0
गोल्डेन न्यूज संवाददाता
पोखरा भ्याली स्पोर्टस् क्लव रामबजार र इन्टेक ०६ ब्रिगेट अफ गोर्खाज ब्रुनाइबीचको मैत्रीपूर्ण फुटबल खेल सहारा क्लव पोखराको मैदान दोविल्लामा सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि रामबजार सोसाइटी युकेका सल्लाहकार दुधराज गुरुङ्गले खेलाडीसँग परिचय गर्दै रेफ्री एमान रन्जीतलाई बल हस्तान्तरण गरी उद्घाटन गरेका थिए । उनले खेल सम्पन्न गर्न १५ हजार रुपैयाँ आर्थिक सहयोग गर्दै यस्ता खेलले राष्ट्रिय स्तरमा हुने खेलमा सहयोग हुने बताए । उनले रामबजार सोसाइटी युके पोखराका हरेक सामाजिक कार्यमा सहयोग गर्न तत्पर रहेको समेत प्रतिवद्धता जनाए । इन्टेक ०६ ब्रिगेट अफ गोर्खाज र सिंगापुरका खेलाडीहरुले पोखरा भ्याली स्पोर्टस् क्लवलाई १२ हजार रुपैयाँ सहयोग प्रदान गरेको कार्यक्रममा पोखरा भ्याली स्पोर्टस् क्लवबाट सहारा क्लवलाई ५ हजार रुपैयाँ सहयोग प्रदान गरिएको थियो । खेलको पोखरा भ्याली स्पोर्टस् क्लव ५–२ ले विजय भएको छ । खेलको पहिलो हाफमा भ्यालीको तर्फबाट विविक गुरुङ्ग, सन्तोष गुरुङ्गले १÷१ गोल गरी अग्रता लिएको थिए भने दोस्रो हाफको १० मिनेटमा इन्टेक ०६ का सन्तोष गुरुङ्ग र १५ मिनेटमा सन्तोष श्रेष्ठले १÷१ गोल गरी बराबरी भएको थियो । खेलको अन्तिम समयमा भ्यालीको तर्फबाट विजय गुरुङ्गले २ र रोहित मल्लले १ गोल गरी पोखरा भ्याली स्पोर्टस् क्लव ५–२ ले विजयी भएको थियो । कार्यक्रममा पोखरा भ्याली स्पोर्टस् क्लवका द्वितीय उपाध्यक्ष सम्मर बहादुर श्रेष्ठले इन्टेक ०६ व्रिगेट अफ गोर्खाजका सदस्य अमन गुरुङ्गको स्वर्गारोहण भएपश्चात आफ्ना साथीको नाम अमर राख्न क्लवलाई २०७० सालमा १० लाखको अक्षयकोष स्थापना गरी हाल उक्त कोषमा ५ लाख थप गरेको जानकारी दिए । उनले २०७३ पुष २१ गतेदेखि इलेभेन साइड फुटबल प्रतियोगिता आयोजना गर्ने जानकारी दिए । कार्यक्रममा सहारा क्लवका संस्थापक अध्यक्ष बसन्त थकाली, पोखरा भ्याली स्पोर्टस् क्लवका संरक्षक यमन गुरुङ्ग, सल्लाहकार सुनिल गुरुङ्ग, टोल विकास संस्था वडा महिला समन्वय समिति १० का अध्यक्ष निर्मला कार्की भण्डारी, इन्टेक ०६ व्रिगेट अफ गोर्खाजका सन्तोष श्रेष्ठ, सिंगापुर पुलिसका अनुज गुरुङ्ग र मिलन गुरुङ्ग, भुपेन्द्र कुँवर, गणेश कुमार प्रधान, मिना भण्डारी लगायतले बोलेका थिए । प्रतियोगिता पोखरा भ्याली स्पोर्टस् क्लव रामबजारका कार्यवाहक अध्यक्ष खेम गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको थियो ।



Post a Comment

 
Top