0
जोतारे धाइबा
संस्कृतिविद् सत्यमोहन जोशी लोकसंस्कृति र इतिहासका जिउँदो पुस्तकालय नै हुन् । ललितपुरको बखुम्बहालस्थित उनको घरमा प्रायः कोही न कोही नेपालीहरु संस्कृति र कलाबारे सोध्दै ‘झिँजो’ लगाउन पुगिरहेकै हुन्छन् । तर, उनी दिक्क मान्दैनन् । कसैले जान्न खोजेका र सोधेका कुरा उदाहरण र सन्दर्भसहित बताउँछन् । शताब्दी छुन ९६ वर्षमा हिँडिरहेका उनी नथाकुन्जेल बात मारिरहन्छन्। थाकेपछि आफ्नै शैलीमा भन्छन्, ‘बाँकी भोलि–पर्सि गरौं न है !’ हुन पनि उमेरको यो उँचाइमा सक्रिय जीवन बाँच्नु चानचुने कुरा होइन । सत्यमोहनले यस घडीसम्म चानचुने जीवन पनि बाँचेनन् । नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा विकासमा उहिलेदेखि अहिलेसम्म अगुवा जसरी डटिरहेकै छन् । र त कतै संस्कृतिको केस्रा पल्टाउनुप¥यो कि पहिलो क्रममा सिफारिश गरिने नाम उनकै हुन्छ ।
 
पछिल्लो समय सत्यमोहनले किताब पढ्ने कामबाट विश्राम लिएका छन् । बजारमा पुस्तकबारे आउने थरीथरी हल्ला सुनेर उनी दिक्क हुँदा रहेछन् । ‘कहिले फलानोको धर्मसम्बन्धी किताब आएको छ भन्छन्, कहिले फलानाले यस्तो पुरस्कार पाएको किताब आयो भन्छन्, कहिले ठूलै मान्छेको आत्मकथा आयो भन्छन् । मलाई चाहिँ वाक्क लाग्यो’, उनले यसको कारण पनि बताए, ‘त्यो पढेर के गर्ने हो ? जीवनको उत्तराद्र्धमा त्यस्ता गाथा गाइएको किताब पढेर के काम लाग्नु ?’ दशकौं अरुको पढेर, सुनेर, बुझेर आएका उनी हालका वर्षहरुमा अरुको मात्र कति पढ्नु भन्ने मनस्थितिमा पुगेका छन् । उनले भने,–‘अरुको मात्र पढ्ने होइन, आफूले पनि त दिन सक्नुपर्रुयो नि ! राष्ट्रलाई मैले केही न केही दिन सक्नुप¥यो भन्ने लागिरहन्छ ।’ ‘अन्तिम समय’मा केही दिन सक्यो भने जाती हुन्छ भन्ने सोचले उनी नयाँ–नयाँ सिर्जनामा तल्लीन छन् । यसैले किताब पढ्नबाट छुट्टी लिएका रहेछन् । पछिल्लो समय उनले लेखेको ‘नेपाली कलाको रुपरेखा’ शीर्षकको पुस्तक प्रेसमा छ । एक निजी प्रकाशनगृहबाट छापिन लागेको सो कृति एकाध महिनामा आउने खबर पाएका छन् । चित्रकला, काष्ठकला, मूर्तिकला, धातुकला लगायत नेपाली कलाको समग्र अध्ययन गरेर उनले त्यो पुस्तक तयार पारेका हुन् । ‘नेपाली कला के हो, कस्तो छ र सबै कलाका पृष्ठभूमि के हुन् भन्ने कुरा समेटेकोले किताब मोटो खालकै आउँछ,’ उनले बताए । वयोवृद्ध उमेरमा सिर्जनामा व्यस्त भइरहे पनि उनी ज्यान गल्दै जाँदा आफैंबारे भन्न थालेका छन्, ‘ज्ञानको भण्डार ओइलाउँदै गयो अब । सेलायो । जमानामा चाहिँ गरिएकै हो!’ संस्कृति र लोकसंस्कृतिको क्षेत्रमा उनले पु¥याएको योगदानलाई विशेष मानिन्छ । उनी भने आफ्नो कृतिमध्ये नेपालका राष्ट्रिय विभूति तथा वास्तुकलामा दक्ष अरनिकोबारे लेखिएको ‘कलाकार अरनिको’ पुस्तकलाई उल्लेख गर्न रुचाउँछन् ।
 
