0
गोल्डेन न्यूज संवाददाता
सम्पदा कला मन्दिर नेपालले शनिबार पोखरामा पञ्चरत्न स्रष्टा सम्मान साँझ तथा विविध साँस्कृतिक कार्यक्रम–२०७३ सम्पन्न गरेको छ । समारोहमा गायिका देविका बन्दनालाई स्वर महासुन्दरी गायिका उपाधि, गायक कर्णदासलाई स्वरसुन्दरमणि गायक उपाधि, कवि दुर्गाबहादुर शाह बाबालाई शालिन कवि उपाधिबाट सम्मानित गरियो । त्यस्तै, गीतकार सुमन श्रापितलाई राष्ट्रिय शिल्प गीतकार उपाधि र हनिफ मियाँलाई सम्पदा राष्ट्रिय वाङ्मय रक्षक उपाधिबाट सम्मान गरियो । पोखरा उद्योग वाणिज्य संघमा भएको उक्त समारोहमा प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठ, संस्थाका संरक्षक क्षेत्रबहादुर कुँवर, अध्यक्ष देशभक्तसिंह कुँवरले उनीहरुलाई उपाधिसहित दोसल्ला र सम्मानपत्र हस्तान्तरण गरे । विविध सांगीतिक कार्यक्रमका साथ भएको उक्त समारोहमा प्रमुख अतिथि सरुभक्तले सम्पदाको कार्यक्रमले स्रष्टासहित देशलाई पनि चिनाउन मद्दत पु¥याउने बताए । उनले नेपाली कला वाङ्मयको क्षेत्रमा सम्पदाले यसरी कार्यक्रम गरेर स्रष्टालाई सम्मान गर्र्ने विषयले अभावको पूर्ति गरेको उल्लेख गरे । उनले सम्पदा भन्ने विषय मूर्त र अमूर्त दुईथरिको हुने बताउँदै सम्पदाप्रेमीले सम्पदाको यसैगरी संरक्षण गर्दै जानुपर्ने सुझाव दिए । सम्मानित व्यक्तित्व गायिका देविका बन्दना, गायक कर्णदास, कवि दुर्गाबहादुर शाह बाबा, युवास्रष्टा सुमन श्रापित र लोककवि अलिमियाँ प्रतिष्ठानका अध्यक्षसमेत रहेका हनिफ मियाँले सम्मानले प्रेरणा थपेको बताए । संस्थाका अध्यक्ष देशभक्तसिंह कुँवरको अध्यक्षतामा समारोहमा विभिन्न गीत तथा नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा गायक कर्णदास, गायिका देविका बन्दना, संगीतकार बीबी अनुरागी, गायक रामभक्त जोजिजु, इतु जोजिजु, विनित जोजिजु, कमला सुनार, एनजे सागर, जूना क्षेत्री, अम्बिका राणा, सुरज आचार्य, देशभक्तसिंह कुँवरलगायतले गीत गाएका थिए भने वविता तामाङ, प्रेमिका तामाङ, मुमताज कुँवर, गरिमा शर्मालगायतले नृत्य प्रस्तुत गरेका थिए । समारोहमा संस्थाका सल्लाहकार तोयनाथ लामिछानेले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए भने स्वागत महासचिव विजय नेपाल र संचालन अनिता कोइराला र अनिता भुजेलले संयुक्तरुपमा गरेका थिए । ‘स्रष्टाहरुको उत्थान एवं सम्मानका लागि एकमात्र मन्दिर–सम्पदा कला मन्दिर’ भन्ने मूलमन्त्रका साथ २०६५ सालमा स्थापित उक्त संस्थाले संगीत, कला, साहित्यमा योगदान पु¥याएका देशका विभिन्न ठाउँका व्यक्तिलाई सामूहिक सम्मान गर्दै आएको छ ।  संस्थाले २०६५ मा १५ जना, २०६६ मा १७ जना, २०६७ मा पञ्चामृत स्रष्टा र २०७० मा चार किल्ला स्रष्टा सम्मान सफलतापूर्वक सम्पन्न गरिसकेको सल्लाहकार प्राडा यामबहादुर क्षेत्रीले जानकारी दिए ।

Post a Comment

 
Top