0
गोल्डेन न्यूज संवाददाता
बुल्समेन दोस्रो राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगितामा हङकङ, मकाउ र भारतबाट खेलाडीहरुले सहभागिता जनाउने छन् । यहि दौ ३१ गते आयोजना हुने प्रतियोगितामा हङकङबाट दुई, मकाउबाट एक र भारतबाट दुई गरी पाँच जना खेलाडी आउने हङकङमा पत्रकार सम्मेलन सकेपछि क्लबका उपाध्यक्ष रुपेन्द्र गुरुङ(ल्याक्स)ले टेलिफोन मार्फत जानकारी दिए । मोसफलकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताका लागि हङकङबाट अमृत गुरुङ, सागर गुरुङ, मकाउबाट बोध खड्का र भारतबाट सागर विक तथा भरत श्रेष्ठको सहभागिता हुने उनले बताए । क्लबले दुईदिन अघि मात्रै हङकङमा पत्रकार सम्मेलन गरेको थियो । हङकङबाट क्लबलाई प्रतियोगितको लागि ४ लाख रुपैयाँ आर्थिक सहयोग समेत जुटाएका छन् । अन्य विभिन्न संघसंस्था एवं व्यक्तिगत सहयोग छ । विभिन्न देशमा विस्तार गरिएको बुल्समेन क्लब शाखाका शुभचिन्तकले पनि आर्थिक सहयोग जुटाईरहेका छन् । शारीरिक सुगठन खेललाई विस्तारीकरणसँगै युवापुस्तालाई शारीरिक सुगठनप्रति आकर्षित गर्दै दुव्यवर्सनबाट टाढा राख्ने उद्देश्यसहित बुल्समेन क्लबले दोस्रो संस्करण गर्ने जमर्को गरेको हो । ‘आजको स्वास्थ्य युवा भोलिको देशका भविष्य’ भन्ने भनाईलाई मनन गर्दै क्लबले दुई÷दुई वर्षको अन्तरमा प्रतियोगिता आयोजना गर्ने जनाएको छ । बुल्समेन च्याम्पियन बन्ने ‘बडिविल्डर’ले १ लाख ५५ हजार ५५० रुपैयाँ पाउने छन् । यो राशी मोफसलमै सर्वाधिक पुरस्कार राशी हो । अघिल्लो संस्करणका एकलाख रुपैयाँ नगद राशि थियो । पहिलो सस्करण काठमाडौंका रामबहादुर दाहालले उपाधि उचालेका थिए । ‘बुल्समेनको आह्वान युवाहरुको पहिचान’ भन्ने मूल मन्त्रसहित २०७० सालमा स्थापित क्लबले विभिन्न सामाजिक कार्यहरु समेत गर्दै आएको छ । क्लबले गतवर्ष मदन भण्डारी स्पोर्टस एकेडेमीको सहयोगमा ‘पश्चिमाञ्चलस्तरीय च्याम्पियनसिप शारीरिक सुगठन प्रतियोगिता’ समेत सम्पन्न गरेको थियो। दोस्रो संस्करणमा विभिन्न व्यायामशाला एवं फिटनेस सेन्टरका पूर्व मेचीदेखि पश्चिम महकाली सम्मका फिटनेस सेन्टरबाट करिब १५० जना खेलाडीहरुको सहभागिता रहने अनुमान गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईयो । ५५, ६०,६५, ७०, ७५ र ७५ केजी माथको तौल गरी छ वटा इभेण्टमा प्रतिस्पर्धा गराईने छ । प्रत्येक तौलबाट विजेतालाई अन्तिम प्रतिस्पर्धा (ओभरअल) गराई विजेता घोषणा गरिने छ । विजेता बन्ने ‘बडिविल्डर’ले नगद १ लाख ५५ हजार ५५० रुपैयाँसहितको ट्रफी पाउने छ । त्यसैगरी प्रत्येक तौल विजेतालाई नगद १५ हजार ५५०, दोस्रो हुनेलाई १० हजार ५५० र तेस्रो हुनेलाई ८ हजार ५५० रुपैयाँ प्रदान गरिने क्लबका अध्यक्ष नुना गुरुङले जानकारी दिए । प्रतियोगिताका लागि १३ लाख ९८ हजार ४ सय ५० रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । दुईदिने प्रतियोगितामा क्लबले १५ लाख ५० हजार आम्दानी हुने अनुमान गरिएको छ ।

Post a Comment

 
Top