0
गोल्डेन न्यूज संवाददाता
स्याङ्जा घर भई पोखराको जनप्रिय उच्च माविमा दश जोड दुई अध्ययनरत एक युवक विहिवार जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको प्राङगणमा देखिए । एक हातमा साइलेन्सर पायप र अर्को हातमा मोटरसाइकलका अरु पाटपूर्जाहरु । आधी घण्टा अघि कास्की ट्राफिकले उनको ड्युक कम्पनीको मोटरबाईक नियन्त्रणमा लिएको थियो । कारण हो मोटरसाईकलको स्वरुप परिवर्तन । तीन हप्ता अघि ३ सय ५० सिसीको सो बाईक लागि ४ लाख ८० हजारमा किनेका थिए । तर किनेकै भोलिपल्ट वर्कशपमा गएर करिव ४० हजार खर्चेर बाईकको स्वरुप नै परिवर्तन गराए । साईलेन्लर पायप,  ह्वील, हेडलाईट परिवर्तन, नम्बर प्लेट र मिरर सानो बनाउनका लागि उनले करिव ४० हजार खर्चेका हुन् । उनका बुबा हङकङमा छन् । आमा घरमै  (स्याङ्जा) । प्रवेशिका उत्तीर्ण पश्चात पोखरा आएका उनको गतिविधितर्फ आमाबुबा अनविज्ञ छन् । सडकमा तीव्र गति र साइलेन्सर पाइपमा प्वाल पारेका कारण आवाज अस्वभाविक सुनिन्छ र सडक प्रयोगकर्ताको ध्यान त्यतै जान्छ । ध्वनी प्रदुर्षण त छदैछ दुर्घटनाको पनि उच्च जोखिम । प्रहरीको उपस्थिति रहेको स्थानमा उनीहरु डराएपनि समान नसक्ने अवस्था छ भने आवाज ठूलो निकाल्ने र पड्काउने प्रवृत्ति उनीहरुको रहेको कास्की ट्राफिक प्रहरी प्रमुख विश्वराज अधिकारीले सुनाए । यसरी हिंड्ने युवाहरु अधिकांश दशजोड दुईमा अध्ययनरत  छन् । स्वरुप परिवर्तन गरी मोटरसाइकल चलाउदा युवकहरु अरुभन्दा आफूलाई फरक ठान्छन् । प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाट भन्छन–‘यो उमेरका युवकहरु अरुको देखासीकी बढि गर्छन, आफूलाई अरुभन्दा पृथक बनाउन विभिन्न गतिविधि गर्छन, त्यसमध्य स्वरुप परिवर्तन पनि एउटा हो ।’ उनले यस प्रकारको विकृति रोक्न कानूनी रुपमै प्रतिबन्ध गरि ट्राफिक प्रहरीलाई सक्रिय बनाउनुपर्नेमा जोड दिए । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले यस्तो प्रवृत्ति विकृतिको शुरुवात भएको भन्दै अरुले पनि सिको गर्न सक्ने भएकाले कार्वाही प्रक्रियालाई तीव्रता दिएको कास्की ट्राफिक प्रहरी प्रमुख अधिकारीले बताए । अधिकारीका अनुसार यसरी बाईकमा पाटपूर्जाहरु परिवर्तन गर्नाले मोटरसाईकल ‘आउट अफ मोसन’ भई दुर्घटना हुन सक्छ । पछिल्लो तीन महिनामा कास्की ट्राफिकले ६ सय ९९ स्वरुप परिवर्तनका मोटरसाइकल चालकलाई कार्वाही गरिसकेको छ । स्वरुप परिवर्तन गर्ने मोटरबाइक पहिलो नम्बरमा बुलेट त्यसपछि क्रमशः ड्युक, क्रस–फायर र भीआर कम्पनीका छन् ।

Post a Comment

 
Top