0
पोखरामा हरेक बर्ष गाईजात्रा पर्वको अवसरमा आयोजना हुने गाईजात्रा महोत्सव तथा तायमचा नृत्य प्रतियोगिताको तयारी तीव्र पारिएको छ । भाद्र ३ र ४ गते जाल्पारोड सिमलचौरमा हुने महोत्सवको तयारी तीव्र पारिएको महोत्सव संयोजक कृष्णमान ठुसाजुले बताए । नेवाः खलः कास्की संग आवद्ध टोल तथा कचाः खलले प्रत्यक वर्ष फरक–फरक टोलमा तायमचा प्रतियोगिता आयोजना गर्दै आएको छ । महोत्सव नेवाः खलः कास्कीको आह्वान तथा जाल्पादेवी तायमचा समितीको आयोजनामा हुन लागेको हो । महोत्सबमा तयारी भेलामा बोल्दै नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेले प्रतियोगितामा सहभागी हुन नेवा खल सम्बद्ध टोल तथा कचालाई आह्वान गरे । उनले नेवारी मौलिक परम्पराको जगेर्ना गर्न यस्ता खालका महोत्सबले ठूलो भूमिका खेल्ने हुँदा सबैले आफ्नो ठाँउबाट सहयोग गर्नुपर्नेमा जोड दिए। महोत्सव संयोजक ठुसाजुले प्रतियोगितामा सहभागी हुने टोलीले साउन ३० गते भित्र नाम दर्ता गराई सक्नुपर्ने बताउदै पोखरा, लेखनाथ र आसपासका नेवारी टोल र समुदायलाई समय भित्र नाम दर्ता गर्न आह्वान गरे । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्तन्वा हुने टोलीलाई क्रमशः २५ हजार, १५ हजार, १० हजार, ५ हजार रुपैयाँ नगद तथा शिल्ड प्रमाणपत्र प्रदान गरिने महोत्सवका सचिव विश्व विजुक्छेले जानकारी दिए । यसका अलावा प्रतियोगितामा उत्कृष्ट बाद्यबाधन, भेषभूषा, जोकर तथा ख्यालीका लागि पुरस्कार सहित शिल्ड प्रमाणपत्र प्रदान गरिने छ ।





Post a Comment

 
Top