0
गोल्डेन न्यूज संवाददाता
एमाले धादिङका नेता, नेकपा एमाले स्थायी समिति सदस्य एवं केन्द्रीय लेखा समिति सभापति पुष्पलाल कंडेल, धादिङ क्षेत्र नं. ३ का सांसद, पूर्व मन्त्री एवं एमाले नेता राजेन्द्र पाण्डे पोखरा आउने भएका छन् । एमाले निकट धादिङ–पोखरा सम्पर्क मञ्चको साधारणसभाका लागि उनीहरु पोखरा आउने भएका हुन् । साधारणसभा शनिबार पोखरामा हुँदैछ । साधारणसभामा एमालेका पोलिटव्यूरो सदस्य एवं सांसद गंगालाल तुलाधर पनि सहभागी हुने कार्यक्रम संयोजक एवं मञ्चका निवर्तमान अध्यक्ष कृष्णबहादुर लम्सालले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । साधारणसभाको तयारीलाई तीव्र बनाइएको र अन्तिम चरणमा पुगेको प्रचार–प्रसार समिति संयोजक योग प्रसाद सापकोटाले बताए । उनका अनुसार साधारणसभा र तयारीबारे जानकारी दिनका लागि आज शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरिएको  छ । मञ्चका अध्यक्ष वेनी पाठकका अनुसार कार्यक्रमको तयारीका लागि अतिथि सत्कार संयोजकमा अर्जुन खतिवडा, सह–संयोजकमा रामकुमार घिमिरे, आर्थिक संकलन समिति संयोजकमा समिर अर्याल, मञ्च व्यवस्थापनमा गुणप्रसाद सापकोटा रहेका छन् । तीजको अवसरमा आयोजित उक्त कार्यक्रममा दर खुवाउने कार्यक्रमको समेत आयोजना गरिएको बताइन्छ ।
 
यसैबीच धादिङ सम्पर्क मञ्चको गतिविधिप्रति सशंकित हुँदै आएको धादिङ–पोखरा सम्पर्क समितिका उच्च पदाधिकारी एवं पूर्व पदाधिकारी फेरि सशंकित बनेका छन् । सम्पर्क मञ्च र समितिको नाम समेत उस्तै भएकोमा आपत्ति जनाउँदै धादिङ समितिका पूर्व तथा वर्तमान पदाधिकारीहरुले मञ्चको क्यालेण्डर प्रकाशन र सदस्यता विस्तारमा समेत समितिको नाम बेचेर मञ्चको गतिविधि संचालन गरेको भन्दै गुनासो गरेका छन् । समितिका उच्च पदाधिकारी तथा पूर्व पदाधिकारीले मञ्चको यो साधारणसभाले समितिको आशन्न महाधिवशेनलाई समेत प्रभावित पार्ने दावी गरेका छन् । समितिका एक उच्च पदाधिकारीले गोल्डेन न्यूज दैनिकसंग भने–‘समितिमा बसेर सिन्को नभाँच्ने केही पदाधिकारी तथा सदस्यहरुले राजनीतिक कार्यमा भने हजारौं खर्च गर्न सक्ने र धेरै लामो समय पनि खर्चिन सक्छन् । यस्ता गतिविधिले समितिको धेरै काममा प्रत्यक्ष असर पारेको छ ।’ उनले मञ्चको प्रत्येक गतिविधिले समितिको काममा सधैं असर गरेको र यसलाई समयमै नियन्त्रण गरिएन भने समितिलाई  ठूलो नोक्सान पु¥याउने दावी गरे । समितिको नाम बेचेर मञ्चको काम हुने गरेको प्रमाण आफूसंग भएको भन्दै उनले समितिले यस क्रियाकलापलाई नजिकबाट नियालिरहेको दावी गरे ।

Post a Comment

 
Top