0

गोल्डेन न्यूज संवाददाता
काभ्रे, वैतडी र तनहुँमा भएको छुट्टा–छुट्टै दुर्घटनामा परि करिब ३६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि करिब ४५ जना घाइते भएका छन् । काभ्रे जिल्लाको काभ्रेको कोशीपारी पर्ने विर्तादेउराली–७ खहरेखोला नजिकै बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या २७ पुगेको छ। करिब ३५ जना घाइते छन्। सेनाको हेलिकप्टरले २६ जना  घाइतेलाई उद्धार गरी टिचिङ अस्पताल महाराजगँज र ट्रमा सेन्टर ल्याएको छ। अन्य घाइतेलाइ एम्बुलेन्समार्फत धुलिखेल अस्पताल ल्याइएको छ। काठमाडौंबाट काभ्रेको कोशीपारि कात्तिके देउराली जाँदै गरेको बा ३ ख १०६ नम्बरको यात्रुबाहक बस विर्तादेउराली–७ खहरेखोला नजिकै सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको हो। प्रहरीले दुर्घटनामा ३१ को मृत्यु भएको पुष्टि गरेको हो।
बसले कोचाकोच यात्रु राखेको थियो। बसभित्र र छतमा गरी करिब ८५ जना यात्रु रहेको प्रहरीले जनाएको छ। अत्यधिक यात्रु बोकेको बस अनियन्त्रित भएर विर्तादेउराली ७ खहरेखोला नजिकै सडकबाट तल खसेको थियो। घटनास्थलबाट कात्तिके देउराली गाविसका सब इन्जिनियर नरेश कार्कीले बताएअनुसार दुर्घटनामा परी घाइते भएकाहरु लाई स्थानीय तथा सुरक्षाकर्मीको सहयोगमा उद्धार कार्य भइरहेको छ। करिब ४० जना घाइतेलाई बसभित्रबाट बाहिर निकालिएको उनले जानकारी दिए। ‘४० जना घाइतेलाई उद्धार गरिएको छ। बस चालक खुट्ट भाँचिएको अवस्थामा उद्दार गरिएको छ’, उनले भने। मृतक र घाइते हुनेहरु अधिकांश कात्तिके देउराली, विर्तादेउराली र मादनकुँडारी गाविसका रहेको स्थानीय पुष्करराज पन्तले बताए। उनका अनुसार बसभित्र धेरै मान्छे च्यापिएका छन्। उनीहरुको उद्धार गर्न फलाम काट्ने मेसिन आवश्यक रहेको उनले बताए। धेरै डोल भएका कारण बस दुर्घटना भएको  बसका यात्रु कात्तिके देउराली–६ का विनादे न्यौपानेले जनाए। उनका अनुसार बसको छतमा रहेका यात्रु हामफालेर बाँच्न सफल भएपनि बस भित्र रहेका धेरेको मृत्यु भएको उनले जनाए। अहिले घटनास्थलमा पानी परिरहेका कारण उद्दारमा समस्या भएको प्रमुख जिल्ला अधिकारी पन्तले जनाए। उनका अनुसार जिल्ला स्वास्थ्य कार्यलयबाट चिकित्चसको टोली बोलाइ पोस्टमार्टम गरी शव आफन्तलाइ बुझाउने तयारी भएको उनले जनाए।
यसैगरी बैतडीमा सोमबार दिउँसो बस दुर्घटना हँुदा गर्भवती महिलासहित ८ जनाको मृत्यु भएको छ । धनगढीबाट बझाङ जाँदै गरेको सुदूरपश्चिम यातायातको ना५ख २८३२ नं. को बस सोमबार दिउँसो ३ बजे जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको सिद्धेश्वर–३ बिन्द्रावन नजिक दुर्घटनामा परेको हो ।
मृत्यु हुनेको सनाखत गर्ने प्रयास भइरहेको घटनास्थलबाट प्रहरी नायब निरीक्षक रुपसिंह थापाले  जानकारी दिए । बस सडकबाट करिब ५०० मिटर तल खसेको बताइएको छ । दुर्घटनामा परी मृत्यु हुनेको संख्या बढ्न सक्ने प्रहरीले बताएको छ । घटनास्थलमा खोड्पे प्रहरीचौकी बाट गएको प्रहरीे टोलीले उद्घार गरिरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
