0
गोल्डेन न्यूज संवाददाता
प्रधानमन्त्रीको सपथपछि बसेको मन्त्रीपरिषद्को वैठकबाट प्रधानमन्त्री प्रचण्डले दुई उपप्रधानमन्त्रीलाई आफ्नो विशेष दूतका रुपमा बेइजिङ र दिल्ली पठाउने निर्णय गरे । आफ्ना दुई छिमेकीसँग ‘सन्तुलित कुटनीति’ कायम राख्न भन्दै प्रधानमन्त्री प्रचण्डले गरेको यो निर्णयले काठमाडौं मात्र होइन, बेइजिङ र दिल्लीमा पनि उत्तिकै तरंग पैदा ग¥यो । आफ्नो भ्रमण सकेर बेइजिङबाट उपप्रधानमन्त्री एवम अर्थमन्त्री कृष्णबहादुर महरा शनिवार काठमाडौं फर्किसकेका छन् । दिल्ली पुगका अर्का उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले महत्वपूर्ण भेट सकिसकेका छन् । दुई उपप्रधानमन्त्रीका यी दौडधूप यो साता नेपाल–भारत र नेपाल–चीन सम्बन्धमा ‘अर्थपूर्ण’ देखिए । जसको संकेत महराले बेइजिङबाट काठमाडौं उत्रेपछि दिए, ‘भ्रमण फलदायी भयो ।’ नयाँ गठबन्धनका साथ साउन १९ गते नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएसँगै उनको पहिलो मन्त्रीपरिषदको बैठकले छिमेक नीतिलाई प्राथमिकता दिएको थियो । गत साउन २० गते राष्ट्रपतिबाट शपथ लिएकै दिन बसेको पहिलो मन्त्रीपरिषद्को बैठकले सरकारका दुई उपप्रधानमन्त्री कृष्ण बहादुर महरालाई र बिमलेन्द्र निधिलाई प्रधानमन्त्रीका विषेश दूतका रुपमा चीन र भारत पठाउने निर्णय गरेको थियो । मन्त्रिपरषदको निर्णयको ११ दिनपछि महरा चीन उडे भने दुई सातापछि निधि भारत तर्फ लागे । प्रधानमन्त्रीको सन्देश लिएर चीन पुगेका महरा ६ दिने भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् भने भारत भ्रमणमा रहेका निधिले पनि विदेशमन्त्री, प्रधानमन्त्री देखि राष्ट्रपतिसम्म भेट गरिसकेका छन् । पाँच दिने भ्रमण सकेर उनी ६ गते काठमाडौं फर्कदै छन् । नयाँ सरकार गठनसँगै उत्तर र दक्षिणका छिमेकी देशसँगको सम्बन्ध सुर्धार्ने नीतिका साथ प्रचन्डको पहिलो मन्त्रिपरिषद् बैठकले विदेशनीतिलाई प्राथमिकता दियो । भ्रमणमा गएका प्रधानमन्त्रीका दुवै विशेष दूतले आफ्नो भ्रमण सफल भएको बताएका छन् । साउन ३१ देखि भदौ ३ सम्म चिनिया पक्षसँग भेटवार्ता गरेर उपप्रधान तथा अर्थमन्त्री महरा ४ गते स्वदेश फर्किए । त्रिभूवन विमानस्थलमा उनले आफ्नो चीन भ्रमण अत्यन्तै फलदायी र सफल भएको प्रतिक्रिया दिए । चीनमा महराले चिनियाँ प्रधानमन्त्री लि खछ्याङ, विदेशमन्त्री वाङ ही लगायतका उच्च पदस्थ व्यक्तित्वहरुसँग भेट गरे । महराले प्रधानमन्त्रीसँग भेट पाउँछन वा पाउँदैनन् भन्ने चासोका साथ हेरिएको थियो । भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम, अवास्थाबारे जानकारी गराउनुका साथै दुई देशबिचको सम्बन्ध बलियो बनाउने बिषयमा छलफल गरे । साथै त्यहाँका राष्ट्रपतिलाई नेपालका राष्ट्रपतिको तर्फबाट नेपाल भ्रमणको निम्तो समेत दिए । चिनियाँ पक्षले राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणका लागि ‘हरियो बत्ति’ बालिसकेको छ भने कार्यतालिका तयका लागि पूनः परराष्ट्र मन्त्रालयस्तरबाट छलफल गरेर टुङ्गो लगाउने सहमति भएको छ । अघिल्लो सरकारका प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा गएका बेला नेपालमा चिनियाँ राष्ट्रपतिको भ्रमणको लागि सरकारात्मक छलफल भएपनि नयाँ सरकार गठनपछि चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण अनिश्चित भएको विश्लेषण हुने गरेको थियो । महराले बेइजिङबाट फर्केपछि दिएको अभिव्यक्तिमा सीको भ्रमण करिव–करिव सुनिश्चित भएको संकेत थियो  यता, प्रधानमन्त्री प्रचण्डका विशेष दूतकारुपमा अर्का उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि भदौ २ गते दक्षिणी छिमेकी भारत पुगेका थिए । भ्रमणमा जानुअघि उनले दुई देशको सम्बन्धलाई थप सुदृढ तुल्याउन आफ्नो भ्रमण सफल हुने भन्दै नेपालको राष्ट्रिय हित र सकारात्मक परिवर्तनका लागि भारत सरकारसँग छलफल हुने बताएका थिए । मन्त्री निधिले भदौ ३ गते शुक्रवार भारतकी विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह र साँझ भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग भेटघाट गरेका छन् । ती भेटहरुमा नेपालको पछिल्लो राजनीति घटनाक्रमबारेमा छलफल भएको थियो । मधेस आन्दोलनलाई सम्बोधन गरेको उनीहरुले खुसी ब्यक्त गरेका छन् । त्यसैदिन साँझ उपप्रधानमन्त्री निधिले राष्ट्रपति प्रणव मुखर्जीसँग भेटवार्ता गरेका छन् । भेटमा राष्ट्रपति मुखर्जीले भारतले सदैव नेपालमा शान्ति, स्थिरता र विकास भएको हेर्न चाहेको बताएका थिए । भेटमा उपप्रधानमन्त्री निधिले नेपालका राष्ट्रपतिका तर्फबाट भारतीय राष्ट्रपतिलाई पठाउनुभएको नेपाल भ्रमणको निमन्त्रणा पत्र हस्तान्तरण गरेका थिए । साथै राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणका बारेमा समेत कुराकानी भएको थियो । यसअघि राष्ट्रपति भण्डारीको भारत भ्रमण अन्तिम समयमा स्थगन भएको थियो । पहिला प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण गराएपछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण गराउनेवारे भारत सरकार सकरात्मक रहेको बताइएको छ । निधिले भदौ अन्तिम साता प्रचण्डको भारत भ्रमणको तयारीका विषयमा पनि छलफल गरे । प्रचण्ड प्रधानमन्त्रीमा चयन भएलगत्तै सवैभन्दा पहिला फोन गरेर मोदीले बधाई दिँदै चाडो भारत भ्रमणका लागि निम्ता दिएका थिए । निधिले भदौ ४ गते शनिवार मध्याह्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनको निवास सेभेन रेसकोर्समा भेट गरी छलफल गरेका छन् । संविधान संसोधन, मधेस आन्दोलनलाई सम्बोधन लगायतका बिषयमा छलफल भएको थियो । प्रधानमन्त्रीका विशेष दुतहरुले दुबै देशका राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । दुई देशबिचको पुरानो आपसी सम्बन्धलाई मजबुद बनाउदै लैजाने र एकआपसको सहयोग प्रक्रियालाई निरन्तरता दिने बिषयमा एकमत भएको छ ।







Post a Comment

 
Top