0
केही दिनअघि काभ्रेमा भएको वीभत्स सडक दुर्घटनाको खबर मानिसहरुको मनबाट विस्थापित नहुँदै नारायणगढ मुग्लिन सडक खण्डको कालिखोलामा गत शुक्रबार बिहान सबेरै अर्को वीभत्स सडक दुर्घटना हुन पुगेको छ। यस्तै आइतबार अर्घाखाँचीमा जीप दुर्घटना हुँदा ११ जनाको ज्यान गयो । यतिमात्र होइन मुलुकका विभिन्न स्थानमा दिनहुँ हुने साना ठूला सडक दुर्घटनाले मानवीय क्षति एवं भौतिक क्षति पुग्ने गरेका छन् । दुर्घटनामा मर्नेहरु मरेर जान्छन् तर घाइतेहरु जीवनभर मरेको जिन्दगी लिएर बस्नु पर्दाको पीडा कम दर्दनाक हुने गर्दैन । सडक दुर्घटनाको यो विषय सडकमा प्रवेश पाएको छ । यो विषयले यसअद्धि पनि संसदमा प्रवेश नपाएको होइन तर सडक दुर्घटना न्युनिकरणका लागि ठोस कदम अघि नबढाइँदा दुर्घटना न्युनिकरण हुन सकेको छैन ।
शुक्रबार गौरबाट पोखराको आउँदैै गरेको उक्त बस के कारणले दुर्घटना भएको हो भनेर एकीन नभएता पनि बसले सडकको छेउ च्यापेपछि असन्तुलित भई त्रिशूली नदीमा खसेको हुन सक्ने मोटामोटी अनुमान मात्र अहिले गरिएको छ । कारण जुनसुकै भएता पनि नारायणगढ–मुग्लिन सडक खण्डको यात्रा अहिले अत्यन्त जोखिमपूर्ण बनेको कुरामा भने कुनै शंका छैन । अहिले सो सडक खण्ड मर्मत सम्भार र विस्तार कार्य भइरहेको छ । तसर्थ पहिरो जाने र खाल्डाखुल्डी यो सडकको  यात्रा गर्दा ज्यानलाई हत्केलामै राख्नुपर्ने अहिलेको अवस्था छ । शुक्रबार बिहान सबेरै दुर्घटना भएको सो बसमा अधिकांश यात्रीहरु निदाएका थिए । तसर्थ धेरैले ज्यान जोगाउन नसक्नुमा यो पनि एक कारण बनेको छ । अन्य कारणहरुमा जीर्ण र खाल्डाखुल्डी सडक, अनुभवहीन चालक र यान्त्रिक गडबडीमध्ये जुनसुकै कारण पनि हुन सक्ने अनुमान अहिले गरिएको छ । बसमा सवार यात्रुमध्ये चारजना अझै बेपत्ता छन् भने १६ जना घाइतेको चितवनका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । पटक–पटक दोहरिइरहेको यो सडक खण्डका दुर्घटनाहरुले मित्रराष्ट्र चीन सरकारले चार दशक अघि उपहारस्वरुप बनाइदिएको यो सडक खण्ड गत केही वर्षदेखि ज्यानमारा सडकको रुपमा रुपान्तरित हुँदै जाँदा भने हामी सबैलाई गम्भीर रुपमा चिन्तित बनाएको छ । नेपालका सडकहरु आवश्यक मापदण्ड र भूबनोट अनुरुप निर्माण नगरी जथाभावी निर्माण गर्ने गरेको पाइएको छ । असंख्य घुम्ती र मोडहरु भएका यी सडकहरु सुरक्षित यात्राको प्रतीक बन्न नसक्नुमा लाइसेन्स किनेर गुरु बनेका अनुभवहीन अदक्ष चालकहरु पनि एक प्रमुख कारणको रुपमा रहेका छन् । त्यसबाहेक मापसे गरेर गाडी चलाउने र ओभरलोड यात्रु र सामान बोक्ने प्रवृत्ति पनि उत्तिकै मात्रामा जिम्मेवार रहेका छन् । भविष्यमा यो सडक खण्डको यात्रालाई सुरक्षित बनाउन हाल भइरहेको मर्मत र सडक विस्तारका कामहरुलाई दिगो र टिकाउ हुने खालको मापदण्डअनुरुप गुणस्तरयुक्त बनाउनु अति आवश्यक भइसकेको छ । रात्रिबसको यात्रामा चालक पनि निदाउन सक्ने सम्भावनाको कारण दिउँसोको तुलनानमा अझ बढी जोखिमपूर्ण हुने गरेको तथ्यसँग हामी विदितै छौँ । तसर्थ सकेसम्म उक्त सडकबाट यात्रा नगर्न र राति बस चढ्ने हाम्रो बानीलाई निरुत्साहित पार्नु पनि अहिले उत्तिकै जरुरी भएको छ ।








Post a Comment

 
Top