0
गोल्डेन न्यूज संवाददाता
नारायणगढ–मुग्लिङ सडक खण्डमा शुक्रबार बिहान त्रिशूलीमा ट्रक खस्दा ७ यात्रु घाइते भएका छन् । वीरगन्जबाट बालुवा बोकेर मुग्लिङतर्फ जाँदै गरेको ना३ख ४५५६ नम्बरको ट्रक जलवीरे नजिकै त्रिशूलीमा खसेको हो । घाइतेमध्ये चालक चितवनको चित्रवन नगरपालिका–७ का प्रकाश विक, माडी नगरपालिकाकी कविता चौधरी र जोता शर्माको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय मिलेर उद्धार गरेका थिए । बिहान ७ बजेतिर ट्रक दुर्घटना भएको हो । सोही क्षेत्रमा शुक्रबार बिहानमात्रै यात्रुवाहक बस खस्दा २२ जनाको मृत्यु भएको थियो ।
त्रिशुलीमा बेपत्ता फेला परेनन् नारायणगढ–मुग्लिन सडक खण्डको चण्डिभन्ज्याङमा शुक्रबार बिहान भएको बस दुर्घटनामा त्रिशुलीमा बेपत्ता भएका यात्रु अझै फेला परेको छैनन् । दुर्घटनामा मृत्यु भएका २२ जनाको शव भने शनिबार आफन्तले जिम्मा लिएका छन् । गौरबाट पोखरा आउँदै गरेको ग१ख ३७०९ नम्बरको बस चण्डीभन्ज्याङ गाबिस ६ कालीखोलाबाट २ सय मिटर त्रिशुलीमा खस्दा २२ यात्रुको ज्यान गएको थियो । घटनामा १६ जना घाईते भएका थिए । गौरबाट ३० र चन्द्रनिगाहपुर काउण्टरबाट ९ यात्रु लिएर बिहीबार साँझ ७ बजे छुटेको बस बिहान साढे ३ बजे नदिमा खसेको थियो । चालक सहित ४२ जना रहेको बताए पनि प्रहरीमा १२ यात्रु बेपत्ता भएको भन्दै आफन्तले खोजतलासका लागि निवेदन दिएका छन् । ‘हामि अनुसन्धान गर्दैछौं,’ प्रहरी प्रमुख एसपि वसन्त कुँवरले भने, ‘बसको चलान बाहेकका मानिस हराएको भन्ने निवेदन परेकोले छानविन सुरु गरेका छौं ।’ सशस्त्र प्रहरीको विपद ब्यवस्थापन टोलीले शुक्रबार र शनिबार दिनभर खोजी गरे पनि बेपत्ता फेला परेको छैनन् ।
बस दुर्घटनामा परेकामध्ये अधिकाश शिक्षक सेवा आयोगको परीक्षा दिन जाँदै गरेका थिए । आयोगको परिक्षा दिन हिडेका ज्वाई सर्लाही सुदामा ८ का राजिबकुमार सिह बेपत्ता भएको आफन्त अरबिन्द सिहले बताए । बेपत्ताका परिवारजन  दिनभर प्रहरी र दुर्घटनास्थल मा भौतारिएका थिए । ‘लास वा सास  भेट्टिए हुन्थ्यो’, सिहले भने, ‘परिबारमा रुवाबासी छ ।’ कटहरियाबाट शिक्षक सेवा आयोगको परिक्षा हिडेका ३१ बर्षिय शम्भुराय यादव पनि फेला परेका छैनन । दुर्घटनामा परी मृत्यु भएकामा १९ पुरुष र ३ महिला छन् । ९ पुरुष, २ महिला र ५ बालक घाइते छन् । उनिहरुको चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ ।



Post a Comment

 
Top