0
गोल्डेन न्यूज संवाददाता
पोखरा उद्योग वाणिज्य संघको निर्वाचन नजिकिंदै गर्दा अध्यक्ष पदका उम्मेदवार देव क्षेत्रीले आफ्नो चुनावी प्रचार–प्रसारलाई तीव्र पारेका छन् । क्षेत्रीहित उनको समूहले मंगलबार पोखराको लामाचौर, न्यूरोड, पृथ्वीचोक लगायतका क्षेत्रमा  पुगेर उद्योगी, व्यवसायीलाई भेट्ेका छन् । भेटघाटमा व्यसायीले लामो समयसम्म संघमा योगदान प¥याएको भन्दै आगामी दिनमा पनि सक्रियरुपमा लाग्न सुझाव दिएको अध्यक्ष पदका उम्मेदवार क्षेत्रीले गोल्डेन न्यूज दैनिकलाई बताए । व्यवसायीहरुले आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता जनाएको समेत क्षेत्रीले बताए । घरदैलो अभियानपछि  क्षेत्रीले पोखराका उद्योगी ब्यापारीहरु र वस्तुगत संघ–संस्थाहरुले आफ्नो समूहलाई सहयोग गर्ने वचन दिएकोे समेत स्पष्ट पारे । क्षेत्रीले अन्य उम्मेदवारले जस्तो आफूले ठूला योजना र महत्वकांक्षी आश्वासन भन्दा पनि ब्यवसायीको हक हितलाई प्रथमिकतामा दिएकोले आफ्नो पक्षमा उद्योगी व्यवसायीले मत दिने दावी गरे । उनले प्रतिवद्धताका साथ भने–‘म संघको अध्यक्षमा विजयी भए भने व्यवसायीलाई करदाता शिक्षा प्रदान गर्दै लेखा प्रणाली सम्बन्धी ऐन नियम बारे जानकारी गराउन कार्यक्रम सञ्चालन गर्ने, सदस्यको हित संरक्षण र दक्षता विकासका लागि सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय गरी अघि बढ्छु । क्षेत्रीको समूहबाट वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका मिनराज काफ्ले, उद्योगतर्फको उपाध्यक्ष पदकी उम्मेदवार सीता गुरुङ, वाणिज्यतर्फको उपाध्यक्ष पदका उम्मेदवार सुरेश अधिकारी समेत मतदाता भेटघाटमा सक्रिय भएर लागेका छन् । यसैगरी क्षेत्री समूहबाट सदस्य पदमा उम्मेदवारी दिएका हरिराज पन्त, अर्जुन खनाल, कुमारी मुना बाँस्तोला, गिरधारी शर्मा, गोमा ढकाल, चिनु गुरुङ, नवराज त्रिपाठी, बलराम आचार्य, महेश्वर पोख्रेल (शिव) र हिमालय बख्रेल समेत मतदाता व्यवसायीलाई भेटेर मत माग्न सक्रिय छन्। सदस्य पदका उम्मेदवार हरिराज पन्तले अघिल्लो कार्यकालको चुनावमा आफू झिनो मतले पराजित भएपनि यसपटक आफूले जित्ने आधार तय भएको भन्दै आफूले व्यवसायीसंग र मतदाता व्यवसायीले आफूसंग धेरै आशा गरेको बताए । 
 
यस्तै महासचिव पदकी उम्मेदवार लक्ष्मी क्षेत्री पाण्डे, कोषाध्यक्ष पदका उम्मेदवार जनकराज पराजुली, उप–महासचिव पदका उम्मेदवार अर्जुन पोख्रेल पनि सक्रिय भएर चुनावी माहौलमा होमिएका छन् । महासचिव पदकी उम्मेदवार लक्ष्मी पाण्डे र कोषाध्यक्ष पदका उम्मेदवार जनकराज पराजुली मंगलबार बिहान कपडा व्यवसायी एशोसिएशनले आयोजना गरेको उम्मेदवार परिचय तथा छलफल कार्यक्रममा समेत सहभागी थिए ।  उक्त अवसरमा संघको सदस्य पदमा उम्मेदवारी दिएका प्रेमबहादुर भुजेल, अनिल सिग्देल, सीता बरालका साथै वस्तुगत तर्फ उम्मेदवारी दिएका यामनाथ तिमिल्सिना सहभागी थिए । उनीहरुले आफूहरुलाई जिताउन व्यवसायीहरुलाई आग्रह गरेका थिए ।
 
