0
गोल्डेन न्यूज संवाददाता
कास्कीमा क्रियाशील राजनीतिक दलहरुको संयुक्त बैठकले जिल्लाको स्थानीय तह पूनर्संरचनामा साझा धारणा बनाई पेश गर्ने निर्णय गरेका छन् । आइतबार नेकपा (माओवादी केन्द्र) का नेता राजकाजी गुरुङको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले स्थानीय तह पूनर्संरचना प्राविधिक समितिले प्रस्ताव गरेको संख्याले राज्य पूनर्संरचनाको मर्म बोध गर्न नसक्ने पनि निष्कर्ष निकालेको छ । प्राविधिक समितिले कास्कीमा एक महानगरपालिका, एक नगरपालिका र तीन गाउँपालिका बनाउन प्रस्ताव गरेकोमा दलहरुले स्थानीय तहको संख्या बढाउनुपर्नेमा जोड दिएका छन् । नेकपा (माओवादी केन्द्र) कास्कीको कार्यालय शिवालय चोकमा सम्पन्न बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (माले) का नेताहरु थिए । बैठकले गाउँ स्तरसम्म पूनर्संरचनाबारे अन्तक्र्रिया गरी तल्लो तहको सुझाव लिने निर्णय पनि गरेको छ । माओवादी नेता राजकाजी गुरुङका अनुसार ‘पाँच वटा मात्रै स्थानीय निकायले जिल्लाको आवश्यकता सम्बोधन गर्न नसक्नेमा’ सबै दलको समान धारणा रहेको छ । ‘पाँच वटा इकाईले मात्रै जनताको आकांक्षा पुरा गर्दैन भन्नेमा हामी एकमत छौं, कति संख्या कुन आधारमा निर्धारण गर्ने भन्नेमा हामी थप छलफल गरेर निष्कर्षमा पुग्छौं’ नेता गुरुङले भने ।  बैठकमा उपस्थित नेताहरुले पाँच वटा मात्रै स्थानीय निकाय बनाउँदा नागरिकको सेवा प्रवाह प्रभावित हुनेबारे आ–आफ्नो धारणा राखेका थिए ।


Post a Comment

 
Top