0
गोल्डेन न्यूज संवाददाता
शहरबजारमा सबैको भान्सामा खाना पकाउने सिलिण्डर ग्याँस रहेकै हुन्छ । थोरै असाबधानीले पनि ठूलो जनधनको क्षति भएको घटना हामीले देख्दै सुन्दै आएका छौं । बुधबार विहानै पोखरा १७ छोरेपाटनमा ग्याँस सिलिण्डर लिक हुँदा पनि ठूलो क्षति हुनबाट जोगिएको छ । स्थानीय सिमलटुडामार्ग स्थित भक्तबहादुर गुरुङको घरको किचन ग्याँस लिकेज हुँदा क्षतविक्षत भएको छ भने किचनका सम्पूर्ण सामाग्रीहरु काम नलाग्ने गरी बिग्रिएका छन् । फ्रिज, राईसकुकर, फिल्टर लगायतका भाँडाकुँडा मात्र होईन, छानो नै उडेको थियो । जस्तापाता उडेको, फलामको डण्डी बांगिएको र झ्यालका सबै सिसाहरु फुटेको अवस्थामा थियो । बिहान ५ बजेतिर ठूलो विस्फोट भएपछि घटनाबारे थाहा भएको सिमलटुंडा टोल विकास समितिका उपाध्यक्ष समेत रहेका छिमेकी गुप्तबहादुर गुरुङले जानकारी दिए । टिनको छानो भएको घर भएकाले मात्र ठूलो क्षति हुनबाट टरेको उनले जनाए । ‘बेलुकीदेखि नै ग्याँस लिक भएको रहेछ । रातभरी रेगुलेटरबाट ग्याँस लिक हुँदा छानोको जस्तानै उडेर विस्फोट भयो’ उनले भने– ‘झ्यालढोका पुरै बन्द भएको र हावा नछिरेको कारण नै यसरी ग्याँस लिकेजपछि विस्फोट भयो । यदि ठूलो घर भएको भए ध्वस्त हुने रहेछ ।’ उनका अनुसार अर्को कोठामा छोरा सञ्जय र उनकी श्रीमती सुतेका थिए । भक्तबहादुर नजिकै छोरीको घरमा सुत्ने गरेका कारण मानवीय क्षति हुन नपाएको उनले बताए । ज्वलनशील पद्धार्थ नभएका कारण ग्याँस कोठाभरी भरिँदा पनि आगलागी नभएकाले ठूलो क्षति हुनबाट जोगिएको बताईएको छ । घटनापछि प्रहरी पुगेको पत्रकार रञ्जन अधिकारीको समाचारमा उल्लेख छ ।




Post a Comment

 
Top