0
पोउवासंघमा तपाईंको उम्मेदवारी किन ?
उद्योग व्यवसायमा थुप्रै समस्याहरु छन् । ती तमाम समस्याहरुको समाधानको थलो भनेको पोखरा उद्योग वाणिज्य संघ हो, जुन हाम्रो छाता संस्था हो । छाता संगठनमै रहेर समस्याहरुको निराकरण गर्न सकियोस भन्ने मेरो चाहना हो । म व्यवसायमा बिगत १५ वर्षदेखि र उद्योग क्षेत्रमा ५ वर्षदेखि संलग्न भएकाले पनि व्यवसायिक तथा औद्योगिक क्षेत्रको समस्यालाई नजिकबाट बुझ्ने मौका पाएको छु । अर्को पक्ष भनेको समाजको रुपान्तरण अब उद्योग र व्यवसायबाट मात्र सम्भव देखेको छु मैले । हामी समृद्धिको कुरा गरिरहेका छौं । तर, हामी दुई छिमेकी मुलुकसँग आश्रित छौं । उनीहरुको उत्पादन हाम्रो व्यवसाय बनेको छ । उनीहरुको कच्चा पदार्थ तथा मेसिनहरु अलिअलि जोरजाम गरेर हामी उद्योगी बनेका छौं । हाम्रो उत्पादन तथा हाम्रै व्यवसायले मात्र देशले समृद्धि प्राप्त गर्न सक्छ । यिनै विषयहरुलाई एजेण्डाको रुपमा छलफल गर्दै अगाडि बढ्नुपर्ने आजको आवश्यकता हो । यसैको निम्ति छाता संस्था पोखरा उद्योग वाणिज्य संघमा मेरो उम्मेदवारी हो । म पदका लागि होइन, केही काम गरेर देखाउने दृढ संकल्पका साथ अगाडि बढेको छु । अध्यक्षका आंकाक्षी धेरै भएपनि जो संघको नेतृत्वमा आउँछ, उसको नेतृत्वलाई सफल पार्न पनि आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नेछु ।
व्यवसायिक क्षेत्रमा तपाईंको अनुभव कस्तो छ ?
खासगरी कन मेरो लगानी उद्योगतिर अन्नपूर्ण फुड्स एण्ड बेभरेज प्रालिको उत्पादन सोल्टी पानी हो । जुन तपाईं हाम्रो बिचमा बिगत ५ वर्षदेखि लोकप्रिय रहेको छ । जुन पानीलाई स्थानीय ब्राण्डको रुपमा अधिक उपभोक्ताहरुले रुचाएका छन् । बिगत १५ वर्षदेखि मेरो लगानी रियलस्टेट क्षेत्र, बैंकिङ क्षेत्र तथा इन्भेष्टमेन्ट प्रालि मार्फत विभिन्न क्षेत्रमा लगानी गरेको छु ।
संघमा प्रवेश गरेपछि तपाईंले आफ्नो तर्फबाट गर्न सक्ने कामहरु के–के छन् ?
संघमा प्रवेश गरेपछि पहिलो काम त धेरै उद्योगी व्यवसायी साथीहरु छाता संस्था संघभन्दा बाहिर हुनुहुन्छ । उहाँहरुलाई छाता संस्थामा गोलबन्द गर्ने प्रयास हुनेछ । त्यसपछि संघमा व्यवसायीहरुको हकहित तथा अधिकारका कामहरु स्वभाविक रुपमा बढी गर्नुपर्दछ । कर तथा घरभाडाका समस्या, समयसमयमा हुने बन्द तथा हडतालका समस्याहरु, व्यवसायीहरुबीचको अस्वस्थ प्रतिस्पर्धाले निम्त्याउने समस्याहरु, उद्योगमा मजदुरहरुका समस्या छन् । ती समस्याहरुको निकारणका लागि मैले आफ्नो तर्फबाट सक्दो पहल गर्ने एजेण्डा नै बनाएको छु ।
व्यवसायिक क्षेत्रमा युवा सहभागिता कस्तो छ ?
हरेक क्षेत्रमा युवा सहभागिता बढाउन आवश्यक छ । नेपालको परिवेशमा प्राय युवाहरु विभिन्न बहानामा विदेशिने क्रम बढेको छ । यहीँ लगानीका सम्भावनाहरु पहिचान गरी उद्योग तथा व्यवसायमा युवाहरुको आकर्षण बढाउन नीतिगत रुपमै सरकारले पहल गर्नुपर्ने देखिन्छ । बिगतको तुलनामा व्यवसायिक क्षेत्रमा युवा सहभागिता बढेपनि सन्तोषजनक अझै देखिँदैन । युवा उद्यमशीलता बढाउन व्यवसायीको छाता संस्था पोखरा उद्योग वाणिज्य संघले पनि अभियान नै सञ्चालन गर्नुपर्ने देखिन्छ । विदेशबाट फर्किएका केही युवाहरुले त्यहाँबाट सिकेको ज्ञान र सिपलाई उत्पादन मुलुक क्षेत्रमा प्रयोगमा ल्याउने क्रम बढेको छ । जुन व्यवसायिक कृषि क्षेत्रमा बढी देखिँदै गएको छ । अबका दिनमा उत्पादन तथा व्यवसायिक क्षेत्रमा युवा सहभागिता अझै बढाउनुपर्ने देखिन्छ ।
सामाजिक क्षेत्र र व्यवसायिक क्षेत्रका लागि समयको व्यवस्थापन कसरी गर्नुहुन्छ ?
