0
गोल्डेन न्यूज संवाददाता
नवआदर्श सामुदायिक विकास समाजले हरितालिका तीज महोत्सव–२०७३ एवं राष्ट्रिय महिला भलिबल प्रतियोगिता गर्ने भएको छ । नेपाली कला, संस्कृतिको संरक्षण तथा प्रबद्र्धन गर्ने उद्देश्यले संस्थाको २०औं वार्षिकोत्सव अवसर पारी तीज महोत्सव हुने भएको हो । स्थानीय इन्द्रराज्य लक्ष्मी उच्चमाविको प्राङ्गणमा तीन दिनसम्म चल्ने महोत्सवलाई सफल पार्न लामाचौरबासी लागिपरेका छन् । महोत्सवको प्रमुख आकर्षण पाँचौ संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा यसटक ६ टीमले भाग लिने सोमबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष धर्ममानसिंह भण्डारीले जानकारी दिए । भदौ १७ देखि १९ गतेसम्म चल्ने प्रतियोगिता विजेताले ७५ हजार र उपविजेताले ५० हजार रुपैयाँ साथमा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछ । तेस्रोले २० हजार र सान्त्वनालाई १५ हजार दिइनेछ । विधागतरुपमा वेष्ट प्लेयर, क्वीकर, लिब्रो, स्पाइकर, ब्लकर, सर्भर, डिफेन्डर र कोचलाई उपाधि दिइनेछ । त्यस्तै, अन्तरमावि छात्रा भलिबलमा विजेताले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ पाउने संस्थाले जनाएको छ । अन्तर महिला तीज गीत प्रतियोगितामा विजेताले १५ हजार, दोस्रोले १० हजार, तेस्रोले पाँच हजार पाउनेछ । सान्त्वनामा विविध विधामा ५ हजार दिइनेछ । अन्तरविद्यालय लोकनृत्यतर्फ  प्रथम, दोस्रो, तेस्रोले क्रमशः १५, १० र ७ हजार रुपैयाँ पुरस्कार पाउनेछ । महोत्सवमा महिला म्युजिकल चियर श्रष्टा सम्मान जिल्लास्तरिय नरबहादुर बानियाँ स्मृति कप सितेरियो कराँते र नवआदर्श सामाजिक उद्यमी राष्ट्रिय पुरस्कार लगायतका दर्जनौ कार्यक्रम रहेको प्रचार संयोजक अर्जुन अधिकारीले जानकार दिए । कार्यक्रममा कोमल ओली, पशुपति शर्मा, चोलेन्द्र पौडेल, प्रकाश सपुत, राजु ढकाललगायत कलाकारको समेत प्रस्तुति रहनेछ । कैलास विकास बैंकको मुख्य प्रायोजनमा हुने महोत्सवमा करिब २५ लाख खर्च लाग्ने र ३० लाख संकलन गर्ने आयोजकको लक्ष्य लिएको अर्थ संयोजक बमबहादुर गुरुङले बताए ।  साँस्कृतिक तथा विविध विधा तथा खेलकुदमा गरी १ हजार जना प्रतिष्पर्धी र करिब १ लाख दर्शकको सहभागिता रहने जनाइएको छ । महोत्सव उद्घाटन राखेप सदस्य सचिव केशवकुमार विष्टले गर्नेछन् । संस्थाका अध्यक्ष धर्ममानसिंह भण्डारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा स्वागत संस्थाका पूर्वअध्यक्ष सञ्जयकुमार अधिकारीले र सचिव लक्ष्मी पाण्डेले गरेका थिए । प्रेस विज्ञप्ति वाचन प्रचार संयोजक अर्जुन अधिकारीले गरेका थिए ।










Post a Comment

 
Top