0
गोल्डेन न्यूज संवाददाता
पोखराको फेवातालमा जलकुम्भी झार सफाई अभियान सुरु गरिएको छ । शुक्रवार एक कार्यक्रमका बीच स्थानीय विकास अधिकारी दामोदर भण्डारीले झार सफाई अभियानको शुभारम्भ गरेका हुन् । पोखराको मूख्य पर्यटकीय आकर्षण फेवाताल जलकुम्भी झारले कुरुप हुँदै गएपछि हटाउने अभियान सञ्चालन गरिएको हो । पोखरा उपमहानगरपालिकाले तालमा जलकुम्भीले ढाकेको एक महिनापछि सफाई अभियान सुरु गरेको हो । अभियानको पहिलो दिन तालको अन्तिम भाग खपौदी क्षेत्रको सफाई गरिएको नागरिक समाज पोखराका संयोजक राम बहादुर पौडेलले जानकारी दिए । अत्याधिक जलकुम्भी झार रहेको सो क्षेत्रमा पहिलो दिनमै झण्डै ३० ट्रक झार निकालिएको छ । उनका अनुसार डेढ सय जना सुरक्षाकर्मी सहित नागरिक समाज, कर्मचारी, डुंगा ब्यवसायी, जलारी समुदाय लगायत झण्डै ३ सय जना झार सफाई अभियानमा जुटेका थिए । विहान दुई घण्टा चलाएको अभियानबाट पनि सो क्षेत्रको झार पूर्ण रुपमा हटाउन नसकिएकाले अर्को साता पनि सोहि स्थानमा अभियान सञ्चालन हुने पौडेलले बताए । आजदेखि सुरु भएको यो अभियान जलकुम्भी झार पूर्ण रुपमा नहटाएसम्म प्रत्येक हप्ताको शुक्रवार निरन्तर चल्नेछ । पोखराको गहनाको रुपमा रहेको फेवातालमा बर्षा लागेपछि प्रत्येक बर्ष जलकुम्भी झारले यसरीनै ढाक्ने गरेको छ । झण्डै १० बर्षदेखि निरन्तर रुपमा जलकुम्भीले फेवाको सौन्दर्यतानै विगार्ने गरेको डुंगा ब्यवसायी समितिका कोषाध्यक्ष बुिीराज पाण्डेले बताए । जलकुम्भी झारको दिर्घकालिन समाधानको उपाय अझैपनि अपनाउन सकिएको छैन ।

Post a Comment

 
Top