0
गोल्डेन न्यूज संवाददाता
विकृति विसंगति रहित समुन्नत समाज शान्ति सुरक्षामा सामुदायिक अभियानका साथ शुरु भएको सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको समीक्षा गोष्ठी सम्पन्न भएको छ । जेठ असार महिनाभर केन्द्रहरुले सचेतना, लागूऔषध नियन्त्रण, सरसफाई, वृक्षारोपण, घरदैलो तथा प्रशिक्षण कार्यलाई महत्वका साथ सम्पन्न भएको समन्वयका अध्यक्ष विष्णु बहादुर भट्टराईले बताए । सो समीक्षा गोष्ठीको उद्घाटन गर्दै अञ्चल प्रहरी कार्यालयका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक महेन्द्र कुमार पोखरेलले प्रहरी सधै समुदायको साथ भएकोले सामुदायिक सेवा केन्द्रले प्रहरी प्रमुखलाई प्रमुख अतिथि बनाउनुभन्दा सहकार्यपूर्ण सहयोगमा जोड दिनुपर्ने बताए ।  कार्यक्रममा केन्द्रका पूर्व महासचिव एवं सल्लाहकार कृष्ण थापाले सामुदायिक सेवा केन्द्रको बृद्धिसँगै चुनौति र अवसर दुवै थपिएकोले केन्द्रको भावना अनुसार प्रहरी र समुदायको आपसी सहयोगमा जोड दिनुपर्ने बताए ।
 
समीक्षा गोष्ठीमा जिल्ला समन्वय अन्तर्गत रहेका पृथ्वीचोक, बैदाम, माटेपानी, बगर, लेखनाथ र कालिका केन्द्रले भए गरेका गतिविधिका बारेमा एवं केन्द्रका प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक होत बहादुर रोकाहाले प्रकाश पारेका थिए । कार्यक्रममा सामुदायिक सेवा केन्द्र लेखनाथको नवनिर्वाचित अध्यक्ष ज्ञानेन्द्र बजगाई सहितका पदाधिकारी सदस्यहरुलाई स्वागत सम्मान गरिएको थियो । समन्वयका अध्यक्ष विष्णु बहादुर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष मंगल बहादुर नेपाली, सल्लाहकार गोविन्द राज पहारी, माटेपानी केन्द्रका अध्यक्ष दया बराल, वडा समनवय समिति उपाध्यक्ष उत्तम जोशी, बगर सामुदायिकका अध्यक्ष जीवन अधिकारी, उपाध्यक्ष सोमनाथ बाँस्तोला, महासचिव चक्रपाणि सुवेदी लगायतले केन्द्रको विविध पक्षमा आ–आफ्नो धारणा राखेका थिए । २०५६ मा कास्कीमा नेपाल प्रहरीको सहकार्यमा सामुदायिक सेवा केन्द्रको सुरुवात भई हाल समन्वय अन्तर्गत ६ वटा केन्द्रहरुको सकृयता रहँदै आएको छ ।










Post a Comment

 
Top