0
गोल्डेन न्यूज संवाददाता
 पोखराको मुख्य पर्यटकीय स्थल फेवा किनारलाई नेपाल एसविआई बैंकले सौन्दर्यकरण गर्ने भएको छ । फेवाको सबैभन्दा बढी ब्यस्त बाराही घाटदेखि सय मिटर सम्म बैंकले सौन्दर्यकरणको जिम्मा लिन लागेको हो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फेवातालको संरक्षण र सौदर्यकरणमा लगानी गर्न लागेको बैंकका चिफ अपरेटिङ अफिसर भि के त्यागीले जानकारी दिए । बैंकले तीन चरणमा ताल किनारको एकसय मिटर क्षेत्रको सौन्दर्यकरण को काम सम्पन्न गर्ने योजना बनाएको छ । पहिलो चरणमा फेवा किनारको ब्यवस्थापन, सौन्दर्यकरण, सरसफाई लगायतका काम हुनेछन् । जस अन्तर्गत ताल किनारमा बोटबिरुवा रोप्नुको साथै प्रत्येक २० फिटको फरकमा १५ वटा बस्ने स्थानको ब्यवस्था गरिनेछ । त्यस्तै दोस्रो चरणमा ब्यवस्थित सार्वजनिक शौचालय निर्माण, पिउने पानीको ब्यवस्था सहित बैंकिङ टर्मिनल समेत निर्माण गरिने बताईएको छ । ताल छेउमा कुनैपनि स्थायी भौतिक संरचना निर्माण नगरिने र नियमित सरसफाईको ब्यवस्था बैंकलेनै गर्ने बैंकका चिफ म्यानेजर रमेश घिमिरेले बताए । तेस्रो चरणमा आकर्षक वाटर फाउण्टेन निर्माण गर्नुको साथै हाल कायम रहेको लेक भ्यू रेश्कु टावर र वरपरको क्षेत्रको सौन्दर्यकरण गर्ने बैंकले जनाएको छ । दुई महिना भित्र पहिलो चरणको काम सम्पन्न गर्ने र सम्पूर्ण काम आगामी ६ महिना भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । फेवा किनार सौन्दर्यकरण र ब्यवस्थापनको लागि झण्डै ८० लाख रुपैयाँ खर्चिन लागेको घिमिरेले बताए । ताल किनारमा आकर्षक बगैचा निर्माण भएपछि त्यसको नियमित रेखदेखको कर्मचारी खटाउने र तलबको ब्यवस्था बैंकलेनै गर्ने जनाईएको छ । बैंकले यसअघि आनन्द पोखरेल पर्यटन मन्त्री भएका बेला फेवा किनारको सौन्दर्यकरणका लागि प्रस्ताव पेश गरेको थियो । सो प्रस्ताब मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भई नगरपालिकालाई आबश्यक सहयोगको लागि निर्देशन समेत आईसकेको छ । बैंकले जिम्मा लिन लागेको सो क्षेत्रमा यसअघिनै ब्यवस्थित फुट ट्र्याक निर्माण भैसकेको छ भने दुबैतिर गेटको समेत ब्यवस्था गरिएको छ । त्यस्तै रातको समयको लागि सोलार बत्ती समेत जडान भैसकेको छ ।

Post a Comment

 
Top