0
गोल्डेन न्यूज संवाददाता
बढ्दो वर्षाद्सँगै कास्की जिल्लाका अधिकांश ग्रामीण सडक भत्कँदै गएपछि सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।  जिल्लाका अधिकांश ठाउँमा स्थानीय बाटो विस्तार भए पनि तिनको उचित संरक्षण हुन नसक्दा जोखिमपूर्ण यात्रा गर्नु यतिखेर सर्वसाधारणको दैनिकी बनेको छ । कास्की दक्षिण भेगस्थित भरतपोखरीको लामगादी, बाँदरकोट हुँदै आँपुभन्ज्याङबाट मनियल डाँडा जाने बाटो ठाउँ ठाउँमा बिग्रँदै गएपछि यस क्षेत्रमा आवतजावतमा निकै कठिनाइ भएको छ ।  यसबारे सम्बन्धित निकायमा जानकारी गराइए पनि त्यसको मर्मत सम्बन्धमा कुनै सुनुवाइ हुन नसकेको स्थानीयवासी बताउँछन् । अघिल्लो साता अविरल रुपमा आएको पानीका कारण उक्त मार्गमा पर्ने सेती नदीमाथिको लामगादीको पक्की पुल भत्केपछि यात्रुहरू गगनगौँडा पावर हाउसबाट घुमाउरो बाटो पटनेरी, पुल्चोक, कालिका स्थान हुँदै यात्रा गर्न बाध्य छन् ।  कास्कीकै छोरेपाटनबाट कृष्ति नाच्ने चौरको बयेली हँुदै शिवालय जाने बाटो पनि धेरै ठाउँमा बिग्रेको स्थानीयवासी लक्ष्मण पौडेलले बताए । वर्षात्का कारण जिल्लाका धेरै ठाउँमा स्थानीय बाटो बिग्रेको गुनासो आउने गरे पनि स्थानीय बाटो मर्मतका लागि बजेट आउने नगरेको डिभिजन सडक कार्यालय पोखराका प्रमुख नरेन्द्र सुवेदीले बताए । अधिकांश ग्रामीण सडक स्थानीय निकायबाट पनि निर्माण गरिएको र तिनीहरूलाई छुट्याइने मर्मत खर्च अत्यन्त न्यून हुने भएका कारण समस्या आउने गरेको उनको भनाइ छ । जथाभाबी गरिने सडक विस्तार रोक्दै अत्यावश्यकीय सडकलाई व्यवस्थित गर्दै जानुपर्ने उनले बताए ।




Post a Comment

 
Top