0
गोल्डेन न्यूज संवाददाता
पोखरामा आयोजित बोलबम जलयात्रा हजारौं भक्तजनको सहभागितासँगै यस वर्ष सकिएको छ । साउन पाँचौ तथा अन्तिम सोमबार भएकोले अघिल्ला सोमबार तुलनामा केदारेश्वर मन्दिरमा भक्तजनको भीड अत्यधिक बढेको थियो । यतिसम्मकि मन्दिर परिसरसहित कोमागाने पार्कमा समेत खुट्टा टेक्ने ठाउँ थिएन । शिक्षण संस्था बन्द हुँदा अभिभावक आफ्ना छोराछोरीसहित जलयात्रामा निस्केको देखिन्थ्यो । केटाकेटी, युवायुवती, वृद्धवृद्धा गरी सबैजना भक्तजन बोलबम जलयात्रा, मन्दिरमा पूजाआजा तथा शिवलिंगमा जल चढाउनै व्यस्त देखिन्थे । बिहान ६ बजे पूजाको थालीसहित लाइनमा बसेकी पोखराकी प्रतिमा बरालले पालो कुर्दा मध्यान्हमात्र शिवलिंगमा जल चढाएर बाहिरिएको बताइन् । केदारेश्वर महादेवमणि सेवाश्रम समितिले झण्डै डेढ दशकअघि सुरु गरेको बोलबम जलयात्रामा अहिलेसम्मकै ठूलो सहभागिता यस वर्षको साउन अन्तिम सोमबार भएको बोलबम संयोजक शंकर खराल बताउँछन् । बोलबममय बनेको मन्दिरमा टाढाटाढाबाट पैदल हिडेरै भक्तजन जल चढाउन मन्दिर आएको मन्दिर उपाध्यक्ष दयानन्द पोखरेलले जानकारी दिए । बोलबम कार्यक्रमले धार्मिक पर्यटन प्रबद्र्धनमा निकै ठूलो टेवा पु¥याएको मन्दिरका सचिव खिमबहादुर पहारीले बताए । मन्दिरका पीठाधीश डा. लेखनाथ आचार्यले कार्यक्रम सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरे । उनका अनुसार सुरक्षा निकाय, पत्रकार, आमा समूह, भजनमण्डली, कलाकार, क्लब, नागरिकसमाज, व्यवसायी, विद्यार्थी, शिक्षक, विभिन्न संघ–संस्थाका प्रतिनिधि बोलबम सफल पार्न निरन्तर खटिरहे । ‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ आयोजित बोलबम जलयात्राअन्तर्गत सेतीकिनार गाइबाटदेखि निस्केको बोलबम जलयात्रामा भक्तजन पंचेबाजाका साथ भजनकीर्तन गाउँदै हिडेको देख्दा पोखरा बजार गुलजार बनेको थियो ।  भजनको संयोजन गायक प्रजापति पराजुलीले गरेका थिए । जलयात्रामा निस्केका भक्तजनलाई स्वतःस्फूर्तरुपमा कतिपयले सर्वतपानी खुवाएर सहयोग गरेका थिए । मन्दिरमा अघिल्ला वर्षझैं यसपालि पनि एनबी व्यवसायी समितिले प्रसाद खुवाएको समिति अध्यक्ष विनय भगतले बताए । गाईघाटमा १०८ धारामा स्नान गरी ८ किलोमिटर पैदलयात्रासहित मन्दिरमा १०८ शिवलिङ्गमा जलार्पण गर्न पाइने केदारेश्वरको आठ संयोगले भक्तजनको आकर्षण बढेको हो । साथै तालको किनार, पारी रानीवन र सुन्दर एवं मनोरम दृश्यले केदारेश्वर बोलबमधामको रुपमा विकसित भएको पाइन्छ ।  यसैबीच, मन्दिर व्यवस्थापनमा सहयोगका लागि पूर्वसभासद् एवं उद्योग व्यवसायी सूर्यबहादुर केसीले सोमबार ८ लाख रुपैयाँ सहयोग गरेका छन् । हजारौं भक्तजनमाझ उनले मन्दिरका पीडाधीश डा आचार्यलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । उता, सामाजिक जागरणका लागि नारी अभियानले पनि साउनका पाँचै सोमबार मन्दिर परिसरमा मागेर गुजारा चलाउनेलाई खाना खुवाएको संयोजक सुष्मा पौडेलले बताइन् ।







Post a Comment

 
Top