0
गोल्डेन न्यूज संवाददाता
पोखरा उद्योग वाणिज्य संघको आशन्न महाधिवेशनका अध्यक्षमा लागि उम्मेदवारी दिएका नारायण कोइराला र महासचिवमा उम्मेदवारी दिएका दामु अधिकारीले बुधबार आफ्नो उम्मेदवारीको औचित्य पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका छन्। दुवैले छुट्टा–छुट्टै स्थानमा र फरक–फरक समयमा आ–आफ्ना परिवारका सदस्य र व्यवसायिक प्रतिष्ठानका सदस्यहरुलाई मञ्चमा राखेर आफ्ना समर्थक र शुभेच्छुकहरुको सहभागितामा पत्रकार सम्मेलन गरेका थिए। कोइरालालाई नेपाली कांग्रेस संवद्ध र अधिकारीलाई नेकपा एमाले संवद्ध रहेको भनि सार्वजनिक रुपमा चिनिएपनि दुवैले आफूहरु कुनै दल विशेषमा आवद्ध रहेर जिम्मेवारी नलिएको स्पष्ट पारेका थिए ।  अध्यक्ष पदका उम्मेदवार कोइरालाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफू पार्टीका नेताको घर–घरमा र पार्टी कार्यालयमा मत माग्न र आशिर्वाद लिन नगएको स्पष्ट पारे । उनले भने–‘म उद्योग वाणिज्य संघका सदस्य तथा मतदाता उद्योगी व्यवसायीहरुको घरदैलोमा मत माग्न पुगेको छु । त्यसैले दलका नेता र तिनको कार्यालयमा गएको छैन । अध्यक्ष पदमा उम्मेदवारी दिएका ६ जनालाई मिलाउन कतैबाट प्रयास गरिएको भएपनि मिलाउन खोज्नेले सार्थक प्रयास गर्न नसकेको भन्दै उनले अध्यक्षका केही उम्मेदवारले अहिले नै चुनाव जितेजस्तो गरि मनोनित गर्ने ४ जना सदस्य समेत बाँडिसकेको भन्दै आश्चर्य प्रकट गरे ।  पत्रकार सम्मेलनको शुरुमा उनले आफू सबै व्यवसायीको साझा र स्वतन्त्र उम्मेदवार भएको भन्दै निर्वाचन जितेपछिमात्र आफ्नो प्यानल तयार हुने बताए । ‘अहिले नै प्यानल बनाउने भनेको कमजोरले मात्र हो । आफू सबैसंग नजिक भएका कारण राम्रो मत पाएर विजयी बन्ने तर प्रतिस्पर्धा भने सबै उम्मेदवारसंग हुन्छ ।’–उनले भने । कोइरालाले अध्यक्ष पदका उम्मेदवारहरु मध्ये पोउवासंघमा प्रवेशको हिसावले आफू र देव क्षेत्री सिनियर भएकोले आफ्नो उम्मेदवारी स्वभाविक भएको बताए । पत्रकार सम्मेलनमा कोइरालाले आफू अध्यक्षमा विजयी भएपछि संघको सुदृढिकरणका लागि र संघलाई सामाजिक रुपमा स्थापित गर्नुका साथै व्यवसायिक हक हितका लागि विभिन्न काम गर्ने भन्दै बुँदागत रुपमा प्रतिवद्धता सार्वजनिक गरेका थिए । यसैगरी महासचिव पदका उम्मेदवार दामु अधिकारीले आफू संघको गरिमा र व्यवसायकि प्रतिष्ठा उच्च बनाउन लागिरहेको बेला आफूलाई कुनै राजनीतिक दलसंग जोडिएको भन्दै गुनासो गरे । ‘विगत १० वर्षदेखि संघमा आवद्ध भएको  र ६ वर्ष कार्यसमितिको सदस्य रहेर काम गरेपछि अहिले महाचिवको उम्मेदवार बन्दा कुनै पार्टीसंग मेरो नाम जोडिनुलाई मैले म माथिको अन्याय भएको महसूस गरेको छु’–उनले भने । उनले आफूले धेरै व्यवसायीको सामाजिक संस्थामा विभिन्न जिम्मेवारी पूरा गरेको र जगदम्वा प्रतिष्ठान अन्तर्गतको विभिन्न व्यवसायिक प्रतिष्ठानमा आवद्ध रहेर पोखराको पर्यटन प्रवद्र्धन लगायत विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएकाले पोउवासंघको महासचिव पदमा दावी गर्नु स्वभाविक अधिकार भएको बताए ।  पोखराको सबैभन्दा जेठो र निजी क्षेत्रको छाता संस्था पोउवासंघको सशक्त भूमिका खेल्ने व्यवसायिक संस्था भएकाले यसलाई थप व्यवसायिक र समय–सापेक्ष बनाउन आवश्यक रहेको भन्दै उनले अन्तर्राष्ट्रिय स्तरमा संघको भूमिका प्रभावकारी बनाउन अबको कार्यसमिति पूर्णरुपमा तयार हुनुपर्नेमा जोड दिए । आफूलाई व्यवसायिक नेताको रुपमा स्थापित हुने चाहना रहेकाले कुनै पार्टीको कुनै जिम्मेवारी नलिएको भन्दै उनले एउटै डुङ्गामा खुट्टा राखेमात्र सफलता पाउने आफ्नो विश्वास रहेको बताए । उनले निर्वाचनका लागि विस्तारै ध्रुवीकरण हुन थालेपछि अध्यक्षका ६ उम्मेदवार मध्ये १ जना रोज्नुपर्ने अवस्था सृजना भएको र यसक्रममा राजनीतिक तथा जातीय हिसावले समावेशी र धेरै एजेण्डा बोकेर हिंडेको उम्मेदवार विश्वशंकर पालिखे लागेकोले उनको प्यानलमा आफू जोडिएको स्पष्ट पारे । अध्यक्षका उम्मेदवार कोइरालाको पत्रकार सम्मेलनको अध्यक्षता उनका काका रामजी प्रसाद कोइरालाले गरेका थिए भने महासचिवा उम्मेदवार अधिकारीको पत्रकार सम्मेलनको अध्यक्षता उनका बुबा द्रोणराज अधिकारीले गरेका थिए । दुवै कार्यक्रममा विभिन्न दलसंग आवद्ध कार्यकर्ता र समर्थकहरु समेत सहभागी थिए ।





Post a Comment

 
Top