0
गोल्डेन न्यूज संवाददाता
पोखराबाट प्रकाशन हुने फेवा पोष्ट साप्ताहिकको दशौं वार्षिक उत्सवका अवसरमा सोमबार पोखरामा आयोजित लोकतन्त्र र मोफसलको पत्रकारिता विषयक अन्तरक्रियामा पत्रकारिताको समग्र विकासका लागि समयको मागलाई आत्मसात गरी अघि बढ्नुपर्नेमा जोड दिइएको छ । व्यवस्थापिका संसद विकास समितिका सभापति रविन्द्र अधिकारीले देश संघीयतामा गइसकेकका कारण अब मोफसलको मानसिकता त्याग्दै परिवर्तित समयको भावना बुझेर अघि बढ्नुपर्ने बताए । गुणस्तरीयता अभिबृद्धि बर्तमानको आवश्यकता भएको उल्लेख गर्दै उहाँले राष्ट्रिय समाचार समिति जस्ता सरकारी समाचार माध्यमले समय सापेक्ष गुणस्तरीयता बढाउँदै आफ्नो औचित्य पुष्टि गर्न सक्नुपर्ने उल्लेख गरे । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले मोफसल भन्ने मनोभावनाबाट ग्रसित नभै समयानुकुल रुपमा पत्रकारिता जगत परिमार्जित हुनुपर्ने बताए। लोकतन्त्र र मोफसलको पत्रकारिता विषयमा कार्यपत्र प्रस्तुत गर्दै प्रेश स्वतन्त्रता सेनानी एवम् नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष बद्रीविनोद प्रतिकले पत्रकारिताको समग्र विकासका लागि समयको मागलाई आत्मसात गरी अघि बढ्नुको विकल्प नभएको बताए । उनले मोफसलको पत्रकारिता अवसर र चुनौतीको दोसाँधमा रहेको चर्चा गर्दै पत्रकारिताको विकासका लागि राज्य, नागरिक समाज एवम् सम्बद्ध सबै पक्षको भूमिका महत्वपूर्ण हुने बताए । कार्यपत्र माथि टिप्पणी गर्दै राष्ट्रिय समाचार समितिका सञ्चालक सदस्य एवम् नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष गंगाधर पराजुलीले पछिल्ला समयमा मोफसलको पत्रकारिता विशिष्टीकरण तर्फ उन्मुख बनेको बताए । गोल्डेन न्यूज दैनिकका प्रधान सम्पादक समेत रहेका उनले परिवर्तित समयको मागलाई आत्मसात गर्दै अघि बढेमा मोफसलको पत्रकारिता पीडादायक नभएर आशा लाग्दो व्यवसायका रुपमा स्थापित बन्न सक्ने विश्वास व्यक्त गरे । प्रेस स्वतन्त्रता सेनानी एवम् नेपाल पत्रकार महासंघ कास्कीका पूर्व सभापति कुशुमकेशव पराजुलीले परम्परागत सोचबाट अबको पत्रकारिता अघि बढ्न नसक्ने भन्दै प्रत्येक सञ्चार माध्यम र त्यहाँ काम गर्ने सञ्चारकर्मीले समयानुकुल रुपमा आँफूलाई बदल्नुपर्ने बताए । फेवा पोष्ट साप्ताहिकका सम्पादक एवम् प्रकाशक नवराज सुवेदीले पत्रिकाले विभन्न आरोह अवरोहका साथ दशौं वार्षिक उत्सवका अवसरमा आइपुगेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली,  नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेल, नेपाल पर्यटन बोर्डका पूर्व सदस्य वासु त्रिपाठी, फेवा पोष्टका सहायक सम्पादक श्रीराम सिग्देल, रुद्रबहादुर थापा लगायतले मोफसलको पत्रकारिता विकासका लागि परिवर्तित समयका अपेक्षालाई विर्सन नहुने बताएका थिए ।

Post a Comment

 
Top