0
गोल्डेन न्यूज संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीले सचिव र सचिवले मन्त्री छान्ने परिपाटी रोक्ने दृढता व्यक्त गरेका छन् । सचिवहरुलाई ३ दिनभित्र परिणाममुखी खाका पेस गर्न आइतबार निर्देशन दिँदै उनले मन्त्रीले सचिव र सचिवले मन्त्री छान्ने प्रवृति आफूले रोक्ने प्रष्ट पारेका हुन् । उनले परिणाम दिने सचिवलाई पुरस्कार दिन र गलत गर्नेलाई कारवाही गर्न आफू पछि नपर्ने समेत बताए । आफू नेतृत्वको सरकारको संविधान कार्यान्वयन, शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउने लगायत ५ वटा प्राथमिकता राख्दै उनले त्यसलाई ‘बुझेर सकरात्मक परिणाम निकाल्न’ समेत सचिवहरु लाई आग्रह गरेका थिए । ‘मन्त्री र सचिव मिलेपछि सबै हुन्छ भन्ने नठान्नुस्, मन्त्रीले सचिव र सचिवले मन्त्री छान्ने गलत काम गर्न म दिने छैन,’ दाहालले २८ बुदे निर्देशन दिने क्रममा भने ।
‘कर्मचारीलाई दण्ड र पुरस्कार कसरी गर्ने तपाईहरुलाई नै थाहा छ । त्यसको फैसला गर्नुस् । त्रुटी पत्ता लगाएर उपचार गर्नुस्,’ प्रधानमन्त्री कार्यालयमा मुख्य सचिव र सबै सचिवहरुलाई सामुन्ने राखेर दाहालले भने,–‘विगतका गल्तीबाट सबैले पाठ सिकौं । दाहालले भने,–‘विगतमा हामीबाट पनि गल्ती भयो होला, प्रधानमन्त्रीको हैसियतले म आफू पनि त्यो नदोहोर्रुयाउन सजग हुन्छु । मन्त्रीहरुलाई पनि सचेत गराउँछु ।सचिवहरुले पनि यसलाई बुझिदिनुप¥र्यो ।’
उनले छोटो समयमा परिणाम निकाल्न निर्मम हुन सचिवहरुलाई आग्रह समेत गरे । ‘समय थोरै छ, चुनौतिपूर्ण समय छ, काम धेरै छन्,’ सचिवहरुलाई सम्बोधन गर्दै उनले भने, ‘मन्त्रालयको प्राथमिकता र कार्ययोजना तोकेर तीन दिनभित्र मूख्य सचिवमार्फत् मलाई ठोस योजना दिनुस् ।’ उनले योजनाको कार्यान्वयन आफूले ग्राफमा हेर्न पाउनुपर्ने बताएका थिए । आ–आफ्नो मन्त्रालयले समयमै परिणाम दिनुपर्ने बताउँदै उनले भने, ‘त्यसका लागि सम्पूर्ण रुपले सहयोग गर्न म तयार छु । परिणाम आएन भने म गम्भीर हुनेछु । सचिवहरुलाई प्रधानमन्त्री दाहालले सधै गोष्ठी, भेला, सेमिनारमा मात्र अल्झने नभइ विकासका संरचना समयमै र गुणस्तरीय ढंगले अघि बढाउन निर्देशन दिए । ‘सेवा छिटो प्रवाह होस् । विकासका लागि पूँजीगत खर्च नहुनु हाम्रा लागि लज्जाजनक छ । पैसा भएर पनि खर्च नहुने स्थितिको अन्त्य होस्,’ उनले भने, ‘योपटक पूंजीगत खर्च बढी गर्न योजना कार्यक्रमतिर बढी ध्यान केन्द्रित गर्नुहोला । दाहालले विदेश जान, कुरा गर्न, शहर बजारमा बस्न र गोष्ठी गर्न रुचाउने तर ठोस काम गर्न नरुचाउने विकराल समस्या कर्मचारीतन्त्रमा रहेको औंल्याएका थिए । ‘यसलाई सच्चाएर जाऔं । आयोजनाहरु समयमै सम्पन्न गर्नैपर्छ । अत्यावश्यक बाहेक विदेश भ्रमण, गोष्ठी, भेलामा नभूलौं’ उनको निर्देशनमा छ । ४० लाख युवालाई मुलुकमा रोजगार दिन नसकिएको भन्दै बिमानस्थल, अध्यागमन, भन्सार र राहदानी वितरणमा सास्ती रोक्नुपर्ने पनि उनले बताए । राष्ट्रिय गौरव र प्राथमिकता प्रभावकारी नभएकोमा प्रधानमन्त्री दाहालले गुनासो गरेका थिए । ‘योजनालाई नामले होइन, कामले गौरवका आयोजना बनाएर जानुपर्छ,’ उनले भने । लोडसेडिङ अन्त्यको घोषणा गरे पनि सुखद् परिणाम नआएको उल्लेख गर्दै भने, ‘यसमा गुणात्मक परिवर्तन गर्न नसके पनि गुणात्मक सुधार गर्न सकिन्छ र सक्नुपर्छ ।’कर्मचारीको कार्यसम्पादनमा करार प्रणालीमा जान सकिने विकल्प राख्दै केही समयमा ठोस परिणाम आएन भने सरकार कठोर भएर अगाडि बढ्ने चेतावनी समेत दिएका थिए । प्रधानमन्त्रीसँगै उपप्रधान एवं अर्थ मन्त्री कृष्णबहादुर महराले विकास खर्च बढाउन सबै मन्त्रालय र सचिवहरु केन्द्रित हुनुपर्ने बताएका थिए । ‘हामीसँग पैसा छ । तर खर्च भएको छैन । यो विडम्बनापूर्ण अवस्थाबाट मुक्त हुनुपर्छ’ उनले भने । मुख्य सचिव सोमलाल सुवेदीले सरकारका कामको प्रगति र समस्या राख्दै निर्देशनलाई कार्यान्वयनमा लैजाने दृढता राखेका थिए ।


Post a Comment

 
Top