यसैगरी बेनीबाट काठमाडौँतर्फ जाँदै गरेको ना४ख ८१२७ नंको बसले सोमबार दिउँसो विपरीत दिशाबाट आइरहेको एक स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ ।     ग११प १८३० नंको स्कुटरलाई पृथ्वीराजमार्ग सडकखण्डमा पर्ने जिल्लाको मनपाङ गाविस वडा नं ३ सेराटारमा ठक्कर दिँदा स्कुटर चालक शुक्लागण्डकी नगरपालिका वडा नं १० बस्ने ४५ वर्षीय प्रकाश गुरुङको मृत्यु भएको हो । गुरुङको शव दमौली अस्पतालमा शवपरीक्षण गरी आफन्तजनलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी कृष्ण बहादुर महतले बताए । उक्त स्कुटरमा सवार सोही स्थान निवासी वर्ष ३३ का गगनसिंह कुमाल घाइते भएकाले दुलेगौडा स्थित सेतीगङ्गा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।  बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त घटनापछि स्थानीयवासीले पृथ्वीराजमार्गमा पर्ने दमौली–कोत्रे सडकखण्ड अवरुद्ध पारेका थिए ।
यसैबीच बसको ठक्करबाट सोमबार बिहान एक स्कुटर चालकको मृत्यु भएपछि अवरुद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत दमौली–कोत्रे सडकखण्ड चार घन्टापछि खुलेको छ ।       बिहान करिब ११ बजेदेखि अवरुद्ध सो राजमार्ग प्रहरीले तीन राउन्ड अश्रुग्यास प्रहार गरेपछि पौने ३ बजे मात्रै खुलेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 
उक्त घटनामा परी तनहुँका प्रहरी नायब उपरीक्षक डिएसपी सुरेन्द्रबहादुर गुरुङको दायाँ खुट्टामा सामान्य चोट बताइएको छ । अवरुद्ध राजमार्ग खुलाउनका लागि पीडित पक्षलाई उचित क्षतिपूर्ति दिलाउन कानुनले तोके बमोजिमको क्षतिपूर्ति दिलाउन त्रिपक्षीय वार्ता बसेको थियो ।
उक्त वार्तामा पीडित पक्षले २०÷२५ लाखको बार्केनिङ गर्नुका साथै उल्टै प्रहरीमाथि प्रदर्शनकारीको जत्थाले ढुङ्गामुढा प्रहार गर्न थालेपछि प्रहरीले बाध्य भएर अश्रुग्यास प्रहार गरेको तनहुँका प्रहरी नायब उपरीक्षक गुरुङले जानकारी दिए ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काभ्रेमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावकारीरुमा उद्धारका लागि जुट्न निर्देशन दिए। प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रालय लाई उक्त निर्देशन दिएका थिए । घटनाको जानकारी पाएलगत्तै प्रचण्डले गृहमन्त्री विमलेन्द्र निधिलाई फोन गरी तत्काल उद्धार कार्य प्रभावकारी बनाउन निर्देशन दिँदै हेलिकप्टरको समेत प्रयोग गर्न भनेको उनको सचिवालयले जनाएको छ ।
यसैगरी नेकपा एमालेले काभ्रेको विर्ता देउरालीमा भएको बस दुर्घटनालाई कहालीलाग्दो भन्दै तत्काल उद्दारमा हेलिकोप्टर परिचालन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले वस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उद्दार र राहतमा जुट्न पार्टी पंक्तिलाई निर्देशन समेत दिएका छन् । बस दुर्घटनाका घाइतेलाई हेलिकोप्टरबाट उद्दार गरी उपचारको व्यवस्था गर्न ओलीले ध्यानाकर्षण गराएका छन् ।
