0
गोल्डेन न्यूज संवाददाता
नेपाल–भारत मैत्री संघ, कास्की शाखाले मित्र राष्ट्र भारतको स्वतन्त्रता दिवसका अवसरमा ज्येष्ठ नागरिकहरुलाई फलफूल वितरण गरेको छ । पोखरा वृद्धाश्रममा आयोजित एक कार्यक्रमका वीच भारतको ७०औं स्वतन्त्रता दिवसका अवसरमा फलफूल वितरण गरिएको हो । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं स्वतन्त्र पत्रकार संघ, नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले मित्र राष्ट्र भारत २०० बर्षसम्म बेलायतको अधिनमा बस्नुपर्दाको पीडा असैह्य भएको उल्लेख गरे । नेपाल सधैं स्वतन्त्र र सार्वभौम भएकाले स्वतन्त्रता दिवसका बारेमा त्यति ध्यान नदिइएको भन्दै भारतका लागि महत्वपूर्ण दिन रहेको उनको भनाई थियो । कार्यक्रममा बोल्दै पोखरा वृद्धाश्रमका अध्यक्ष बसन्तकेशव पराजुलीले वस्तु वा सेवा भन्दा पनि वृद्धाश्रममा पुग्न श्रद्धाभाव जाग्नु नै महत्वपूर्ण भएको उल्लेख गरे । उनले असहाय एवं वेवारिसे ज्येष्ठ नागरिकहरुलाई सेवा एवं संरक्षण गर्ने कार्य सजिलो नभएपनि आम पोखरेलीको माया ममताले त्यो सम्भव भएको बताए । नेपाल भारत मैत्री संघका अध्यक्ष ऋषिराम सापकोटाले मित्र राष्ट्र भारतको स्वतन्त्रता दिवसका अवसरमा फलफूल वितरण गर्न पाउँदा खुशी व्यक्त गरे । उनले आगामी दिनमा पनि वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरुलाई सक्दो सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । नेपाल सरकारद्वारा पश्चिमाञ्चल क्षेत्रकै नमुना वृद्धाश्रमका रुपमा प्रस्तावित पोखरा वृद्धाश्रममा असहाय एवं वेवारिसे तथा घरपरिवारमा सेवा संरक्षणको अवसरमा नपाएका ज्येष्ठ नागरिक सहित ६२ जनाले आश्रय लिइरहेका छन् ।  यसैगरी सूर्य लाइफ इन्सोरेन्स कम्पनीको व्यापार पर्वद्धन–२०७३ बैठक पोखरामा सम्पन्न भएको छ । बैठकका क्रममा आइतबार पोखरा वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरुलाई कम्पनीका तर्फबाट फलफूल वितरण गरिएको छ । सो अवसरमा बोल्दै सूर्य लाइफ इन्सोरेन्स कम्पनीका कार्यकारी प्रमुख राकेश पोखरेलले फलफूल वितरण आफूहरुको शुरुवाती कार्यक्रम भएको र आगामि दिनमा सामाजिक सेवा अन्तर्गत थप सहयोग गर्दै जाने बताए । कार्यक्रममा बोल्दै पोखरा वृद्धाश्रमका अध्यक्ष बसन्तकेशव पराजुलीले सहयोगका लागि प्रदान गरिने बस्तु भन्दा पनि सहयोगी भावना ठूलो रहेको बताए । कम्पनीका पोखरा शाखा प्रमुख मीनबहादुर जिसीले हरेक वर्ष कम्पनीका तर्फबाट वृद्धाश्रममा कार्यक्रम लैजाने बताए । सूर्य लाइफ इन्सोरेन्स कम्पनीका देशभर ६७ वटा शाखा रहेका छन् । यसैबीच न्यू ग्यालेक्सी इंग्लिस हाइएर सेकेण्डरी स्कूलमा कक्षा १ देखि ४ सम्मका विद्यार्थीहरुले पनि पोखरा वृद्धाश्रमको अवलोकन भ्रमण गरेका छन् ।





Post a Comment

 
Top