मेरा सबै उद्योग तथा व्यवसाय सिस्टममा चलेका छन् । कतिपय उद्योग व्यवसाय साझेदारीमा छन् । साझेदार मध्येको एकलाई प्रवन्ध सञ्चालकको रुपमा जिम्मेवारी दिने गरेका छौं । दिनको एक पटक सबै व्यवसायमा पुग्ने र सहयोग तथा समस्या समाधान गर्ने गरेको छु । मेरो रुची समाजसेवामा सानैदेखि रहेको छ । समयलाई व्यवस्थापन गर्ने नै हो । कुन कामलाई कति प्राथमिकता दिने भनेर मैले सहज निर्णय गर्न सक्छु । संघलाई आवश्यक परेको समयमा म जति बेला पनि समय व्यवस्थापन गर्न सक्षम छु । जुन कुराको प्रमाण भोलिका दिनमा अनुभव गर्न सकिनेछ ।
नेपालमा कर प्रणालीको वर्तमान अवस्था कस्तो छ ?
व्यवसायीहरुको माग भनेको करको दायरालाई फराकिलो पार्ने र करको दर घटाउने तर्फ केन्द्रित हुन आवश्यक छ । जसले गर्दा कर संकलनमा दोब्बर पनि बृद्धि हुन सक्दछ । सहज रुपमा उद्योगी व्यवसायीहरु कर प्रणालीमा ल्याउन सकिन्छ । करको दायरामा आइसकेकाहरुलाई विभिन्न वहानामा दुःख दिने काम राज्यबाट हुनु हुँदैन । कर तिर्ने प्रणाली केही झन्झटिलो छ । प्रत्येक उद्योग व्यवसायमा बस्तुको मूल्य, नाफा र करमा जाने रकम सिस्टमबाट छुट्टिएर अनलाइन मार्फत कर अफिसमा पुग्नु पर्दछ । करप्रणालीलाई आधुनिक र प्रविधिमैत्री बनाउन आवश्यक छ । यसका लागि संघले एजेण्डा बनाएर दबाब दिनुपर्छ । राज्यका धेरै निकायमा कर तिर्ने प्रणालीको अन्त्य गरी एकद्वार प्रणालीबाट कर संकलन गरिनुपर्छ । उद्योगी व्यवसायीलाई दुःख दिने नियम सरकारले राख्नु हुँदैन ।
उद्योग व्यवसाय सञ्चालनका लागि प्रक्रियागत झन्झट छ भनिन्छ। तपाईंको अनुभव के छ ?
एउटा उद्योग व्यवसाय दर्ता गर्न भैरहवा, काठमाडौं, घरेलु कार्यालय, नगरपालिका र आन्तरिक राजश्व कार्यालय लगायतका सरकारी निकायमा पुग्नुपर्छ । ती कार्यालयका कोठाकोठामा चहार्नुपर्दछ । यस्तो झन्झटिलो व्यवस्थाको अन्त्य हुन जरुरी छ। यसलाई सिस्टममा लगेर सहज रुपमा व्यवसाय दर्ता गर्न सुरुवात गरिनुपर्छ । जसले गर्दा उद्योग व्यवसायमा लगानी बढाउन थप आकर्षण बढ्नेछ । बिकसित मुलुकहरुमा उद्योग स्थापना भएको पाँच वर्षसम्म ट्याक्स फ्रि गर्ने, भन्सार छुट दिने, विद्युत तथा बाटो निर्माण गरिदिने र उद्योग व्यवसायलाई पूर्ण रुपमा फस्टाउन सहयोग गर्न वातावरण तयार गरिदिने व्यवस्था छ । तर, यहाँ सुरुमै झन्झटिला प्रक्रियाले लगानी गर्न चाहनेहरुलाई प्रोत्साहन होइन निरुत्साहित बनाउने गरिन्छ । जसले देशको हित हुन सक्दैन । अबका दिनमा सहज प्रक्रियाबाट उद्योग व्यवसाय दर्ता तथा सञ्चालन गर्ने वातावरण बनाउनुपर्छ । सहज वातावरण बनेमा मात्र उद्योग तथा व्यवसाय बढाउन सकिन्छ ।
चुनावी प्रचार–प्रसारका क्रममा उद्योगी व्यवसायबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
धेरै उद्योगी तथा व्यवसायी साथीहरुको आग्रहमा नै मैले संघमा उम्मेदवारी प्रस्तुत गरेको हुँ । चुनावी प्रचारप्रसारका क्रममा बजारमा हिड्ने क्रममा मलाई प्राप्त भएको साथ र समर्थनले मलाई निकै उत्साहित बनाएको छ । सक्षम र सवल नेतृत्वका लागि संघमा मलाई पु¥याउनुपर्छ भन्ने उद्योगी व्यवसायीको भावना मैले बुझेको छु । सदस्यको रुपमा रहेर पनि मैले संघलाई धेरै सहयोग पु¥याउन सक्नेछु भन्ने ठानेको छु । भोट तथा शुभकामना सँगसँगै उहाँहरुको समस्याहरु पनि बुझ्ने अवसर पाएको छु ।
संघमा निकै राजनीति भयो भन्ने गुनासो आएको छ। तपाईंको सुझाव के छ ?