यसैबीच  काभ्रे बस दुर्घटनाका घाइतेहरुलाई भेट्न गृहमन्त्री विमलेन्द्र निधि अस्पताल पुगे । घाइतेहरुको उपचार राष्ट्रिय ट्रमा सेन्टरमा भइरहेको छ । गृहमन्त्री निधिले केही घाइतेहरुसँग कुराकानी गरी उपचारमा कुनै कसर बाँकी नराख्ने बताए। उनले दुर्घटनाबारे छानबिन हुने पनि बताए । गृहमन्त्री निधिले उपचार खर्च यातायात व्यवसायी र सरकारले बेहोर्ने प्रतिबद्धतासमेत जनाए । गृहमन्त्रीसँगै घाइतेहरूलाई भेट्न गृहसचिव नारायण गोपाल मलेगो, सशस्त्र प्रहरी प्रमुख दुर्जकुमार राई र नेपाल प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल पनि अस्पताल पुगेका थिए। 

घाइते ज्वारलाल तामाङ
काठमाडौंबाट काभ्रेको कोशीपारी कात्तिके देउराली जाँदै गरेको बा२ख १०६ नम्बरको उक्त बसमा यात्रारत थिए मादनकुडारी–१ का ज्वारलाल तामाङ । दुर्घटनामा ठूलो मानविय क्षति हुँदा उनी बाँच्न सफल भए । छतमा यात्रारत उनले बस एकाएक भीरबाट खस्न लागेपछि हाम्फाल्न भ्याउँदा बाँच्न सफल भएको सुनाए । बस दुर्घटनाको बयान उनकै शब्दमा ः मेरा घर काभ्रेको मादनकुडारी–१ मा पर्छ । कामको सिलसिलामा केहि वर्षयता काठमाडौंमा बस्दै आएको छु । घरमा काम भएकाले बिहानै भाई बुहारी र भतिजासहित पुरानो बसपार्कमा गाडी चढेर यता लागेको हुँ । बिहान ६ बजे बसपार्कबाट कोशीपारीको देउरालीको लागि छुटेको बसमा बसपार्कबाट छुटुन्जेल धेरै यात्रु थिइनन् । बीचबाटोमा मान्छे थपिँदै जाँदा बसभित्र पूरै खचाखच मान्छे थिए । निकै भीडभाड हुँदा बसमा खपिनसक्नुको गर्मी भएपछि शितल हुने भएर म भतिजोलाई लिएर छतमा गए । म जानुअघि नै छतमा ८–१० जना गइसकेका रहेछन् । पछि थपिने क्रम जारी रह्यो । अप्ठ्यारो बाटोमा बस ओभर लोड भइसकेको थियो भने निकै विस्तारै बस हाकिएको थियो । जब बस काभ्रेको कोशीपारी पर्ने बिर्ता देउरालीको उकालो चढ्दै थियो–बसलाई उकालो चढ्नै मुस्किल परिरहेको थियो । एक नम्बर गेयरमा चलाइएको बस उकालोको बीचतिर पुग्दै लाग्दा एकाएक ‘ब्याक’ (पछाडि) हट्यो । त्यहीबीचमा ड्राइभरले सह–चालकलाई पछाडिको चक्कामा ढुंगा हालेर अड्याउन भनेपछि हतारहतार सहचालकले ढुंगा त हाले तर त्यसले थेग्न नसकेपछि बस भीरतर्फ मोडियो । बस खस्न लागेको थाहा पाएपछि म छतबाट हामफालेर बाँच्न सफल भएँ । भतिजो पनि हामफालेछ । उ घाइते भएको छ । तर बसभित्र भाइबुहारी पनि थिइन् । उनको अवस्था अहिलेसम्म थाहा पाउन सकेको छैन। बस डाँडामा पुग्नै लाग्दा भीरबाट करीब ४ सय मिटर तल पुगेको छ । २५ जनाजतिको लाश मैले नै देखेको छु । बुहारीलाई भेटेको छैन, खोजिरहेको छु ।
उद्धारकर्मी पुष्करराज पन्थ
