0
डा. ढुण्डीराज पौडेल
स्वास्थ्यसेवाले चिकित्सा सेवा अर्थात् रोगको निदान, उपचार मात्रै होइन, प्रबद्र्धन, पुनस्स्थापना र रोगबाट बच्न अपनाउनुपर्ने विविध उपायलाई पनि समेट्छ । स्वास्थ्यसेवा भनेको प्रत्येक नागरिकले समयमै उपचार प्राप्त गरी अकाल मृत्युबाट बच्न पाउनुपर्ने मौलिक अधिकार हो । खास रोग लागेका बखत त्यसको प्रभावकारी उपचारको कुनै विकल्प नै हुन्न । केही वर्षदेखि विश्वका विभिन्न देशमा चलेको आर्थिक उदारीकरण लहरको बाबजुद पनि जनताको स्वास्थ्यसेवा प्रतिको दायित्वबाट राज्यहरू पूर्णतः विमुख भएका छैनन् । उदारवादी अर्थतन्त्र अँंगालेका लोकतान्त्रिक मुलुकमा समेत सबै प्रकारका आकस्मिक सेवा निस्शुल्क र निसर्त प्रदान गरिएको हुन्छ । नेपालका राजनीतिक दलहरू भने त्यो लहरको दुहाइ दिँदै सार्वजनिक स्वास्थ्यसेवाको विकासमा उदासीन बन्दै आएका छन् । सरकारी अस्पतालहरूको भरथेगमा विलकुलै ध्यान दिएको पाइँदैन । उदाहरण राजधानीको वीरदेखि मोफसलका सरकारी अस्पताल (अपवाद बाहेक) नै छन् । नेपालको संविधानको धारा ४२ ले स्वास्थ्यसेवालाई मौलिक अधिकारका रूपमा स्वीकार गरेको छ । कुनै पनि नागरिकलाई आकस्मिक सेवाबाट बञ्चित गरिने छैन भनिएको छ । तर संविधानको कुनै धाराले स्वास्थ्यसेवालाई मौलिक अधिकारको रूपमा स्वीकार्दैमा व्यवहारमा स्वतस् कार्यान्वयन हुने होइन । संविधानको त्यो धाराको सार्थकता उचित ऐन, कानुन, नीति, नियमावली र जिम्मेवारको नियतमाथि निहित हुन्छ । संविधानको त्यो अमूर्त धारालाई मूर्तरूप दिन कुनै पनि नागरिकले उपचारको अभावमा ज्यान गुमाउन नपर्ने सुनिश्चितता हुनेगरी ऐन, नीति, नियमावली निर्माण गरी कार्यान्वयन राख्नुपर्छ । रोगका कारणले सिर्जित कष्ट सहँदै अकालमा मृत्युुवरण गर्नुपर्ने अथवा उपचारपश्चात् ऋणको गर्हौं भारले थिचिई ऋणमुक्त हुन विदेश पलायन हुनुपर्ने स्थितिबाट जनतालाई मुक्त गर्ने दायित्व राज्यबाट निर्वाह नहुँदासम्म स्वास्थ्यलाई मौलिक अधिकारका रूपमा स्थापित गरिएको संवैधानिक धाराको कुनै अर्थ छैन । त्यसैगरी प्रमुख दलहरूले उराल्ने गरेका लोकतान्त्रिक समाजवाद, बहुदलीय जनवाद या नयाँ जनवादी नाराको पनि कुनै अर्थ छैन । सार्वजनिक स्वास्थ्य र शिक्षाका सवालमा लोककल्याणकारी नीतिलाई व्यवहारमा कार्यान्वयन गर्न नचाहने दलहरूको नियत जनतासामु छर्लङ्ग भैसकेको छ । कार्यान्वयन गराउने नियतका साथ संविधानमा धारा ४२ लाई उल्लेख गरिएको भए संवैधानिक स्वास्थ्य आयोगको मागप्रति उपेक्षा गरिने थिएन । जनतालाई स्वास्थ्यसेवा प्रदान गर्ने प्रक्रियाका मुख्य अवयव चिकित्सक या स्वास्थ्यकर्मीप्रति बेवास्ता गरेर कसरी स्वास्थ्यसेवा प्रदान गर्न सकिन्छ ?
