0
गोल्डेन न्यूज संवाददाता
नेपाल विद्यार्थी संघको सोमबार बिहान ११ बजेदेखि सुरु हुने भनिएको बन्दसत्र प्रतिनिधि विवादका कारण स्थगित भएको छ । आफूअनुकूल नेतृत्व ल्याउन पार्टीका शीर्षस्थ नेताहरू नै होडबाजीमा लागेपछि विवाद मिल्न नसकेको हो ।  प्रतिनिधि विवाद मिलाउन भन्दै सोमबार बन्दसत्र सुरु नै नगरी स्थगित गरिएको थियो । विवाद नमिल्दै बन्दसत्र सुरु गर्दा झडप हुन सक्ने भएकाले स्थगित गरिएको नेविसंघका एक नेताले बताए । अधिवेशन नभई भागबन्डाका आधारमा प्रतिनिधि छानिएका ११ जिल्ला र स्ववियु निर्वाचन नभएका क्याम्पसबाट छनोट भएका प्रतिनिधिमा मुख्य विवाद छ । विधानअनुसार विश्वविद्यालय समन्वय समिति, सीटीईभीटी तथा स्ववियु निर्वाचन नभएका क्याम्पसबाट ५ प्रतिशत प्रतिनिधि आउने व्यवस्था छ । अहिले त्यस्ता प्रतिनिधि १ सय ४ जना छन् । ११ जिल्ला र अधिवेशन नभएका क्याम्पसका प्रतिनिधिसमेत गर्दा करिब १ हजारको हाराहारीका प्रतिनिधिमा विवाद छ ।  महाधिवेशन मा जम्मा ३३ सय प्रतिनिधि छन् । नेतृत्व चयनमा विवादित एक हजार नै निर्णायक हुन सक्ने भएकाले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष यो संख्या आ–आफ्नो पक्षमा बढी पार्न जुटेका छन् । जसका कारण विवाद सुल्झिएको छैन । यता पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र पौडेल पक्षकै नेविसंघका पूर्वअध्यक्ष महेन्द्र शर्मा समूहका विद्यार्थीहरू आमरण अनशनमा छन् । उनीहरू विधिवत् अधिवेशनबाट प्रतिनिधि छनोट गर्नुपर्ने माग उठाउँदै आमरण अनशन बसेका हुन् । महाधिवेशन उद्घाटन भइसकेपछि उनीहरू पनि सम्मानजनक हिस्सा पाउनुपर्ने अडानमा छन् । आमरण अनशनमा बसेका विद्यार्थी नेता गणेश सापकोटा र रत्नहरि ढुंगेलको अवस्था गम्भीर भएपछि उनीहरूको अहिले मोडल अस्पतालमा उपचार भइरहेको छ ।विवाद मिलाउन भइरहेको छलफलमा केही विद्यार्थी नेताहरूले सिटौला समूहलाई ३० प्रतिशत, संस्थापन पक्षकै महेन्द्र शर्मा समूहलाई १० प्रतिशत दिने र बाँकी ६० प्रतिशतमा पनि पौडेल पक्षलाई ५५ र संस्थापन पक्षलाई ४५ प्रतिशत दिनेगरी समझदारी गर्ने प्रयास थालेका छन् । तर, महाधिवेशनका लागि गठित पार्टीको निर्देशक समितिका संयोजक प्रकाशरण महतले भने यस्तो भागबन्डाको प्रस्ताव नआएको दाबी गरे । उनले समझदारी कायम गर्ने प्रयास भइरहेको बताए ।  महतले विद्यार्थी नेता र प्रतिनिधिहरूसमेत निर्वाचन होस् भन्ने पक्षमा रहेकाले नेतृत्व तहले पनि प्रतिनिधिको भावनालाई सम्मान गर्नुपर्ने बताए । उनले शीर्ष नेतृत्वले विद्यार्थीलाई मिल्न स्वतन्त्र ढंगले छाडिदिने हो भने समस्या नरहेको बताए । संघका पूर्वअध्यक्ष एवं निर्देशन समितिका सदस्य प्रदिप पौडेलले आफूहरू निर्वाचनबाट नेतृत्व चयन होस् भन्ने पक्षमा लागेको बताए । अनशन बसेका विद्यार्थीको माग कसरी सम्बोधन गर्ने भन्ने टुंगो लाग्न बाँकी छ, अरु विषयमा सहमति भइसकेको छ,’ कांग्रेस केन्द्रीय सदस्य एवं निर्देशक समिति सदस्य गोविन्द भट्टराईले भने । विवाद बढदै जाँदा निर्वाचन स्थगित गरी पार्टीले हस्तक्षेप गरेर कार्यसमिति नाम टाँस गर्न सक्ने आशंका पनि विद्यार्थी नेताहरूले गरेका छन् । सोमबार विवाद नमिल्दा उम्मेदवार घोषणा गरेर प्रचारमा लागेका विद्यार्थी नेताहरू नै अलमलमा परेका थिए ।





Post a Comment

 
Top