0
तेश्रो विद्यालयस्तरीय छात्र तथा छात्रा बास्केटबल प्रतियोगिता को छात्र तर्फको उपाधि माउण्ट अन्नपूर्ण उच्चमावि र छात्रा तर्फका उपाधि टप्स उच्चमाविले जितेको छ । पोखरा–१० इन्द्रमार्गस्थित कोल्मा बहाकोट तमु समाज पोखराद्वारा आयोजित प्रतियोगितामा छात्रतर्फ पोखरा नदीपुरस्थित माउण्ट अन्नपूर्णले कास्की मोर्डनाइज्ड एकेडेमीलाई ४०–२३ स्कोरले पराजित गर्दै उपाधि जितेको हो । विजेता टिम १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता टिम ५ हजार ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भयो । यसैगरी छात्रतर्फको तेश्रोस्थानका लागि सम्पन्न खेलमा बालकल्याण बोर्डिङ स्कुलले कुमुदिनी होम्सलाई ३४–३१ स्कोरले हराउँदै तेश्रो भई ३ हजार, ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिएको थियो । यसअघि सेमिफाइनलमा माउण्ट अन्नपूर्णले कुमुदिनी होम्सलाई २९–२१ र कास्की मोर्डनाइज्डले बालकल्याण लाई ३५–३१ स्कोरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।  यसैगरी छात्रातर्फ फाइनल खेलमा टप्स उच्चमाविले कुमुदिनी होम्सलाई २४–७ स्कोरले पराजित गर्दै उपाधि जितेको थियो भने तेश्रो स्थानका लागि भएको खेलमा लिटिलस्टेप उच्च माविले माउण्ट उच्चमाविलाई ६–४ स्कोरले पराजित गरेको थियो । प्रथम भएको टप्स १० हजार, ट्रफी, मेडल,  प्रमाणपत्र र उपविजेता कुमुदिनी होम्स ५ हजार ट्रफी, मेडल, प्रमाणपत्र र तेश्रो भएको लिटिलस्टेप ३ हजार, ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भयो । प्रतियोगितामा छात्रहको १४ टिम र छात्राको ८ टिम सहभागिता रहेको थियो भने छात्रातर्फ कुमुदिनी होम्सकी स्मृति गुङ र छात्रतर्फ कास्की मोर्डनाइज्डका बिल्ली स्टोन रानामगर उत्कृष्ट खेलाडी हुदै पुरस्कृत भए । छात्रतर्फ माउण्ट अन्नपूर्णका सुमन पुन र छात्रातर्फ टप्सकी ममता डगौरा सर्वाधिक गोलकर्ता बन्दै पुरस्कृत भए । विजेता टिम र खेलाडीहलाई कोल्माबहाकोट तमु समाजका अध्यक्ष क्या. बीरबहादुर तमु, विशेष अतिथि डब्लु ओ टु कटकबहादुर तमु, कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष नेत्रबहादुर सेन, टप्स उच्चमाविका संस्थापक प्रिन्सिपल रत्नमान तमु, सोसल पब्लिकका प्रिन्सिपल खिमबहादुर तमु, हिसान कास्कीका उपाध्यक्ष रामजी शर्मा लगायतले पुरस्कार प्रदान गरेका थिए ।


Post a Comment

 
Top