यसैबीच अध्यक्ष पदका अर्का उम्मेदवार विश्वशंकर पालिखेले  नेपाली कांग्रेस कास्कीका नेताहरुसंग आफ्नो उम्मेदवारीका विषयमा छलफल गरे । नेपाली कांग्रेस कास्कीको पार्टी कार्यालयमा भएको भेटघाट तथा छलफलमा जिल्ला सभापति कृष्ण केसी, पदाधिकारी तथा जिल्ला सदस्यहरुमाझ आफ्नो पालिखेले उम्मेदवारीको औचित्य पुष्टी गरेका थिए। कांग्रेस नेताहरुसंग उनले पोखराको सामाजिक क्षेत्रमा आफूले थालेको अभियान र कार्यहरु नै अध्यक्ष जित्ने बलियो आधार भएको बताएका थिए। यस्तै पालिखेले पोखराका विभिन्न व्यवसायीहरुसंगको भेटघाट र घरदैलो अभियानलाई मंगलबार पनि जारी राखे । पालिखेले पोखराको मुख्य व्यापारिक स्थलहरु वीपीचोक, चिप्लेढुङगा, न्यूरोड, पृथ्वीचोक, सृजनचोक, सभागृृह चोक, जाल्पारोड, मियाँपाटन, दरवारथोक, लगायतका अधिकांश स्थानमा घरदैलो र व्यवसायी भेटघाट गरेका थिए । विभिन्न स्थानमा भेला भएका व्यवसायीहरु लाई सम्वोधन गर्दै उनले पोखरा उद्योग वाणिज्य संघलाई प्रस्तावित ४ नं प्रदेशको नेतृत्वदायी व्यवसायिक साझा संस्था निर्माण आफ्नो महत्वपूर्ण एजेण्डा रहेको बताए । पोखरा उद्योग वाणिज्य संघलाई सवै तह र वर्गका व्यवसायीहरुको साझा थलोका रुपमा विकास गर्दै, व्यवसायीहरुको क्षमता विकास, थप सक्षम बनाउन, समय सापेक्ष तालिम, भ्रमण, तथा नियमित गोष्ठीहरु आयोजना गर्ने आफ्नो भावी कार्ययोजना रहेको पनि उनको भनाई छ । पालिखेले आफू संधै व्यवसायीहरुको हक, हितको पक्षमा उभिएको र व्यवसायीकताका लागि मात्रै लडिरहेको कारण आफूलाई सहयोग गर्न पनि आग्रह गरेका थिए ।
 
यसैबीच अध्यक्ष अर्का पदका उम्मेदवार नारायण कोइरालाले पनि मंगलबार व्यवसायी भेटघाट कार्यक्रमलाई निरन्तरता दिए । उनले पृथ्वीचोक, न्यूरोड, सिद्धार्थचोकका करिब ५० जना मतदाता व्यवसायीहरुसंग भेटी मत मागे । गोल्डेन न्यूज दैनिसंग कुरा गर्दै उनले आफ्नो जित सुनिश्चित भएको दावी गरे । उनले भने–‘मतदाता उद्योगी व्यवसायीले पोउवासंघको सच्चा र इमान्दार अध्यक्षका उम्मेदवार आफूलाई मानेकाले मेरो जित सुनिश्चित छ ।’ हिजोका दिनमा जे जस्तो भएपनि त्यसलाई सच्याएर अघि बढ्ने उनको प्रतिवद्धता छ । उनको प्रचार–प्रसारमा १५ जनाको समिति र १५१ जनाको उपसमिति समेत सक्रिय भएर लागेको कोइरालाले बताए ।   कोइरालाले मतदाता भेटघाट कार्यक्रम अन्तिम भरणमा पुगेको समेत स्पष्ट पारे ।  अध्यक्ष पदका उम्मेदवारहरु ईश्वर कर्माचार्य, हीरा भट्टराई र धनीराम बराल पनि मतदाता भेटघाटमा सक्रिय भएर लागेको बतान्छ । उनीहरुले पोखराका विभिन्न स्थानका मतदाता व्यवसायीलाई भेट गरि मत मागेको र व्यवसायीले पनि सहयोग गर्ने वचन दिएको बताएका छन् ।



Post a Comment

 
Top