0
विश्वमै ख्याति कमाएको नेपालको पर्यटकीयस्थल पोखराको दक्षिणभेग लेखनाथ नगरपालिका वडा नं १८ (साविक भरतपोखरी, ६) स्थित कुर्लिङ र यस आसपासको क्षेत्र धार्मिक पर्यटन र पदयात्राको पर्याप्त सम्भावना बोकेर पनि प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको छ । प्राचीन कालमा ताल रहेको र तालको बीचमा बराहको मन्दिर रहेको जनविश्वासका आधारमा धार्मिक रुपले यस क्षेत्रलाई पवित्र तीर्थस्थलका रुपमा लिइन्छ । वर्षभर नै पानी बग्ने सुरौदी खोलको किनारको केही उच्चभागमा रहेको यो स्थल वरपर प्राचीन कालमा ताल रहेको र पछि ताल फुटेर समथर भूभाग बनेको जनविश्वास कायमै रहेको स्थानीयवासी कमलराज चापागाइँले बताए ।  बुढापाको भनाइ अनुसार कुर्लिङको डाडा वरपर तालले ढाकिएको उल्लेख गर्दै उनले कालान्तरमा यहाँको ताल फुट्न गई वरपरको भूभाग समथर भूमिमा परिणत भएको हो । वरपरको भूभागमा खेतीका लागि उर्वर माटो भएका कारण पनि ताल रहेको अनुमान गर्न सकिने उनको भनाइ छ । जनविश्वास अनुसार यहाँस्थित बराहको पोखराकी तालबराही र तनहु ढोरफिर्दिस्थित ढोरबराहीको सम्बन्ध रहेको छ । यहाँस्थित बराहको तालबराही र ढोर बराही दिदी बहिनीको सम्बन्ध रहेको र ताल फुटेसँगै यहीँबाट तालबराही र ढोरबराही छुट्टीएर गएको विश्वासका आधारमा यो स्थलललाई महत्वपूर्ण धार्मिक तीर्थस्थल मान्ने गरिएको चापागाइँको भनाइ छ । यहाँको धार्मिक विश्वासलाई कायमै राख्न स्थानीयवासीको सकृयतामा हाल बराहको मन्दिर निर्माण गरिएको छ । स्थानीयवासी रमेश महतका अनुसार विगत लामो समयदेखि नै यहाँ पूजा आजा गर्ने गरिएकोमा गत वर्षदेखि चैते दशैंमा बली सहित पूजा गर्न सुरु गरिएको छ । यहाँस्थित सुरौदी खोलाका कारण प्राकृतिक जलाशयमा पौडीको मज्जा लिनुका साथै वरपरको बन जंगलका कारण बन्यजन्तु र चराचरको अवलोकनका लागि पनि यो स्थल पर्यटकीय रुपमा पनि उत्तिकै महत्वपूर्ण रहेको उनले बताए।
 
