0
गोल्डेन न्यूज संवाददाता
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका एक प्रहरी जवानले मादक पदार्थ सेवन (मापसे) गरी चलाएको मोटरसाईकलले ठक्कर दिंदा मध्यराति एक जनाको ज्यान गएको छ । ट्राफिक प्रहरी जवान पूर्ण वहादुर दरैले अत्याधिक मादक पदार्थ सेवन गरी मोटरसाईकल चलाउने क्रममा ठक्कर दिंदा उनीसँगै मापसे गरी निस्किएका लेखनाथ ३ रिठ्ठेपानीका ३५ बर्षीय ज्ञान बहादुर पुनको ज्यान गएको हो । दुर्घटनामा दरै सहित लील वहादुर पुन घाईते भएका छन् ।
घटना विवरण अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालयको फाटमा काम गर्ने दरै र पुनको पुरानो चिनजान थियो । सोहि चिनजानको आधारमा शनिवार साझ एक दोहोरी साझमा सँगै बसेर मदिरा सेवन गरेका थिए । दुर्घटनामा घाईते लील वहादुर पुन र मृतक पुन सहित अर्का एक र ट्राफिक प्रहरी जवान दरै साझ चिप्लेढुङ्गा स्थित रेष्टुरेन्टमा सँगै बसेर मदिरा सेवन गरे । सोहि क्रममा ज्ञानवहादुरले आफ्नो जीनचाजका अन्य दुई ट्राफिक प्रहरी जवानलाई पनि वोलाए र तीन ट्राफिक जवान तथा अन्य तीन गरी ६ जना मिलेर राती १२ बजेसम्म बसे । रेष्टुरेन्ट बन्द भएपछि उनीहरुले तीन ट्राफिक प्रहरी जवानलाई पृथ्बीचोक स्थित जिल्ला ट्राफिक कार्यालयको गेटमा छोडे र लेखनाथ तर्फ लागे । ज्ञान वहादुर, लील बहादुर र अर्का एक युवक छुटेपछि कार्यालय भित्र छिरेका तीन प्रहरी मध्ये दरै पुन वाहिर निस्किए । स्रोतका अनुसार उनी सुत्ने कोठामा पुगे र जुत्ता खोलेर चप्पल लगाए अनि मोटरसाईकल लिएर लेखनाथतिरै हुईकिए ।
ज्ञानबहादुर र लीलबहादुर सवार ग११प ७३९३ नम्बरको पल्सर मोटरसाईकल र अर्का युवा सवार ग१०प ३२९१ नम्बरको बुलेट मोटरसाईकल लेखनाथको बुढिबजारमा रोकियो । उनीहरु मध्यराति त्यहि बाटोमै मोटरसाईकल रोकेर बसिरहेका थिए । पिसपोखरा अनलाइनका अनुसार एक्कासी दरैले अत्याधिक गतिमा कुदाएको लु १९ प ४९४१ नम्बरको मोटरसाईकल ज्ञान वहादुर सवार मोटरसाईकलमा गएर ठोक्कियो र उनको घटनास्थलमै ज्यान गयो । घाइतेका अनुसार रोकिएको मोटरसाईकल नजिक उभिएका पुनलाई दरैले चलाएको मोटरसाईकलले ठक्कर दिएको थियो । अत्याधिक मादक पदार्थ सेवन गरेका कारण उनले बेहोसीमै मोटरसाईकल हुँईक्याउदा सँगै खाएर छुटेका साथीको ज्यान गएको हो । घटनालगतै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याएपनि ज्ञान वहादुरको मृत्यु भैसकेको थियो । लील बहादुर र ट्राफिक प्रहरी जवान दरैको अबस्था भने सामान्य छ । यसैबीच दुर्घटनापछि आईतवार आक्रोसित मृतक तथा घाईतेका आफन्तले जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक घनश्याम अर्याललाई भेटेर दोषी प्रहरीमाथि हदैसम्मको कारवाहीको माग गरेका छन् ।
 
प्रहरी उपरिक्षक अर्यालले मध्य राती मदिरा सेवन गरी ज्यान लिने सम्मको दुर्घटना गराउने प्रहरी जवानमाथि कारवाही गर्ने प्रतिबद्धता जनाए । दोषीमाथि सवारी ज्यान अन्तर्गत मुद्धा चलाउने उनले बताएका छन् । प्रहरी जवान दरैको लापरवाहीको कारण दुर्घटना भएको स्विकादै उनले माताहातका प्रहरीलाई निगरानी गर्न ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक विश्वराज अधिकारीलाई कडा निर्देशन दिएका छन् ।‘कमाण्डरको कमजोरीको कारण पछिल्लो समय ट्राफिक प्रहरीमा पटक पटक विभिन्न घटना हुने गरेको छ’ उनले भने–‘दुर्घटनामा संलग्न जवानमाथि त हदैसम्मको कार्वाही हुन्छ नै कमाण्डर पनि कार्वाहीको भागिदार हुनेछ ।’ माताहातको फौजलाई नियन्त्रणमा राख्न नसक्नु कार्यालय प्रमुखको पनि कमजोरीको रुपमा उनले औल्याएका छन् । दरैको अहिले मनिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । यसअघि वडा प्रहरी कार्यालय शिशुवा र बगरमा रहेका उनी प्रहरी निरीक्षक विश्वराज अधिकारी प्रमुख भएर आएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयमा आएका थिए । प्रहरी जवान मोहन गिरीको स्थानमा उनले फाटमा काम गर्ने गरी दरैलाई खटाएका थिए । स्रोतका अनुसार दरैले ट्राफिकले समातेको स्कुटरको कागजपत्र चिट नकाटी फिर्ता गरिदिएपछि बेलुका पार्टी मनाउन भन्दै दोहोरी गएका थिए ।



Post a Comment

 
Top