0
तनहुँको फिरफिरे गाविसमा आयोजित निःशुल्क आँखा शिविरबाट ३ सय ८२ जना लाभान्वित भएका छन् । पोखरा रोयल सहकारी संस्था लिमिटेड र लायन्स क्लव अफ पोखरा फेवा फिस्टेल सिटीको संयुक्त आयोजना तथा हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा आईतबार शिविर सम्पन्न भएको हो । शिविरमा सेवा लिएका स्थानीय मध्ये ११ जनालाई मोतिया बिन्दु तथा जलविन्दुको उपचारको लागि पार्दी स्थित आँखा अस्पताल ल्याएर उपचार गराई घर पठाईएको सहकारीका प्रवन्ध निर्देशक भीम गुरुङले जानकारी दिए । उपचार पश्चात घर जान लागेका बिरामीहरुले आफूहरुले नयाँ जिवन प्राप्त गरेको, पत्रिका पढ्न सकेको र नयाँ संसार देखेको प्रतिक्रिया दिंदै सहयोगी संस्थाहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । यसअघि सहकारीका अध्यक्ष मेजर तुलसीप्रसाद गुरुङको अध्यक्षतामा आयोजित शिबिरको शुभारम्भ हिमालय आँखा अस्पतालका अध्यक्ष प्रा.डा. दिलबहादुर क्षत्रीले पहिलो बिरामी ७४ वर्षीय देउबहादुर गुरुङलाई बिरामी जाँच्ने कागज हस्तान्तरण गरी गरिएको थियो । कार्यक्रममा लायन्स क्लबका अध्यक्ष ई. सुरेन्द्र पौडेल, सहकारीका प्रवन्ध निर्देशक भीम गुरुङ, सहकारीका प्रवन्धक एवं लायन्स क्लवका कार्यक्रम संयोजक मीलन ढकाल लगायतले सामाजिक तथा सेवाको भावनाले निःशुल्क शिविर आयोजना गरिएको बताएका थिए ।  फिरफिरे स्थित जनप्रेमी उच्चमाविको प्राङ्गणमा आयोजित शिबिरमा स्थानीय फिरफिरे स्वास्थ्य चौकी, फिरफिरे कृषि सहकारी संस्था र जनप्रेमी उच्च मा.वि.ले समन्वय गरेको थियो।





Post a Comment

 
Top