 
विभिन्न गैरचिकित्सा क्षेत्रको प्रतिनिधि समेटिएका राष्ट्रिय योजना आयोग, मानवअधिकार आयोग आदि संवैधानिक आयोगमा चिकित्सा क्षेत्रलाई किन बेवास्ता गरियो ? स्वास्थ्यसेवा सम्बन्धी नीति—नियमको निर्माणमा के चिकित्सा क्षेत्रबाट उपयुुक्त ‘इनपुट’ प्रदान हुने थिएन ? संवैधानिक रूपमै अख्तियार दुरूपयोगअनुसन्धान आयोगमा चिकित्सा क्षेत्रको पनि प्रतिनिधित्व रहने व्यवस्था भइदिएको भए अहिले सिर्जित विवाद कम हुने थिएन र ? चिकित्सा शिक्षा आयोगको प्रतिनिधित्व पनि उदेकलाग्दो छ । कमी—कमजोरी कसबाट हुनगयो ? यसमा गल्ती र कमजोरी कसरी सच्याउन सकिन्छ, हाम्रो प्रयास त्यतातिर निर्देशित हुनु जरुरी छ ।
 
स्वास्थ्यसेवाको क्षेत्रमा राज्यलाई पूर्णतस् उत्तरदायी या जिम्मेवार बनाउन यो क्षेत्रमा क्रान्तिकारी परिवर्तन नै ल्याउनुपर्छ । एकातिर सार्वजनिक स्वास्थ्यसेवा प्रदायक संस्थाहरू अप्रभावकारी, निकम्मा र अभावग्रस्त छन् भने अर्कोतर्फ निर्मम राजनीतिक हस्तक्षेपले तिनीहरू झनै जर्जर बनेको स्थिति छ । सार्वजनिक स्वास्थ्यसेवाको क्षेत्र अथवा सरकारी अस्पतालमा सुधार नहुनुको मूल कारण आर्थिक अभावमात्रै होइन, जिम्मेवारहरूको गलत नियत पनि जिम्मेवार छ । व्यक्तिको विशेषज्ञता, क्षमता र योग्यताभन्दा राजनीतिक आस्था या निजको पहुँचलाई नै आधार बनाउने अवस्था रहंँदासम्म कसरी स्वास्थ्यसेवामा सुधार गर्न सकिन्छ ? जिम्मेवार पद जब मोलमोलाइमा बिक्री हुन्छन् भने कसरी अस्पताल सेवामा सुधार ल्याउन सकिन्छ ? सरकारी चिकित्सकहरू समान तहको प्रशासनिक कर्मचारीहरूले पाउने सुविधा र हैसियतबाट किन बञ्चित हुनुपर्ने ? कहिलेसम्म चिकित्सकहरू राजनीतिक एवं प्रशासनिक क्षेत्रबाट उपेक्षित भैरहने ? कुल राष्ट्रिय बजेटको १० प्रतिशत सार्वजनिक स्वास्थ्यसेवामा छुट्याउनुपर्ने अन्तर्रा्ष्ट्रिय मान्यता विपरीत ५ प्रतिशतमात्रै छुट्याउनु कसरी लोककल्याणकारी नीतिसँंग मेल खान्छ ? एकातर्फ सार्वजनिक स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेटको सीमितता छ भने अर्कोतर्फ छुट्याइएको सीमित बजेटको ठूलो हिस्सा कमिसनदेखि चुहावट हुँदै सीमित अंशमात्रै सदुपयोग हुने गरेको छ । अनेक चलखेलका कारण आर्थिक वर्षको अन्त्यतिर बजेट निकासा हुने, हतार—हतार खरिद प्रक्रिया पुरा गर्नुपर्ने कारणले कि रकम फ्रिज हुने कि मूल्य र गुणस्तरमा सम्झौता गर्नुपर्ने या अख्तियारको कारबाहीको भागिदार बन्नुपर्ने त्रासका कारण स्वास्थ्य उपकरण खरिद प्रक्रिया व्यवस्थित नभएको स्थिति छ । औषधीको आयात, उत्पादन र बिक्री–वितरण आदिमा उचित