0
गोल्डेन न्यूज संवाददाता
कास्की दाङसिङका नागरिकहरुले बिरेठाँटीलाई गाउँपालिका को केन्द्र बनाउन माग गरेका छन् । आइतबार गाविसले आयोजना गरेको बार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा पुनर्संरचना आयोगले तोकेको सबै मापदण्ड पूरा भएकाले गाउँपालिकाको केन्द्र बिरेठाँटीमै बनाउन माग गरेका हुन् । पूर्व गाविस अध्यक्ष एव्ं लोकतान्त्रिक खेलकुद महासंघका केन्द्रिय अध्यक्ष देवेन्द्र शेरचनले जिल्ला स्तरीय प्राविधिक सहयोग समितिले प्रश्ताव गरेका गाविसहरुको केन्द्र बिरेठाँटी भएकाले यसको बिकल्प नसोच्न आग्रह गरे । अन्य गाविसको तुलनामा खुल्ला र बस्तियोग्य जमिन हाम्रै गाविसमा छ, सबै गाविसको केन्द्र पनि यही हो, उनले भने–अन्यत्र जान भन्दा बिरेठाँटीलाई केन्द्र बनाउनुपर्छ । तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले जनसंख्यालाई मात्रै हेरेर गाउँपालिका बनाउने र केन्द्र तोक्ने काम गर्दा जनताले दुःख पाउने बताए । विकेन्द्रिकरणको नाममा जनताले अहिले पाईरहेका सेवा सुविधा समेत कटौति हुने र बढी दुख पाउन सक्ने भएकाले बैज्ञानिक र ब्यवहारिक हिसावले संरचना बनाउन आग्रह गरे । नेकपा एमाले क्षेत्र नम्बर ४ का उपसचिव सुरेन्द्र गुरुङले भुगोललाई आधार मानेर इलाका तहलाई नै गाउँपालिका बनाउनुपर्ने सुझाव दिए । यसअघिको १० नम्बर इलाकालाई नै गाउँपालिका बनाउँदा जनतालाई बढी सहज हुन्छ, उनले भने–जनसंख्या मापदण्ड घटाएर लुम्ले, सल्यान, दाङसिङ र घान्दु्रकलाई छुट्टै गाउँपालिका बनाउनुपर्छ । गाविस स्तरीय राजनीतिक दलका नेताहरुले पनि लुम्ले वा ढिकुरपोखरी केन्द्र मान्न नसकिने बताए । घान्द्रुक देखिका नागरिकले सेवा लिनुपर्छ, ढिकुरपोखरीलाई मात्रै हेरेर हुँदैन, उनीहरुले भने–सबैतिरको बीच भूभाग विरेठाँटी नै हो, यसैमा लविङ होस् । समितिले ढिकुरपोखरी, लुम्ले, सल्यान, दाङसिङ, घान्द्रुक र भदौरे तामागी गाउँ विकास समितिलाई समेटेर अन्नपूर्ण गाउँपालिकाको प्रस्ताव गरेको छ । गाविस सचिव राजन तिमिल्सिनाले दलहरुले गरेका निर्णय जिल्ला विकास समितिमा पेश गर्ने बताए । कार्यक्रमका सहभागीहरुले गाउँको माटो परीक्षण गरेर खेतीबालीको प्रस्ताव गर्न समेत सुझाव दिए । यस्तै एक्याप र गाविस बीच समन्वय हुन नसकेको, सञ्चालित योजनाहरुमा अनुगमन नभएको, सांसदहरुले विकासको काममा चासो नदिएको लगाएतको गुनासो गरे । गुनासोको सुनुवाई गर्दै गाविस सचिव तिमिल्सीनाले प्रत्येक योजनामा छुट्टाछुट्टै अनुगमन समिति गठन गरेर उनीहरुकै सिफारिसमा अन्तिम किस्ता भुक्तानी दिएको बताए । धेरै योजना भएकाले सबै योजनामा पुग्न सकिएको छैन, तर धेरैजसो योजना हामीले हेरेरै फरफारक गरेका छौं, उनले भने–आगामी बर्षदेखि अनुगमन समितिको प्रतिबेदन बिना अन्तिम भुक्तानी दिने छैनौं । माटोको अम्लियपना परीक्षणका लागि पनि सम्बन्धित निकायसँग समन्वय गरेर जतिसक्दो छिटो सम्बोधन गरिने प्रतिबद्धता जनाए। एक्यापसँगको समन्वय गाविसले गर्न चाहे पनि नसकेको उनको भनाई छ । पटक–पटक समन्वय गर्न आग्रह गर्दापनि सुनुवाई नभएको उनको गुनासो छ । नेपाली काँग्रेसका गाउँ सभापति खगेन्द्र गौचनले एक्यापलाई गाविस मातहतमा ल्याउन धेरै प्रयास गरेपनि नसकेको बताए । एमाले अध्यक्ष धर्मदत्त पौडेल, माओबादी केन्द्रका अध्यक्ष लिल बहादुर कुवँर लगाएतले पनि एक्यापले स्थानीयसँग मनपरि कर उठाउने गरेकाले तत्काल निर्णय गरेर खारेज गर्नुपर्ने बताए । कार्यक्रमको सहजीकरण पत्रकार प्रकाश ढकालले गरेका थिए । गाविसले अघिल्लो बर्ष २०७२÷७३ मा ७४ लाख ३४ हजार रुपैयाँको कार्यक्रम सञ्चालन गरेको थियो । यो मध्ये सबैभन्दा बढी सामाजिक सुरक्षा तर्फ ४२ लाख ७७ हजार छ । अघिल्लो बर्ष २ लाख १९ हजार आन्तरिक आम्दानी गरेको थियो ।

Post a Comment

 
Top