0
गोल्डेन न्यूज संवाददाता
पोखरा उद्योग वाणिज्य संघको आगामी अधिवेशनका लागि अध्यक्षको आकांक्षी धेरै भएपछि मिलाउन पूर्व अध्यक्षहरुले गरेको प्रयास असफल भएको छ । भदौ ३१ र असोज १ गते हुने ३१ औं अधिवेशनको लागि अध्यक्षमा ६ जना आकांक्षीलाई मिलाउने प्रयास गरिएको हो । तर पूर्व अध्यक्षहरुको सामुहिक प्रयास विफल भएको स्रोतले बताएको छ ।  आईतबार विहान संघमै पूर्वअध्यक्षहरुले सबै आकांक्षीलाई बोलाएर अस्वस्थ प्रतिस्पर्धामा नउत्रन आग्रह गरेका थिए । तर सबै आकांक्षीले अडान कायमै राख्दा कोहि पनि पछि हट्ने अवस्था नदेखिएको एक पूर्व अध्यक्षले  बताए । पूर्ब अध्यक्षहरु आनन्दराज मुल्मी, राजेन्द्र कुमार लालचन, बसन्त उदास, सुरेश कुमार राजभण्डारी, संजीव कोइराला, वर्तमान अध्यक्ष विन्दुकुमार थापा लगायतको टोलीले आकांक्षीलाई मिलाउने प्रयास गरेका थिए । अध्यक्षका आकांक्षीहरु देव क्षेत्री, नारायण कोइराला, विश्वशंकर पालिखे, हिरा भट्टराई, ईश्वर कर्माचार्य र धनीराम बरालमध्ये कोहि पनि पछि हट्ने पक्षमा नदेखिएका हुन् । सबै उद्योग वाणिज्य संघको लागि चाहिने मान्छे हुन् तर कसैको पक्ष लिएर बोल्न मिलेन’, छलफलमा सहभागी एक पूर्व अध्यक्षले भने ‘सकेसम्म एकै ठाउँमा बसेर मिल्ने कोशिष गर्नुस् भनेका छौं ।’ निर्विरोध नभएपनि आकांक्षीको संख्या घटाउने प्रयास गरिएको उनले बताए । विधानतः सबै पदाधिकारीमा प्रत्यक्ष निर्वाचनको ब्यवस्था भएपछि मिलाउन पनि समस्या परेको उनको तर्क छ । आकांक्षीको संख्या बढी भएपछि अन्य पदका आकांक्षीलाई पनि अन्योलता देखिएको छ । प्यानलमा सामूहिक प्रतिस्पर्धा भन्दा पनि यो पटक व्यक्तिगत रुपमा चुनावी मैदानमा उत्रनेहरु धेरै छन् । अध्यक्षका ६ आकांक्षी मध्ये अहिलेसम्म कसैले पनि प्यानल बनाउन सकेका छैनन् । हिरा भट्टराई र धनीराम बरालले ब्यक्तिगत रुपमा पत्रकार सम्मेलन गरी औपचारिक उम्मेदवारी घोषणा गरिसकेका छन् । अन्य आकांक्षी प्यानल बनाउने प्रयासमा भएपनि सम्भावना निकै कम छ । देव क्षेत्री प्यानल सहित औपचारिक उम्मेदवारी घोषणा गर्ने मनस्थितिमा छन् । तर उनी तर्फका केहि ब्यक्तिहरु पछि हटेको र केहिले एउटै पदमा दावेदारी गरेपछि मिलाउन समस्या परेको छ । यसैबीच पोखराका कपडा व्यवसायीको प्रतिनिधित्व गर्दै पोखरा उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा प्रेम भुजेल र अनिल सिग्देलले उम्मेदवारी घोषणा गरेका छन् । पोखरामा रहेका कपडा व्यवसायीहरुको छाता संस्था कपडा व्यवसायी एशोसिएशनको आइतबार सम्पन्न कार्यसमिति बैठकले औपचारिक रुपमा भुजेल र सिग्देललाई कार्यसमिति सदस्य पदमा उठाउने निर्णय गरेको छ । संस्थाका अध्यक्ष यामनाथ तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । संस्थाद्वारा उम्मेदवार तय गरिएका भुजेल संस्थाका निवर्तमान अध्यक्ष एवं संस्थाद्वारा प्रकाशित व्यवसाय दर्पण पत्रिका प्रकाशन समितिका संयोजक हुन् भने सिग्देल वर्तमान कार्यसमितिका सदस्य हुन् ।

Post a Comment

 
Top