0
गोल्डेन न्यूज संवाददाता
अर्घाखाँचीको हंसपुर, रतनमारेमा आइतबार जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने छ जना घाइते छन् । सदरमुकाम सन्धिखर्कबाट प्यूठानको बाँधिकोट तर्फ जाँदै गरेको लु१ज ४८७८ नम्बरको जिप दुर्घटना हुँदा घटनास्थलमै नौ र उपचार गर्न सन्धिखर्क ल्याउँदै गर्दा बाटोमा दुई जनाको मृत्यु भएको हो । गुल्मी पुर्कोदह ८ का ५९ वर्षीय भेषबहादुर थापा, पुर्कोदह ४ का शिव कुँवर, प्यूठान भनभने १ का ५५ वर्षीय बुद्धिराम परियार, प्यूठान बाङगेमरोठ ८ का ६८ वर्षीय सोमासिंह रोकामगर, अर्घाखाँची हंसपुर ४ का ४५ वर्षीय रामबहादुर घर्तीमगर र रामु भनिने मीनबहादुर केसी, हंसपुर १ का ३६ वर्षीय देवबहादुर थापा, हंसपुर ५ का हुमबहादुर घम, सन्धिखर्क २ की सीता नेपाली, गाडी धनी किमडाँडाका नारायण राना र धारापानी ६ की ३६ वर्षीया कमला पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते चार जनाको सन्धिखर्कमा उपचार हुन नसकेपछि लुम्बिनी अञ्चल अस्पताल बुटवल लगिएको छ । दुई जनाको सन्धिखर्कमै उपचार भइरहेको छ । जिप सडकदेखि करिब सात सय मिटर तल झरेको थियो । उकालो चढदै गर्दा ब्रेक फेल भएर जिप दुर्घटना भएको प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले अनुमान गरे । घटनास्थल सदरमुकाम सन्धिखर्कदेखि ३० किलोमिटर पश्चिममा पर्छ । गाडी चालक उत्तम श्रीशलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना हुन लाग्दा उनी गाडीबाट हाम फालेर भागेका थिए । पहाडको बीचमा निर्मित सडक साँघुरो छ । जिप सडकबाट खसेको देखेकाले गाउँले लगत्तै उद्धारमा जुटेका थिए । हंसपुरका शिक्षक इन्द्र रेग्मीले जोखिमपूर्ण ठाउँ भएकाले शव निकाल्न र घाइतेको उद्धार गर्न कठिनाइ भएको बताए । ‘छाँगोसहितको भीरमा शव र घाइते अडकिएका थिए । केही गाडीभित्र थिए,’ उनले भने,–‘मानव साङलो बनाएपछि मात्र घाइतेको उद्धार गर्न र शव निकाल्न सम्भव भयो ।’ सन्धिखर्कबाट ग्रामीण क्षेत्रसँगै प्यूठान, गुल्मी, दाङ, बुटवल र कपिलवस्तुसम्मका लागि जिप चल्छ । बुटवल आउजाउ गर्ने सडकमा बस धेरै चल्छन् भने सदरमुकामबाट ग्रामीण भेगमा जिप बढी चल्छन् ।  यसैबीच, गृह मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै घाइतेको अवस्था खतरामुक्त रहेको जनाएको छ । प्रवक्ता यादव कोइरालाद्वारा जारी वक्तव्यमा घटनाका विषयमा छानबिन भइरहेको जनाइएको छ । यसैबीच अर्घाखाँची सदरमुकाम सन्धिखर्कबाट प्यूठानको वादीकोट जाँदै गरेको ग १ ज ४८७८ नम्बरको जिप दुर्घटनाप्रति नयाँ शक्ति पार्टीले दुःख व्यक्त गरेको छ । सो पार्टीका प्रवक्ता खिमलाल देवकोटा विज्ञप्ति जारी गरी दुर्घनामा परी ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जलि तथा तिनका परिवारजनप्रति समवेदना प्रकट गर्दै घाइतेहरुको तत्काल उद्धार तथा शीघ्र उपचारको माग गरेका छन् ।
 
यसैबीच लापर्वाही गरेर सवारी दुर्घटना गराएर कसैको मृत्यु भएमा चालकको लाइसेन्स खारेज हुने भएको छ । सार्वजनिक महत्वको प्रस्तावमाथि संसदमा भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले नियमावलीमा संशोधन भइसकेको बताए । उनले सवारी दर्घुटनामा कसैको मृत्यु भएमा वा लापर्वाही गरेको पाएमा चालकको सवारी चालक अनुमति पत्र नै खारेज गर्ने बताए । संसदको रोष्टममा उभिएर  मन्त्री लेखकले भने–‘यो कार्यान्वयन गर्न आश्वयक छ । ठीक ढंगले कार्यान्वयन गर्न सके सडक दुर्घटना न्यूनिकरण हुनसक्छ । मन्त्री लेखकले अस्थायी रुट परमिट दिने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिइएको बताए । कच्ची बाटोको रुट परमिट लिन विभाग र केन्द्रमा आउनु पर्ने व्यवस्था रहेको पाइएको भन्दै उनले अधिकार प्रत्यायोजन गरिएको बताए । यसले सिण्डिकेट अन्त्यमा सहयोग पुग्ने मन्त्री लेखकले दाबी गरे । रुट परमिट विना चलेको गाडी रोकिँदा यात्रुलाई केही समस्या देखिएको उनले बताए । सरकार सिण्डिकेट चाहन्छ कि व्यवथित यातायात व्यवस्था भन्ने सांसदहरुको प्रश्नमा मन्त्री लेखकले भने, ‘सरकार व्यवथित यातायात व्यवस्था चाहन्छ, यसका लागि सदनको साथ चाहिन्छ ।’



Post a Comment

 
Top