मेरो घर काभ्रेको बिर्ता देउराली ३ आलडाँडामा हो । भूकम्पले भत्काएको घर सफा गरी नयाँ घर बनाउने क्रममा छ, आज दिउँसो पनि त्यसैको काम गरिरहेको थिएँ । करीव सवा एक बजेतिर बनेपाबाट एकजना सरले फोन गरी बस दुर्घटना भएको जानकारी दिनुभो । दुर्घटनास्थल मेरो घरबाट हिँडेर करीव ४५ मिनेटको दूरीमा पर्छ । दुर्घटना भएको सुन्नेबित्तिकै सुरुमा गाउँको भुमेस्थान उच्च माविमा गएर सरहरुलाई सुनाए । त्यसपछि तत्काल घटनास्थलमा पुगेँ । मसँगै स्कुलका सरहरुपनि हुनुहुन्थ्यो । करीब पौने २ बजेतिर म घटनास्थलमा पुगेँ । म त्यहाँ पुग्दा करीव डेढ सयको सङख्यामा मानिसहरु जम्मा भइसकेका रहेछन् र उद्धारको क्रम पनि सुरु भइसकेको रहेछ । तर कठिन भौगोलिक अवस्था र पानी परिरहेकाले उद्धारमा कठिनाइ भइरहेको थियो । घटनास्थलमा मैले यस्तो दृश्य देखेँ कि यस्तो मैले यसअघि कहिल्यै देखेको थिइनँ । घाइतेहरु पाखा भरि छरिएका थिए । उद्धारका लागि चिच्याइरहेका थिए । एैया दुख्यो, मरेँ नि जस्ता कोकोहोलो सुनिएको थियो । मृतकहरुका विभत्स शवहरु यत्रतत्र छरिएका थिए । कसैको टाउको थिएन, कसैको हात खुट्टा थिएन । साँच्चै नै हृदयविदारक दृश्य थियो त्यो । दोलालघाटबाट कच्ची बाटो गाडिमा १ घण्टामा घटनास्थल पुगिन्छ । बस करीव ३०० मिटर तल खसेको हुनुपर्छ । बस २०÷२२ टुक्रा भएको छ । भीरको बीच बीचमा ठोक्किँदै गएकाले मानिसहरु भीरैभरी छरिएका हुन् । म पनि उद्धारमा खटिएँ । हामीले उद्धारका क्रममा घाइतेलाई प्राथमिकता दियौं । मैले ३÷४ जनालाई बोकेर माथि ल्याएँ । २ बजेतिर १०÷१२ जनाको सङख्यामा प्रहरीको टोली इन्सपेक्टरको नेतृत्वमा घटनास्थल पुगेपछि हामीलाई उद्धारमा सहज भयो । प्रहरीले ठूलो सहयोग गरे । घाइतेलाई तत्काल उपचारका लागि कुनै व्यवस्था थिएन । गाउँकै स्वास्थ्यकर्मीले प्राथमिक उपचार गरेका थिए । साँढे ३ बजेतिर तीनवटा एम्बुलेन्स घटनास्थल पुग्यो । प्रहरीले केहि घाइतेहरुलाई त्यसमा हालेर पठायो । त्यसपछि १३ वटा एम्बुलेन्स आए । संभव भएसम्म घाइतेहरुलाई उपचारका लागि पठाइएको छ । प्रहरीको पहलमा हेलिकप्टरबाट घाइतेको उद्धार हुने सुनेर हामीले हेलिकप्टर बस्न हेलिप्याडको ब्यवस्था गर्न थाल्यौं । घटनास्थल नजिकै एउटा ठूलो बारीको पाटा छ । त्यहाँ मकै लगाइएको थियो । बारीको पूरै मकै फाँडेर हेलिप्याड बनायौं । तर, नेपाली सेनाको हेलिकप्टर ठूलो भएकाले ठाउँ साँगुरो भयो । त्यसपछि हामीले त्यसवरपरका ८र१० वटा रुखहरु काटेर ल्याण्ड गर्नसक्ने बनायौं । घाइतेहरुलाई एम्बुलेन्स र हेलिकप्टरबाट पठाइसकेपछि अहिले शव संकलन गर्ने कार्य भइरहेको छ । भीरैभरी छरिएर रहेका शवहरु संकलन गरी माथि सडकसम्म ल्याउने काम भइरहेको छ । पानी परिरहेकाले शव संकलन कार्यमा असहज भइरहेको छ । तर, हामीले काम गर्नु परेको छैन । घटनास्थलमा अहिले नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको बाक्लो उपस्थिति छ । उनीहरुले नै भीरबाट शव संकलन गरिरहेका छन् । दिउँसो ४ बजेतिर प्रमुख जिल्ला अधिकारी, जिल्लाका प्रहरीका अफिसरहरु पनि आउनुभएको थियो । घटनास्थलको निरिक्षण गरी उहाँहरु जानुभयो ।



Post a Comment

 
Top