0
गोल्डेन न्यूज संवाददाता
ट्रक ब्यवसायीहरुले यातायात ब्यवस्था ऐन संशोधन नभए निर्णायक आन्दोलनमा जाने चेतावनी दिएका छन् । उनीहरुले ऐन समय सापेक्ष नभएको भन्दै संसोधन वा ब्यवसायीको आन्दोलन मध्ये एक रोज्न सरकारी निकायलाई चुनौति दिए । गण्डकी ट्रक यातायात ब्यवसायी संघको ३९ औं साधारण सभा तथा १८औं अधिवेशनको सोमवार पोखरामा उद्घाटन गर्दै नेपाल ट्रक यातायात ब्यवसायी महासंघका अध्यक्ष अर्जुन रानाभाटले यातायात ऐन संसोधन नहुदा ब्यवसायी मर्कामा परिरहेको भन्दै संसोधनको लागि आग्रह गरे । ‘यातायात सम्बन्धि ऐन कानुनको संसोधन समय सापेक्ष हुनुपर्छ,’ उनले भने,‘शान्तिपूर्ण आन्दोलनले माग सुनुवाई नभए कठोर आन्दोलनमा जान्छौ ।’ विमा समस्या समाधानको साथै ट्राफिक जरिवाना रकममा भएको बृद्धि सम्बन्धि निर्णय पुनर्विचारका लागि सरकारलाई लिखित आग्रह गरिएको र सुनुवाई नभए अन्य ब्यवसायी संस्थासँगको साझेदारीमा देशब्यापी आन्दोलनमा होमिने उनले बताए ।
 
महासंघका महासचिव राजेन्द्र श्रेष्ठले यातायात ब्यवसायीको समस्या समाधानमा राजनीतिक दल र सरकार गम्भीर नदेखिएको आरोप लगाए । अस्पष्ट सरकारी नीतिको कारण यातायात क्षेत्र अस्तब्यस्त बनेको उनले ठहर छ । यातायात क्षेत्रलाई ब्यवस्थित र मर्या्दित बनाउन ब्यवसायीक एकतामा उनले जोड दिए । ढुवानी ब्यवसयाी महासंघका अध्यक्ष शान्त बहादुर बमजनले ट्रक ब्यवसायी महासंघसँगको सहकार्यमा जोड दिए । बिमा समितिका अध्यक्ष डा. फत्त बहादुर केसीले बिमा नीतिमा कुनै समस्या नरहेको तर पछिल्लो समय देखिएका समस्या समाधानको लागि पहल भैरहेको बताए । यातायात क्षेत्रमा देखिएका बिमा सम्बन्धि समस्या समाधानको लागि सहकार्य गर्न बिमा समिति तयार रहेको उनले बताए । गत साउन १ देखि लागू भएको नयाँ बिमा नीति समयानुकल रहेको उनको जिकिर छ । कास्की कांग्रेसका सहसचिव भरत बहादुर अधिकारी, एमाले कास्कीका सचिवालय सदस्य युवराज पौडेल र राप्रपा कास्कीका अध्यक्ष जेबी कुँवरले यातायात ब्यवसायीको समस्या समाधानमा दलहरु गम्भीर रहेको बताए ।  उनीहरुले यातायात क्षेत्र ब्यवस्थापनको लागि आ–आफ्नो दलको तर्फबाट भूमिका खेल्ने प्रतिबद्धता जनाए । गण्डकी धौलागिरी सार्वजनिक यातायात समन्वय समितिका अध्यक्ष बसन्त प्रधान, संघका संस्थापक अध्यक्ष तेज नारायण तिमल्सिना, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अनिल शाही नारायणी यातायात ब्यवसायी संघका बद्री प्रसाद चौलागाई, पश्चिमाञ्चल यातायात ब्यवसायी संघ वुटवलका लोकराज पोखरेल लगायतले साधारणसभा तथा अधिवेशनको सफलताको शुभकामना ब्यक्त गरेका थिए । मजदुर नेताहरु बिष्णु खत्री, जित बहादुर गुरुङ तथा यातायात कर्मचारी संघका अध्यक्ष सञ्जिब बाबु काफ्लेले मजदुर र कर्मचारीको सेवा सुविधामा ध्यान दिन ब्यवसायीलाई आग्रह गरे । संघको १८औं अधिवेशन अन्तर्गत आज मंगलबार नयाँ नेतृत्व चयन हुने महासचिव कृष्ण प्रसाद कोईरालाले जानकारी दिए । संघमा विभिन्न प्रकृतिका झण्डै एक हजार गाडीहरु आबद्ध छन् ।




Post a Comment

 
Top