0
गोल्डेन न्यूज संवाददाता
नेकपा एमालेका आमन्त्रित  स्थायी कमिटी सदस्य तथा केन्द्रीय लेखा समिति सभापति डा. पुष्पराज कँडेलले एमालेको अबको बटमलाइन राजनीतिक र आर्थिक रुपले स्वतन्त्र र स्वाभिमान मुलुक भएको बताएका छन् । उनले सबै नेपाली नागरिकलाई एकतावद्ध बनाउँदै मुलुकलाई संवृद्धिको शक्तिशाली मुलुक बनाउन एमालेले रणनीति तयार गरिसकेको स्पष्ट पारे। उनले भने–‘एमालेले मुलुकको संवृद्धि झलझली देखेको उदाहरण केपी ओली नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटले स्पष्ट पारेको छ । एमाले निकट धादिङ–पोखरा सम्पर्क मञ्चले १५औं साधारण सभाको अवसरमा पोखरामा आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा नेता कंडेलले जसरी भएपनि स्थानीय निर्वाचन हुनुपर्नेमा जोड दिए । उनले भने–‘स्थानीय निकायको पुनर्संरचना अघि होस् या पछि, जसरी भएपनि स्थानीय निकायको निर्वाचन अपरिहार्य छ ।’ अन्य दलहरुलाई स्थानीय निकाय एमालेको हो भन्ने भ्रमका कारण स्थानीय निकायको निर्वाचन गराउन डराएको उनले बताए । उनले अबको डेढ वर्षमा मुलुकमा तीन वटै निर्वाचन हुनुपर्नेमा जोड दिए।
 
मधेशी दल स्थानीय निकाय निर्वाचन विरुद्ध रहेकाले केही समस्या पर्ने भएपनि संविधानले तोकेकै समयभित्रमा निर्वाचन गर्नुको कुनै विकल्प नरहेको उनको भनाई थियो । नेकपा एमालेलाई जनताले चिनिसकेको र सत्तामा रहँदा वा बाहिर रहँदा पनि जुनै निर्वाचनमा केहि फरक नपर्ने कँडेलले ठोकुवा गरे । एमाले पार्टीको हालै सम्पन्न स्थायी समितिको बैठकले पार्टीभित्रको गुटहरु अन्त्य गरेर अघि बढ्ने निर्णय गरेको बताए । धादिङ–पोखरा सम्पर्क मञ्चका निवर्तमान अध्यक्ष कृष्णबहादुर लम्सालले पार्टी भित्रको गुटगत राजनीतिले काम गर्न समस्या भएको प्रसङ्ग निकाले पछि नेता कंडेलले पार्टीका शीर्ष नेताहरुको गलत प्रवृत्तिले गुट–उपगुट हुने गरेको भन्दै अबका दिनमा गुट नहुने दावी गरे । पार्टीका मुख्य नेताले गुटको राजनीति नगर्ने प्रतिवद्धता जनाएकाले सोही अनुरुप तल्ला तहका कमिटीले काम गर्नुपर्नेमा जोड दिए ।  मञ्चका अध्यक्ष बेनी पाठकले मुलुकभरका एमाले एकै भएकाले जिल्लाबाट टाढा रहेर पनि पार्टी गतिविधिलाई सक्रिय पार्न, संगठन विस्तार गर्न २०५६ सालदेखि यसरी लागिपरेको जनाए । उनले गुट–उपगुटमा विभाजित नभई सिंगो पार्टी भनेर अघि बढ्न जिल्लाका सबै नेतालाई सुझाए । मञ्चका निवर्तमान अध्यक्ष तथा कार्यक्रम संयोजक कृष्णबहादुर लम्सालले जिल्लाका तत्कालिन ५० गाविस सबै समेटेर पोखरामा रहेका पार्टीप्रति आस्थावान कार्यकर्ता एकजुट भएर अघि बढेको बताए। मञ्चका अध्यक्ष पाठकको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष एवं अतिथि सत्का समितिका संयोजक अर्जुन खतिवडा र सञ्चालन सचिव गोकर्ण अधिकारीले गरेका थिए । यसैबीच मञ्चको शनिबार हुने १५औं साधारणसभा तथा धादिङ घर माईत भई पोखरा रहेका चेलीबेटी तीज विशेष कार्यक्रमको तयारी पूरा भएको छ । साधारणसभा तथा कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको प्रचार–प्रसार समितिका संयोजक योगप्रसाद सापकोटाले जानकारी दिए ।  साधारणसभामा सहभागी हुन धादिङका एमाले नेताहरु सांसद एवं पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे, पूर्वमन्त्री एवं पोलिटब्युरो सदस्य गंगालाल तुलाधार लगायतका नेताहरु पोखरा आउने भएको मञ्चले जनाएको छ । यस्तै नेता डा. पुष्पराज कंडेल, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली, एमाले धादिङ प्रचार–प्रसार विभागका सचिव एवं रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्मासमेत कार्यक्रमका लागि पोखरा आइसकेका छन् ।
 
मञ्च समस्यामा साधारणसभामा १÷२ जना मात्र जिल्लाका उच्च नेतालाई मात्र बोलाउने तयारी गरिरहँदा गुटको प्रभावका कारण धादिङका प्रमुख सबै नेतालाई कार्यक्रममा आमन्त्रण गर्न मञ्च बाध्य भएको बताइन्छ। साधारणसभामा डा.पुष्पराज कंडेललाई प्रमुख अतिथि बनाउने प्रचार–प्रसार गरिएपछि पूर्व मन्त्री समेत रहेका सांसद राजेन्द्र पाण्डेले कडा अपत्ति जनाएको बताइन्छ । पाण्डेले आपत्ति जनाएपछि कार्यक्रममा कंडेल र पाण्डे दुवैलाई विशेष अतिथि बनाउने तयारी गरिएको छ । दुवै नेतालाई विशेष अतिथि बनाउने तर प्रमुख अतिथि कसलाई बनाउने ? मञ्चका पदाधिकारी तनावमा परेका छन् । कंडेल र पाण्डे दुवै नेतालाई एकै हैसियतमा मञ्चमा स्थान दिए अर्का प्रभावशाली नेता गंगालाल तुलाधर असन्तुष्ट हुने डरले मञ्चका पदाधिकारी तनावमा परेका हुन् । प्रमुख अतिथि कसलाई बनाउने शनिबार बिहान तीन प्रमुख नेतासंग छलफल गरेर तय गरिने मञ्चका एक पदाधिकारीले जानकारी दिए । यसै विषयलाई लिएर नेता कंडेलले शुक्रबारको कार्यक्रममा गुट–उपगुट राजनीतिले पार्टीमा पारेको असर बारे जानकारी गराउँदै नेताले गलत काम गरे भनेर तल्ला तहका नेताले त्यस्ता गतिविधि नगर्न आग्रह गरेका थिए ।


Post a Comment

 
Top