ध्यान दिएको पाइन्न । प्रयोजन, कमिसन, नजराना, अत्यधिक मुनाफाको मार आम उपभोक्ताले बेहोर्नुपर्ने स्थिति छ । यसमा प्रभावकारी नियन्त्रण, सुपरिवेक्षण, नियमनको अभाव छ । जनताको स्वास्थ्यसेवालाई प्रत्यक्ष प्रभाव पार्ने चिकित्सा शिक्षामा एकरुपता, स्तरीयता, सहजता कायम गर्ने दायित्व बोकेको नियामक निकाय लाचार र अकर्मण्य छ । झनै प्रस्तावित ऐनमा उल्लेख भएको चिकित्सा शिक्षा आयोगको गठनसंँगै चिकित्सा शिक्षा र सेवाको नियामक निकाय मेडिकल काउन्सिलको अस्तित्व नै धरापमा परेको प्रतीत हुन्छ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षालाई प्रभावकारी नियमन गर्ला तर स्वास्थ्यसेवा कसरी प्रभावकारी नियमन हुनसक्ला ? यसलाई नियमन गर्न संवैधानिक निकायको आवश्यकता थियो, जसको माग पनि भएको हो । तर दुर्भाग्य यसको सुनवाइ भएन । चिकित्सा शिक्षा आयोगले शिक्षातर्फ मात्रै हेर्ने अनि सेवाको भागचाहिँ मेडिकल काउन्सिलको जिम्मामा छाड्दा झन् दोहोरो दायित्व सिर्जना भई सम्पादन अप्रभावी हुने निश्चित छ । चिकित्सा शिक्षामा सुधारका निम्ति डा. गोविन्द केसीद्वारा चालिएको अभियान कसैको हितविरुद्ध लक्षित पूर्वाग्रही कदम थिएन । तर डा. केसीको मागअनुसार प्रस्तावित चिकित्सा शिक्षा आयोग फगत मेडिकल कलेजहरूको सिट संख्या घटाउन र शुल्क तोक्नमात्रै लागु गर्न खोजिएको सम्झिनु नै दुर्भाग्यपूर्ण थियो । वास्तवमा शुल्क एकनासे रहँदैन, त्यो परिवर्तन भइरहने कुरा हो र कोटा घटाउँदैमा पनि चिकित्सा शिक्षा स्तरीय हुन्छ भन्ने छैन । तर चिकित्सा शिक्षामा एकरूपता, स्तरीयता, पारदर्शिता र नियमितता कायम गर्नमात्रै होइन, सरकारी, निजी, सामुदायिक सबै खाले स्वास्थ्य संस्थामा सेवाको नियमन गर्न सक्षम नियामक निकाय अपरिहार्य छ । मेडिकल काउन्सिललाई कानुनतस् त्यो जिम्मेवारी बहन गर्न योग्य बनाइएको भए स्थिति जटिल हुने थिएन । तर मेडिकल काउन्सिल गठनदेखि सम्पादित कार्यले विवादितमात्रै होइन, अप्रभावी बन्न गएको छ । प्रत्येक वर्ष फेरिने प्रधानमन्त्री नै अध्यक्ष भएको प्रस्तावित चिकित्सा आयोगको सट्टा स्वास्थ्यसेवालाई पनि नियमन गर्न, उपचारको सिलसिलामा हुने गरेका घटनाको समयमै निरुपण गर्न, राज्यका निम्ति मान्न बाध्यकारी हुनेगरी स्वास्थ्य उपचारसम्बन्धी नीति निर्देशन जारी गर्नसक्ने संवैधानिक निकायको प्रावधान उपयुक्त हुनसक्छ । यी सबै विकल्पका बाबजुद जनताको स्वास्थ्यसेवामा सुधार ल्याउन र चिकित्साकर्मी मैत्री हुने स्वास्थ्यसेवा ऐन निर्माण गर्नुपर्छ ।
 
के हो ग्यास्ट्रोएन्टेराइटिस ? कसरी बच्ने ?