व्यवसायिक कृषिको पर्याप्त सम्भावना रहेको यो क्षेत्रमा बाटो र सुरौदी खोलामा पक्की पुल निर्माण गर्न सके व्यवसायिक कृषिकै माध्यमबाट यहाँ धेरै व्यक्ति स्वरोजगार बन्न सक्ने सम्भावना रहेको महतले बताए । हिउँदको समयमा तनहुको दुलेगौंडाबाट घारी बगर, चवादी, धामिकुना, वर्षा, कुर्लिङ हुँदै स्याङ्जाको प्युरी दोभानसम्म बसहरू सञ्चालन हुने भएका कारण यहाँ उत्पादित वस्तुले सहज रुपमा बजार पाएका छन् ।वर्षातको समयमा भने सुरौदी खोला बढ्ने र पुलको अभावका कारण उत्पादित वस्तु बजार पु¥याउन असहज भएको स्थानीय वासीको दुःखेसो छ । सुरौदी खोला विभिन्न समयमा स्थान परिवर्तन गरी बग्ने भएका कारण यस आसपासको धेरै खेतीयोग्य भूभाग बगरमा परिणत भएको स्थानीयवासी गुरुप्रसाद पौडेल बताउछन् । खोलालाई एउटै मार्गमा हिडाउन नसक्दा धेरै उव्जाउ योग्य जमिन यहाँका स्थानीयवासीले गुमाउनुपरेको उनले बताए । सुरौदी खोलामा पक्की पुल निर्माण गरी खोलालाई एउटै मार्गमा बग्ने गरी व्यवस्थित गराउन सके वरपरको उव्जाउ योग्य जमिन अधिकतम उपयोग गर्न सकिने पौडेलको भनाइ छ । कुर्लिङ बराहको पूर्व तर्फ छहरा, उत्तरमा पहरे, दराङसिङ, दक्षिणमा मुडेपानी र पश्चिममा बगुवा पर्दछन् । यहाँ धान, मकै, गहुँ, मुसुरो गहुँ, तोरी लगायत तरकारीजन्य वस्तु राम्रो उत्पादन हुन्छ । पिंडालु, आलु लगायतका यहाँ उत्पादन हुने वस्तुको बजारमा निकै माग हुने गरेको छ । १२ महिना नै पानी बग्ने सुरौदी खोला माछापालन व्यवसायका लागि पनि महत्वपूर्ण स्थल हो । वरीपरि जंगलका कारण पशुपालन पनि यहाँको राम्रो सम्भावना बोकेको व्यवसाय हो । प्रचार–प्रसारको अभाव तथा सडकजन्य पूर्वाधारको विकास हुन नसकेकै कारण धार्मिक पर्यटन, व्यवसायिक कृषि, जलपर्यटन, प्राकृतिक दृश्यावलोकन लगायतका सम्भावना बोकेको यो स्थल ओझेलमा परेको स्थानीयवासीको गुनासो छ । पदयात्राको महत्वपूर्ण सम्भावना बोकेको यस क्षेत्रसम्म भरतपोखरीको चिरगादीबाट बरमाझथर, लाङ्दी, छहरा हुँदै कुर्लिङलाई पदमार्गबाट जोड्न सकिन्छ । त्यस्तै गगनगौडा बाट आपुभञ्ज्याङ, मनियलडाँडा, बरपौवा, चवादी हुदै कुर्लिङ सम्मको एक दिने पदमार्गको विकास गर्न सकिन्छ ।
 
तनहँुको दुलैगौडाबाट घारी, धामिकुना, चवादी, वर्षा हुदै कुर्लिङ र त्यहाँबाट स्याङजाको प्युरी दोभानसम्म पनि पदमार्गको विकास तथा विस्तार र गर्न सकिने सम्भावना रहेको छ । स्थानीयवासी समाजसेवी तोकनाथ पौडेलका अनुसार सुरौदी खोलामा पक्की पुल बन्न नसक्दा कुर्लिङ लगायतका स्थान लामो समयदेखि ओझेलमा पर्दै आएका हुन् । देशका विभिन्न स्थानका झरना तथा छहराले चर्चा पाए पनि यहाँस्थित मनमोहक छहरा अझैसम्म पनि ओझेलमा परेको छ । स्वदेशी तथा विदेशी पर्यटकका लागि दर्शनीय यहाँको छहरालाई राम्रो पदमार्ग र बाटो निर्माण गरी एउटा महत्वपूर्ण पर्यटकीय आकर्षणका रुपमा स्थापित गर्न सकिने उनले बताए । धार्मिक पर्यटन, पदयात्रा, जलविहार र बन्यजन्तु तथा चरचरको अवलोकनका लागि महत्वपूर्ण गन्तव्य हुन सक्ने कुर्लिङ बराह र यस आसपासको क्षेत्रको विकासका लागि सरकारी पक्षको चासो बढ्नुपर्ने उनको भनाइ छ ।







Post a Comment

 
Top