पूर्ब डाइरेक्टर तथा रोटरी इण्डिया लिट्रेसी मिसनका चेयर शेखर मेहता, रोटरी नेपाल लिट्रेसी मिसनका चेयर तथा पूर्ब डिष्ट्रिक्ट गभर्नर तीर्थमान शाक्य लगायतको सहभागिता रहने कार्यक्रम संयोजक किरणलाल श्रेष्ठले जानकारी दिए । त्यस्तै डिष्ट्रिक्ट ३२८२ का गभर्नर जया राज्यलक्ष्मी शाह, पूर्व डिष्ट्रिक्ट गभर्नर एवं अमेरिका, भारत, जापान, वेलायत, अष्ट्रेलिया लगायतका विभिन्न देशका झण्डै साढे चार सय रेटरीयन र सरोकारवाला निकायका ब्यक्तिहरुको सहभागिता रहने श्रेष्ठले बताए । सम्मेलनमा रोटरीले साक्षरता अभियानमा संलग्न रही प्रत्यक्ष सेवा गर्ने शिक्षक सहयोग, ई–लर्निङ, एडल्ट लिट्रेसी, वाल विकास र ह्याप्पी स्कुल सम्बन्धी कार्यक्रमका उद्देश्य, भावी कार्यक्रम, रोटरी लिट्रेसी मिसनले हालसम्म गरेको कार्य प्रगति तथा भावी रणनीति लगायतका विषयमा छलफल हुने सचिव डिल्लीप्रसाद शर्माले बताए । सम्मेलनमा शिक्षा र साक्षरता लगायत रोटरी अभियानका बिषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव समेत आदान–प्रदान गरिने बताइएको छ । सम्मेलनले पोखराको पर्यटन प्रबद्र्धनमा समेत महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको रोटरी क्लव अफ पोखरा मिड टाउनका अध्यक्ष हेमराज बरालले बताए । सन् १९०५ फेब्रुअरी २३ मा स्थापना भएको रोटरी क्लबका विश्वको २१० भन्दा बढी मुलुकमा ३५ हजार क्लबमार्फत झण्डै १३ लाख सदस्य रहेको दावि गरिएको छ । नेपालमा सन् १९५९ मा रोटरी क्लब अफ काठमाडौं नामक पहिलो रोटरी क्लब स्थापना भएको थियो । हाल नेपालमा १०४ र भूटानमा एउटा रोटरी क्लब गठन भएको छ । १०५ रोटरी क्लबले डिष्ट्रिक्ट ३२९२ मार्फत विपन्न तथा पिछडिएका वर्ग र समुदायको शिक्षा, स्वास्थ्य एबं खानेपानीको क्षेत्रमा काम गर्दै आएको छ । नेपाललाई पूर्ण साक्षर बनाउने अभियानको दौरानमा पोखरामा दुई दिने राष्ट्रिय सम्मेलनको आयोजना गरिएको आयोजकले जनाएको छ ।








Post a Comment

 
Top