राजनीति गर्ने मनसायले संघमा प्रवेश गर्नु हुँदैन । यो विल्कुल सामाजिक संस्था हो । राजनीतिलाई पर राखेर यो संस्थाको इज्जत र गरिमालाई बचाउनुपर्छ । गुनासो आउनु स्वभाविक हो । समाजमा धेरै विचार बोकेका धेरैथरी मानिसहरु छन् । तरपनि हामीहरु विल्कुल सेवाभावले ओतप्रोत भएर व्यवसायीको हकहित र अधिकारका लागि समृद्धि पोखरा बनाउने अभियानका साथ सबैसँग हातेमालो गर्दै अगाडि बढ्नुपर्दछ ।
संघले वार्षिकरुपमा आयोजना गर्ने व्यापार मेलाका बारेमा तपाईंको धारणा के छ ?
औद्योगिक व्यापार मेलाको अवधारणा निकै राम्रो छ । हाम्रो उत्पादन हाम्रै व्यवसायमुखी हुनुपर्दछ । विदेशमा उत्पादित समानको बिक्री भण्डार बनाउनु हुँदैन । मनोरञ्जनमा बढी खर्च आएको गुनासो सुनिएको छ । स्वदेशी कृषि उत्पादनलाई बढी प्राथमिकता दिनुपर्छ । फेरी पनि नाकाबन्दी लगाउँदा, चीन जाने बाटो भत्किदा हामीले साथमा पैसा भएर पनि खान नपाएको, लगाउन नपाएको, गाडी गुडाउन नपाएको, उद्योग, व्यापार गर्न नपाएको पीडालाई चटक्कै भुल्यौं भने हामी समृद्धितर्फ जान सक्दैनौं । यसैलाई प्राथमिकता दिँदै यस्ता मेला तथा महोत्सवहरुमा स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न तथा प्राथमिकता दिन जरुरी छ ।
उद्योग वाणिज्य संघमा उद्योगी व्यवसायीको उपस्थिति कस्तो पाउनुभएको छ ?
चुनावी प्रचार अभियानमा हिड्दै गर्दा मलाई अचम्म लाग्यो । हेमजामा ६ जना, लामाचौरमा १५÷२० जना, चाउथेमा १२÷१५ जना मात्र संघमा आबद्ध रहेको पाएँ । बजार क्षेत्रमा पनि एउटा पसल संघको सदस्य छ अर्को पसल छैन । बिसौं हजार उद्योग व्यवसायी भएको ठाउँमा मात्र ३ हजार जना उद्योगी व्यवसायी छाता संस्थामा आबद्ध भएका छन् । सबै उद्योगी व्यवसायीलाई संघमा ल्याएर छाता संस्थामा समेट्न आवश्यक छ ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
समाजको रुपान्तरण तथा समृद्धि अब उद्योगी व्यवसायीबाट मात्र सम्भव छ । आफ्नो उत्पादन आफ्नै व्यवसाय हुने गरी योजनाका साथ हामी अगाडि बढ्नुपर्दछ । व्यवसायिक कृषि उत्पादनमा हाम्रो ध्यान जानु जरुरी छ । इज्जत र प्रतिष्ठाका लागि संघमा प्रवेश गर्न खोज्नु गलत छ । समग्र समस्या तथा चुनौती सामना गर्नसक्ने हैसियत राख्ने सबल र सक्षम नेतृत्वको खोजी आजको आवश्यकता हो । यही नविनतम सोचका साथ मैले पनि संघमा आफ्नो उम्मेदवारी कार्यकारिणी सदस्यको रुपमा प्रस्तुत गरेको छु । मलाई मतदान गरी विजयी गराइ यहाँहरुको सेवा गर्ने अवसर मिलाइदिनुहुन म सविनय अनुरोध गर्दछु ।



Post a Comment

 
Top