अतुल मिश्र
हाम्रो मुलुकमा बर्से्नि करिब एक लाख व्यक्तिलाई प्रभावित गर्ने र सयको हाराहारीलाई मृत्युको मुखमा पु¥याउने ग्यास्ट्रोएन्टेराइटिसको समस्या अचेल मेचीदेखि महाकालीम्म फैलेको छ । ‘स्टमक फ्लु’ र ‘खाद्य विषाक्तता’ समेत भनिने यो संक्रमण वैशाखदेखि सुरु भए पनि भदौको अन्त्यसम्म जारी रहने भएकाले यसबाट बाँच्न विशेष सतर्कता अपनाउनु आवश्यक पर्छ । मुख्य रूपमा प्रदूषित खाना र पानीका कारण वर्षेनी गर्मीरवर्षा याममा मुलुकमा यो संक्रमण देखिने गरेको इपिडिमियोलजी विभागका प्रमुख डा. गुणनिधि शर्मा बताउँछन् । उनका अनुसार ग्यास्ट्रोएन्टेराइटिसको मुख्य कारण खाद्य पदार्थ र पानी दिसाले संक्रमित हुनु हो । ग्यास्ट्रोएन्टेराइटिस भनेको भाइरस, ब्याक्टेरिया, परजीवी आदिले गर्दा आन्द्राको सतह सुन्निनु हो । ब्याक्टेरिया, भाइरस, तिनको विषाक्त पदार्थ, परजीवी, खाना वा औषधिमध्ये कुनै वस्तुको विपरीत प्रतिक्रियाका कारण हुन्छ यो संक्रमण । यति मात्र नभएर, नयाँ खानाको प्रतिक्रियास्वरूपसमेत यो समस्या देखिन सक्छ । सामान्य भाषामा भन्ने हो भने यो आन्द्रा, पेटको संक्रमण र सुन्नाइ रहेको वरिष्ठ पेट रोग विशेषज्ञ डा. प्रदीप यादव बताउँछन् । भाइरसबाट हुने ग्यास्ट्रोएन्टेराइटिस जाडो याममा बढी देखिन्छ । यादवका अनुसार हाल अमिबा, ब्याक्टेरिया लगायत कारणले हुने ग्यास्ट्रोएन्टेराइटिस नै बढी देखिने गरेको हो । अहिले देखिएको यो रोग हुनुको मुख्य कारण प्रदूषित खानपान नै हो । बढी गर्मी र वर्षा ग्यास्ट्रोएन्टेराइटिसको जीवाणु फस्टाउने अनुकूल समय हो । यसैले यो मौसममा यो संक्रमणको खतरा सबैभन्दा बढी हुन्छ । शरीरमा जीवाणु प्रवेश गरेको चार देखि ४८ घन्टाभित्र यो रोगको लक्षण देखिने उल्लेख गर्दै डा. यादव भन्छन्, ‘यसअन्तर्गत पखाला र वान्ताका माध्यमले शरीरमा लवण र खनिज पदार्थको कमी हुन्छ ।’
ग्यास्ट्रोएन्टेराइटिस उपचार नगर्दा स्वास्थ्य सम्बन्धी जटिलतासमेत देखिन सक्छ । कुनै–कुनै केसमा बिरामीलाई कडा डिहाइड्रेसन (पानीको कमी) भएर एक्युट रेनल फेल्योर (मृगौलाले काम गर्न छोड्नु) समेत हुन सक्ने स्थिति औंल्याउँदै डा. यादव भन्छन्, ‘यस्तो अवस्थामा बिरामीलाई डायलासिस गराउनुपर्ने अवस्थासमेत आउन सक्छ ।’
