0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद धनराज गुरुङले पुष्पकमल दाहाल नेतृत्वको सरकार को निर्माणमा नेपाली कांग्रेसको भूमिका रहेकाले यो सरकारले गरेका कामको जस–अपजस कांग्रेसले नै लिनुपर्ने बताएका छन् । पोखरामा नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता गुरुङले भने–‘प्रचण्डलाई प्रधानमन्त्री बनाएको कांग्रेसले हो, तसर्थ यो मन्त्री मण्डलको जस–अपजस कांग्रेसले लिनुपर्छ ।’ उनले प्राविधिक रुपले सरकारको नेतृत्व कांग्रेसले नगरेपनि राजनीतिक रुपमा कांग्रेसले नै सरकारको नेतृत्व गरेको मान्नुपर्नेमा जोड दिए । सांसद गुरुङले कांग्रेसका नेता तथा सांसदहरुमा अध्ययन संस्कृतिको कमि रहेको भन्दै केन्द्रीय सदस्यहरु र सांसदहरुले नै संविधान र ऐन कानूनका बारेमा नबुझिकन अभिव्यक्ति दिने गरेको भनि चिन्ता प्रकट गरे । स्थानीय निकायको पुनसंरचनामा विवाद भइरहेको भएपनि संविधानको धारा ३०३ बमोजिम नभइ वर्तमान संविधान अनुसार चैत्र महिनाभित्रै स्थानीय निकायको निर्वाचन गर्नुपर्ने खाँचो उनले औंल्याए । स्थानीय निकायको विवाद अज्ञात शक्तिले निकालेको हुन सक्ने भन्दै उनले प्रदेशमा समेत विवाद बढ्ने सम्भावना रहेको स्पष्ट पारे । भूकम्प पीडितहरुलाई एकमुष्ठ राहत दिन नसकेको भनि संसद अवरुद्ध गरेको कांग्रेसले अब एकमुष्ठ रुपमा राहत दिन सक्ने कि नसक्ने ? भन्ने प्रश्न गर्दै नेता गुरुङले नेताहरुलाई विकृति, विसंगति र वेथितिसंग लसपस दर्न नदिन आफूहरुले खबरदारी गर्ने बेला आएको बताए ।
हिजो भ्रष्टाचार गर्ने मन्त्रीको बारेमा बोल्दा नेताहरुले नै भइहाल्यो भनेर संरक्षण गर्ने गरेको प्रसङ्ग निकाल्दै उनले अब भने केन्द्रीय समितिमै यस विषयमा छलफल गर्नुपर्ने र नेताहरुलाई समेत चेतावनी दिने पक्षमा आफू रहेको उनले बताए । ‘मन्त्री मण्डलमा कांग्रेसको तर्फबाट सहभागी नेताहरुका बारेमा उनले भने जसले पद प्रतिको आशक्ति बढी देखाए उनीहरुको आयू कम हुन्छ’, उनले थपे–‘मलाई मन्त्री बनाइदेउ भनेर म नेता कहाँ गइन तर मन्त्री बनेका केही साथीहरुले आफूसंग यत्रो वर्ष राजनीति गरेपछि झण्डा त हल्लाउनुप¥यो नि ! भन्दै पदप्रति आशक्ति देखाए । उनले आफूलाई जातीय राज्यको नाराले मुलुक ध्वस्त भएको बेला एन्टिकरेन्टमा लागेको र कामलाई नै प्राथमिकता दिंदै आएको भएपनि पार्टीले मूल्याङ्कन नगरेको भन्दै गुनासो गरे । पार्टीलाई नीतिमुखी ढङ्गले चलाउन र केन्द्रीय समितिको बैठक बोलाएर मापदण्ड बनाइ मन्त्री छनौट गर्न आफूले पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेको भएपनि त्यस्तो नभएका कारण पार्टीका सबै नेता निर्वस्त्र बनेको उनले आरोप लगाए । प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष माधव रेग्मी र सचिव प्रकाशचन्द्र सापकोटाले पनि बोलेका थिए ।
उक्त अवसरमा नेता गुरुङले नेपाल प्रेस युनियन कास्कीलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका थिए । यस्तै कास्कीको सार्दीखोला गाविसमा निर्माणाधिन विपि स्मृति भवनका लागि ५० हजार रुपैयाँ हस्तान्तरण गरेका थिए । 

Post a Comment

 
Top