0
गोल्डेन न्यूज संवाददाता
जीर्ण सडकले पर्यटकीय नगरी पोखरालाई कुरूप बनाउँदै लगेको छ । पछिल्ला दिन यहाँका प्रायसस् सडकमा खाल्टैखाल्टा छन् । पिच उक्किएर कच्ची हो वा पक्की, छुटयाउनै गाह्रो पर्छ । अझ पानी परेका बेला सडकमै खोला बग्छ । झरी थामिएपछिको सडक बगर भन्दा कम देखिँदैन । राजमार्ग, बजारको मुख्य र भित्री गल्ली सबैतिर सडकको दुरवस्था छ । ‘जीर्ण सडकले पोखराको सौन्दर्य त बिगारेकै छ, जिउधनको पनि जोखिम बढाउँदै लगेको छ,’ उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले भने,–‘सडक निर्माण वा मर्मत जे गरे पनि ६–८ महिनामै बिग्रिसकेकै हुन्छ ।’ यसका लािग गुणस्तरहीन कार्यशैलीलाई दोष दिने उनी प्रभावकारी अनुगमन गरी सरोकारवालालाई जवाफदेही नबनाउँदासम्म समस्या दोहोरिइरहने बताउँछन् । मुख्य बजार महेन्द्रपुल, चिप्लेढुंगा, पृथ्वीचोक, सिर्जनाचोक, लेकसाइडलगायत सबै क्षेत्रको सडक बगरजस्तै बनेको छ । सवारी आवागमन मात्रै होइन, पैदल यात्रीलाई समेत उस्तै सास्ती छ । सवारी दुर्घटना बढिरहेको छ । खाल्डा र खुला नालीमा खसेर मानवीय क्षतिसमेत हुने गरेको छ । जलमग्न सडकमा फस्दा गत शनिबार साँझ मात्र दुई जनाले ज्यान गुमाएको पत्रकार लालप्रसाद शर्माको समाचारमा उल्लेख छ ।
 
सडक मर्मतको जिम्मा लिएका पोखरा उपमहानगरपालिका र डिभिजन सडक कार्यालयको लापरबाहीले सधैं सडकको दूर्दशा हुने गरेको स्थानीय बताउँछन् । ‘प्राविधिक रूपमा धैरै पानी पर्ने कारण देखाए पनि कम गुणस्तर र कामको प्रभावकारी अनुगमन नहुँदा समस्या दोहोरिइरहेको हो,’ कोइरालाले भने,–‘अब सम्बन्धित निकायले तत्काल सडक मर्मत थाल्नुपर्छ, त्यसलाई निरन्तरता दिइरहनुपर्छ ।’ पोखरा नेपालकै सबैभन्दा बढी वर्षा हुने स्थान मानिन्छ । पहिले खुला क्षेत्र बढी रहेकामा अहिले घर बन्ने क्रमसँगै पानीको पर्याप्त निकास नहुँदा समस्या देखिएको उपमहानगरपालिकाले जनाएको छ । निर्माण सामग्रीसमेत सडकमै राख्दा थप समस्या छ । ‘यहाँको सडकमा २ सेमीभन्दा मोटो कालोपत्रे गर्न नपाइने नियम छ,’ उमनपाका वरिष्ठ इन्जिनियर शारदामोहन काफ्लेले भने, ‘वर्षा धेरै हुने र हेभी गाडी पनि चल्ने भएकाले सडकले थेग्न सकेको छैन ।’ सडक बनाउँदा नगरपालिकाले ६० र उपभोक्ताले ४० प्रतिशत लागत बेहोर्नुपर्ने व्यवस्था छ । २ सेमीभन्दा बढी मोटाइको कालोपत्रे गर्दा उपभोक्तालाई मार पर्ने उनले बताए । बढी पानी पर्ने ठाउँ भएकाले त्यहीअनुसार सडक निर्माण मापदण्ड निर्धारण गरिनुपर्ने अर्का स्थानीय रामजीप्रसाद कोइरालाले बताए । ‘सडकले थेग्न नसकेको हो भने त्यसैअनुसार गुणस्तरमा ध्यान दिनुप¥यो,’ उनले भने,–‘पिचले नथेग्ने ठाउँमा ढलान गर्नुपर्छ ।’ गुणस्तरीय सडक निर्माणमा उमनपा र सडक डिभिजन कार्यालयले चासो नदेखाएको आरोप छ । ‘दुवै निकायलाई जिम्मेवारीबोध छैन । हामीले पटकपटक भन्दा पनि सुनुवाइ भएन,’ वडा समन्वय समिति ६ का अध्यक्ष गिरिराज अधिकारीले भने,–‘नगरपालिकाले भनेको मान्नुपर्ने, उसैले तोकेको ठेकदारलाई काम दिनुपर्ने भएपछि कसरी गुणस्तरीय काम हुन्छ ?’

Post a Comment

 
Top