0
गोल्डेन न्यूज संवाददाता
यस वर्षको तायामचा नृत्य प्रतियोगिताको उपाधि बगालेटोल तायामचा समितिले हात पारेको छ । नेवाः खलः कास्कीको आह्वान तथा जाल्पादेवी तायामचा समितीको आयोजनामा भएको प्रतियोगितामा बगालेटोलले प्रथम हुँदै रु. २५ हजार नगद, शिल्ड र प्रमाणपत्र हात पारेको छ । प्रतियोगितामा द्धितिय हुने तेर्सापट्टी तायामचा समितीले नगद रु.१५ हजार सहित शिल्ड प्रमाणपत्र प्राप्त गरे । यसैगरि तृतीय हुने रामकृष्ण टोल तायामचा समितीले नगद रु. १० हजार तथा सान्तन्वा स्थान हात पारेको भिमसेनटोल तायामचा समितिले रु. ५ हजार सहित शिल्ड प्रमाण पत्र प्राप्त गरेको आयोजक जाल्पादेबी तायामचा समितिका अध्यक्ष तथा कार्यक्रम संयोजक कृष्णमान ठुसाजुले बताए । प्रतियोगितामा २५ टोलीको सहभागिता रहेको थियो। प्रतियोगितामा उत्कृष्ट ख्याली, जोकर, बाद्यबादन तथा श्रृङ्गार र भेषभुषामा क्रमशः गौंडाकोमुख भद्रकाली, शिशुवा, भैरवटोल र मोहोरियाटोल तायामचा समितिको टोली उत्कृष्ट हुँदै पुरस्कार हात पारेका थिए । शनिबार राति ११ बजेसम्म चलेको प्रतियोगितामा बसन्त उदासको संयोजकत्वमा ३ सदस्यीय निर्णायक रहेका थिए । जसमा मेघबहादुर ताम्राकार र मंगलप्रसाद माकाजु सदस्य थिए । महोत्सवमा बिक्रम उदासले यमराजको प्रवचन, मिस नेवा पुचले कुमारी र चर्या नाच, बगालेटोलले लाखेनाच प्रर्दशन गरेको थियो । यसअघि कार्यक्रमको उद्घाटन गर्दै नेपाल सरकार गृह मन्त्रालयका सचिव नारायणगोपाल मलेगुले सबै जातजातीले आफ्नो पर्वलाई उत्सबका रुपमा मनाए मात्रै चाडपर्वको अस्तित्व रहिरहनुपर्नेमा  जोड दिए । उनले पोखरा प्राकृतिक रुपमा मात्रै सुन्दर नभई साँस्कृतिक रुपमा पनि उत्तिकै मनमोहक रहेकाले यहाँ मनाईने बिभिन्न जातजातीका संस्कृति पनि पर्यटकको आकर्षण हुनसक्ने बताए । समाजसेवी तथा नेपाली कांग्रेसका नेता शोभियत बहादुर अधिकारीले आफ्नो जातिको साँस्कृतिक गतिविधिमा आफै अग्रसर भएर लागे मात्रै नयाँ पुस्तामा संस्कृति हस्तान्तरणका लागि टेवा पुग्ने बताए । कार्यक्रममा स्वागत गर्दै नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले कास्कीका नेवार समुदाय आफ्नो भाषा, भेषभूषा, संस्कार र संस्कृति जगेर्ना गर्नका लागि जागरुक भएकोमा धन्यबाद दिए ।  उनले पुरातात्विक महत्वका यस्ता संस्कृतिहरु जगेर्नाका लागि राज्य पनि जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेवा मिसा पुच कास्की अध्यक्ष शान्ति उदास, स्थानीय समाजसेवी एवं मूल आयोजक समितिका सल्लाहकार बिरेन्द्र नारायण बिजुक्छे, पृथ्वीराजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐनकुमार साई लगायतले बोलेका थिए । महोत्सवमा नेवारी संस्कृति संरक्षणमा टेवा पुर्याए वापत संस्कृतिकर्मी मोतीबहादुर खिचाजु, एकनारायण खिचाजु र पूर्णकुमार बिजुक्छेलाई सम्मान गरिएको थियो । यसैगरि अक्षयकोष स्थापनाका लागि सहयोग पुर्याउने दाताहरु जमुना श्रेष्ठ, चम्पादेवी महर्जन र खिमकुमारी बराललाई पनि सो अवसरमा सम्मान गरिएको नेवा ल्याम्ह पुच सिमलचौरका अध्यक्ष राजिब खिचाजुले बताए । जाल्पादेवी तायामचा समितिका संयोजक कृष्णमान ठुसाजुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव बिश्व बिजुक्छेले गरेका थिए । नेवाः खलः कास्की संग आवद्ध टोल तथा कचाः खलले प्रत्यक वर्ष फरक फरक टोलमा तायमचा प्रतियोगिता आयोजना गर्दै आएको छ । आगामी बर्षको तायामचा प्रतियोगिता रामबजार तायामचा समितिले आयोजना गर्दैछ ।





Post a Comment

 
Top