0
साविकको कृष्ती गाविस र हाल पोखरा उपमहानगरपालिका वडानम्बर २४ का बेदनाथ आचार्य ७९ बर्ष पुगे । कृष्ती (पोखरा २४) र पोखरा १७ वारीपारी दुबैतिर घर भएका उनी फुस्रे खोला तरेर आवतजावत गर्नुपर्छ । यसअघि महिनामा एक पटक आवतजावत गर्ने उनी अहिले दैनिकजसो वारीपारी गरिहन्छन् । उनको लागि एक घण्टा लाग्ने बाटो अहिले २० मिनेटमा छोटिएको छ । फुस्रे खोलामाथि सिधा झोलुङ्गे पुल बनेपछि उनी सहित अन्य बृद्धबृद्धा, वालवालिका तथा सर्वसाधारणलाई आवतजावतमा सहज भएको छ । पोखरा उपमहानगरपालिका वडा नं २४ कृष्तीनाच्नेचौरको दम्सादीबाट वडा नं १७ स्थित पहलतरा जोड्ने गरी फुस्रे खोलामा माथि झोलुङ्गे पुल निर्माण भएकाले दुई वडावासीलाई आवतजावतमा सहजता भएको हो । यसअघि फेवा पावरहाउसको उकालो ओरालो गर्न बृद्धबृद्धालाई निकै कठिन थियो । यातायातको सहज सुविधा नभएको कृष्तीदेखि पोखरा सम्म आउन पहिलेको बाटो निकै कठिन थियो ।
‘ पहिले उकालो ओरालो साह्रै गाह्रो हुन्थ्यो । अफ्ठ्यारो थियो कहिलेकाही मात्र आवत–जावत गरिन्थ्यो, पुल बनेपछि सजिलो भएको छ’, उनले भने–‘अहिले आवतजावत पनि बढी गर्छु । बाटो सिधा छ । सजिलो छ ।’ आचार्य जस्ता धेरै बृद्धबृद्धा अहिले यहि झोलुङ्गे पुल भएर सहज आवत–जावत गर्छन् । कृष्तीदेखि खोला तरेर पढ्न आउनेहरुलाई पनि यो पुलले निकै सहज बनाएको छ । पोखरा २३ निर्मलपोखरीकी गंगा आचार्य यहि झोलुङ्गे पुल तरेर दैनिक आउजाउ गर्छिन् ।
हाल पोखराको ला–ग्राण्डी इन्टरनेशनल कलेजमा अध्ययनरत उनी यसअघि दैनिक उकालो ओरालो गर्दै कठिन यात्राको साथ अध्ययनको लागि आवत–जावत गर्नुपथ्र्यो । ‘विहानै क्याम्पस पढ्न जानुपर्ने बाटो डरलाग्दो पनि थियो अनि गाह्रो पनि, तर अहिले आनन्द भएको छ’–उनले भनिन् । ‘पहिले पावरहाउको बाटो सिढी उकालो ओरालो गर्नुपथ्र्यो । अहिले सिधा बाटो छ । सजिलो छ र सुरक्षित पनि छ,’ उनले भनिन्–‘पहिले विहानै क्याम्पस जानु पथ्र्यो । जंगलपनि भएको पुरानो बाटो अलि डरलाग्दो थियो । अहिले विना डर हिड्न सकिन्छ ।’ पहिले वारपारका लागि सामान्य काठेपुललाई प्रयोग गर्दै आएका कृष्ती र निर्मलपोखरीवासी एक बर्षअघि झोलुङ्गे पुल बनेपछि केहि सहज रुपमा आवत–जावत गर्न पाएका थिए । तर उकालो ओरालो गर्नुपर्दा बृद्धबृद्धा र वालवालिकाको साथै असक्तहरुले निकै कष्ट झेल्नुपरेको थियो ।