यति मात्र नभएर कहिलेकाहीं रक्तचापमा कमी आएर मृत्युसमेत हुन सक्छ । राजधानीमा समेत ग्यास्ट्रोएन्टेराइटिसका बिरामीहरूमा पनि समयमै अस्पताल नपुगेपछि डायलासिस गराउनुपर्ने, रक्तचापको कमीले मृत्यु लगायत जटिल समस्या देखिने गरेको औंल्याउँदै यादव भन्छन्, ‘सहजै अनुमान गर्नुस्, दुर्गम क्षेत्रमा ग्यास्ट्रोएन्टेराइटिसले गर्दा कतिसम्म असहज स्थिति देखिने गरिएको होला ।’
चिकित्साकर्मीले ग्यास्ट्रोएन्टेराइटिसको प्रकार पत्ता लगाउन दिसा परीक्षण गर्छन् । यसको उपचार यो संक्रमण हुने कारणमा निर्भर गर्छ । तर यसको उपचार अन्तर्गत तरल पदार्थको अत्यधिक उपयोगसँगै ओरल रिहाइड्रेसन साल्ट
(ओआरएस) को सेवन गर्नुपर्ने डा. यादव बताउँछन् ।
ओआरएसलाई बोलचालको भाषामा जीवन–जलसमेत भनिन्छ । उपचार अन्तर्गत ओआरएसले बनाइएको पानी खुवाइन्छ, वान्तासमेत हुनेहरूमा नसाबाट माध्यमले पानी चढाइन्छ । यस्तै यसको स्वरूप हेरेर एन्टिबायोटिक आदि औषधिसमेत दिने गरिन्छ ।
ग्यास्ट्रोएन्टेराइटिसले पखाला हुन थाले सामान्यतस् चिकित्सकलाई जँचाउन जानुभन्दा अघिदेखि नै ओआरएस सेवन सुरु गर्दा बिरामीलाई फाइदा नै हुने गर्छ । यसले शरीरमा पानीको कमी भएर हुने मृत्यु लगायतका अन्य जटिल समस्या हुने जोखिम कम हुन्छ ।
कडा ग्यास्ट्रोएन्टेराइटिस प्राणघातक हुन्छ । कहिलेकाहीं सामान्य समस्या गराउने खालको यो संक्रमण आफैं निको हुनेसमेत हुन्छ । तर यो समस्या कडा रूपमा देखिए वा बूढापाका, मधुमेही, दीर्घरोगी, बालबालिकामा भए जोखिम नलिएर तुरुन्त अस्पताल पुग्नु नै उपयुक्त हुन्छ ।
संक्रमणको आशंका भए ः
 शरीरमा पानीको कमी हुन नदिन प्रशस्त तरल पदार्थ सेवन गर्नुस्
पेटलाई व्यवस्थित हुन दिन केही घन्टाका लागि खाना बन्द गर्नुस्
सजिलै पच्ने खाद्य पदार्थ सेवन गर्नुस्
दूध वा दुग्ध उत्पादन उपयोग नगर्नुस्
कफी, रक्सी, सुर्ती, बोसो भएका पच्न     गाह्रो हुने पदार्थ उपगोग नगर्नुस्
काँचो फल र सब्जी नखानुस्
पर्याप्त आराम गर्नुस्
चिकित्सककहाँ कतिखेर जाने ?
ज्वरो १०१ डिग्रीभन्दा बढी आए
उभिँदा बेहोसीजस्तै अनुभव भए
पेट एकदमै दुखे
मतिभ्रमको स्थिति देखिए
दुई दिनभन्दा बढी समय वान्ता भए
पखालामा रगत आए
बचाउ
 स्वच्छ खाना मात्र खानुस्
सडकछेउका असुरक्षित खाद्य पदार्थ नखानुस्
उमालेको, क्लोरिन वा आयोडिनले शुद्घ पारिएको पानी मात्र खानुस्
नियमित व्यायाम गर्नुस्
पोषक तत्त्व सेवन गर्नुस्
नियमित रुपमा साबुनपानीले हात        धुनुस्
लक्षण
पेट दुख्नु
दिसा पातलो हुनु
वाकवाकीरवान्ता हुनु
जीउ गल्नु
कमजोरी हुनु
रिँगटा लाग्नु








Post a Comment

 
Top