यो कृति ०४४ सालमा विजय गजानन्द वैद्य प्रकाशक रहेर साझा प्रकाशनबाट छापिएको थियो । त्यसवेला आफ्नो किताब निस्किएपछि अरनिकोबारे नेपालमा थप चासो बढेको उनी सम्झिन्छन् । उनले भने,–‘त्यसबेला चीन नपुग्ने मान्छे कोही थिएनन् । राजादेखि राजाका नातेदार, मन्त्री, राजदूतहरु, खेलाडी, कलाकार, लेखकसम्मका सारा पुगेर आए । तर तीमध्ये कसैले पनि नेपाली कलाकारले बनाएको प्यागोडाबारे चर्चा गरेनन् ।’ सत्यमोहनले कामको सिलसिलामा चीनमा एक पटक चार वर्ष र पछि दुई वर्ष गरी ६ वर्ष बस्ने मौका पाए । सोही वेला उनले फुर्सदको समयमा सोखका रुपमा खोज–अनुसन्धानको काम गरे । त्यस क्रममा बेइजिङ लगायतका ठाउँ घुमेर अरनिकोको कलाबारे अध्ययन गरेका थिए । बेइजिङमा अरनिकोले श्वेत चैत्य महाविहार बनाएका थिए, जसलाई ह्वाइट प्यागोडा समेत भनिन्छ । अरनिकोले आठ वर्ष लगाएर श्वेत चैत्य बनाए । अर्को आठ वर्ष लगाएर श्वेत चैत्यलाई बिहार बनाए । आजभन्दा सात सय वर्षअघिका प्रतिभा थिए अरनिको । प्यागोडा शैलीका मन्दिर बनाउन दक्ष मानिने उनले त्यतिवेला नेपाली कलाकारहरुको नेतृत्व गर्दै वास्तुकला र धातुकलालाई चीन र तिब्बतमा प्रसार गरेका थिए । २०४० को दशकमा सीमित स्रोत–साधन, चीनियाँ भाषाको सीमा लगायत सबै चुनौती चिर्दै सत्यमोहनले अरनिकोबारेको सारा तथ्य पत्ता लगाएर पुस्तकाकार रुप दिए । ‘दुई सय ३० रुपैयाँ पर्ने यो किताब बजारमा पाइन्छ । तर, किनेर पढिदिँदैनन् मान्छे’, गुदी कुरामा मान्छेको रुचि घटेकोमा नमज्जा मान्छन् उनी । अरनिकोको श्वेत चैत्यबारे उनले २०४० सालमा नेपाल भाषामा महाकाव्य समेत लेखेका थिए । जुन गत वर्ष अणुराम जोशीको अनुवादमा नेपालीमा ‘अरनिकोकृत श्वेत चैत्य’ शीर्षकमा प्रकाशन भएको छ । नेपालको प्रतिष्ठित मानिने मदन पुरस्कार तीनचोटि पाउने एकमात्र हस्ती सत्यमोहन नै हुन् । उनी हाँस्दै भन्छन्, ‘एक चोटि भेट्टाउन त गाह्रो छ, मैले तीन चोटि पाएँ ।’ कस्तो भने, मदन पुरस्कारको स्थापनासँगै पहिलोपटक ०१३ मै यो पुरस्कार संयुक्तरुपमा पाउनेमा चित्तरञ्जन नेपाली र बलराम जोशीसँगै उनी पनि थिए । त्यसपछि ‘नेपाली राष्ट्रिय मुऽा’ का लागि ०१७ सालमा र ‘कर्णाली लोकसंस्कृति’ नामक ग्रन्थको लागि उनले संयुक्त रूपमा ०२८ सालमा सो पुरस्कार पाए । नेपाली भाषा उत्पत्ति भएको थलो जुम्लाको सिँजा उपत्यका पुगेर उनी नेतृत्वको पाँच जनाको टोलीले स्थानीय संस्कृतिको अध्ययन गर्रुयो । फर्केपछि पाँचैं जनाले कर्णालीको लोकसंस्कृतिबारे एउटा–एउटा किताब लेखे ।
 
जोशीका साथै प्रदीप रिमाल, डा. चूडामणि बन्धु, बिहारीकृष्ण श्रेष्ठ र स्थिरजंगबहादुर सिंहले लेखेको किताब तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले छापेको थियो । संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान पु¥याएको भन्दै त्रिमूर्ति निकेतनले ०७१ साल मंसिर १५ गते उनलाई शताब्दी पुरुषको उपाधिसहित सम्मान गरेको थियो । ‘उमेर त मेरो त्यस्तै ९५ वर्ष जति थियो, पाँच वर्ष गे्रस दिएर शताब्दी पुरुष मानियो । सय वर्षसम्म त बाँचिन्छ बाँचिन्न !,’ भरोसा नभएको जीवनलाई जिस्काए उनले । त्रिचन्द्र कलेजबाट बीएसम्म अध्ययन गरेका सत्यमोहन डा. समेत हुन् । लोकसाहित्यमा लागेकोले कदरस्वरुप काठमाडौं विश्वविद्यालयबाट उनले ०६८ सालमा मानार्थ महाविद्यावारिधिको उपाधि पाएका थिए । आफ्नो सक्रिय उमेरमा साहित्य(संस्कृतिमा काम गरे पनि सरकारले केही नदेखेकोमा खिन्न मान्छन् उनी । अलि बुझ्ने मान्छेलाई आफ्नो कामबारे केही थाहा भए पनि नजान्नेलाई के न के गरे जस्तो हुने भन्दै उनी छेड हान्छन् । मरेपछि कसैले रिसर्च गर्ला अब ! यतिबेला त खै अब, सरकारले पनि केही गरेन,’ उनले खुइय्य गरे । अहिलेको बजारु प्रवृत्तिबारे जानकार रहेछन् उनी, आजलाई थाकेँ, बिसाऔं भन्नुअघि डामिहाले, ‘उदेक लाग्छ, कसैको चाहिँ अलिकति केही भयो भने यहाँ कति ठूलो प्रचारबाजी हुन्छ !’




Post a Comment

 
Top