‘हामी यो भन्दा पहिले फेवा पावर हाउसको उकालो ओरालो बाटो हिड्थ्यौ कृष्तीका तोयानाथ आचार्यले भने–‘अहिले सिधा झोलुङ्गे पुल बनेपछि त गज्जव भएको छ ।’ उनका अनुसार बर्षौदेखि काठेपुलबाट आवतजावत गर्दै आएकाहरु पछिल्लो समय बनेको झोलुङ्गे पुल तरेर आवत–जावत गर्थे । जिविसबाट डेढ करोड लागतमा बनेको पुलबाट एक बर्ष सुविधाजनक रुपमा हिडेपछि अर्को सुविधायुक्त पुल निर्माण भएको हो । काठेपुलको यात्रामा फुस्रे खोलाले झण्डै २० जनालाई बगाएको उनले स्मरण गरे ।
कृष्तीवासीले २०६६ सालदेखि माग गरेको पुल एक महिनाअघि निर्माण सम्पन्न भएको हो । ‘यो पुल बनेपछि ९०÷९२ बर्षका बृद्धबृद्धा वारपार गर्छन्, पुल निर्माण समितिमा उपाध्यक्ष समेत रहेका उनले भने–‘नर्सरीदेखि कलेज बढ्ने विद्यार्थीहरुलाई पनि आवत–जावतमा सजिलो भएको छ ।’
पुरानो बाटो भन्दा यो पुलको बाटो १५ मिनेट छिटो हुन्छ । त्यो भन्दा पनि सुविधाको हिसावले जतिबेला पनि विना डर आवतजावत गर्न सकिने स्थानियले बताए । फुस्रे खोलामाथिको यो पुलको लम्बवाई दुई सय ७६ मिटर छ । यो कास्कीकै सवैभन्दा लामो झोलुङ्गे पुल हो । पुल खोलाबाट ६५ मिटर अग्लो छ ।
सस्पेन्सन ब्रीज डिभिजन कार्यालयद्वारा एक करोड २२ लाख ५० हजार रुपैयाको लागतमा निर्माण पुल निर्माण गरिएको हो । गएको पुस २३ गते संसदको विकास समिति सभापति रविन्द्र अधिकारीले पुल निर्माण कार्यको शिलान्यास गरेका थिए । पुल असार अन्तिम साता निर्माण सम्पन्न भएको हो । कास्कीकै लामो झोलुङ्गे पुल बनेपछि पोखरा सहित वाहिरबाट घुम्न आएकाहरुलाई दृष्याबलोकन का लागि आकर्षक गन्तब्य बन्न थालेको छ । दैनिक पुल हेर्नको लागि सयौ मानिसहरु जाने गरेका छन् । पुल छेउमा ब्यापार गर्ने पोखरा १७ की सीता परियारका अनुसार पर्यटकीय गन्तब्यको रुपमा यो पुल चिनिन थालेको छ । दुई बर्ष देखि सो स्थानमा बसिरहेकी उनले भनिन्–‘पहिले बाहिरी मान्छेको अनुहार हेर्न पावरहाउस वा विरौटा पुग्न पथ्र्यो । अहिले पुल बनेपछि यहि धेरै मान्छे आउछन् । कहिलेकाही त जात्रा लागेजस्तो हुन्छ । हामीलाई पनि रमाइलो लाग्छ ।’
पुलको अभावमा वर्षौंदेखि लगभग डेढ घण्टा पैदल हिड्न बाध्य कृष्तिनाच्ने चौर, निर्मलपोखरी लगायतका स्थानीयवासी सिधा झोलुङ्गे पुल निर्माण सम्पन्न भएपछि भने १० मिनेटमा आवतजावत गर्न सक्ने भएका छन् । प्रचुर पर्यटकीय सम्भावना बोकेको कास्कीको निर्मलपोखरी, स्याङ्जाको पौवै गौंडे, टक्सार, फेदीखोला लगायतका स्थानका सर्वसाधारणका लागि पनि पुल अत्यन्त उपयोगी हुने अपेक्षा गरिएको छ ।
गोकुल बानियाँ÷पिसपोखरा डटकम






Post a Comment

 
Top