0
गोल्डेन न्यूज संवाददाता
पोखरामा नयाँ र पुराना यातायात ब्यवसायीको टकराब पुनः सुरु हुने संकेत देखिएको छ । ६ महिनाअघि पोखरा नगर क्षेत्रमा तीन वटा बस सञ्चालन सुरु गरेको नयाँ विन्ध्यवासिनी यातायात बस ब्यवसायी समितिका थप बस गुड्न तयार भएपछि पुरानो समिति पुनः आन्दोलित भएको छ । नयाँ समितिका थप बस रुट इजाजतको प्रक्रियामा गएपछि पोखरा बस ब्यवसायी समितिले विरोध जनाएको हो । समिति अन्तर्गतका ब्यवसायी आईतवार घेराउ गर्न पुगेपछि यातायात ब्यवस्था कार्यालय दिनभर नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सुरक्षा घेरामा रह्यो । कार्यालय प्रमुख भरत पौडेल कार्यालयमा उपस्थित नभएपछि ब्यवसायी साझ फर्किए । नयाँ समितिले थप बसको रुट ईजाजत पाए आफ्नो समिति अन्तर्गत नयाँ बसले पनि रुट ईजाजत पाउनुपर्ने उनीहरुको अडान छ । त्यस्तै समस्या समाधानको लागि यसअघि भएको सहमति कार्यन्वयन गर्न उनीहरुले आग्रह गरेका छन् । नयाँ समितिले गत बर्षको माघ १८ गते रुट ईजाजत प्राप्त गरी २२ गतेदेखि नगर क्षेत्रमा तीन वटा बस सञ्चालन सुरु गरेको थियो । विरोधमा उत्रिएका पुराना ब्यवसायी चार वुदे सहमतिको आधारमा नयाँ समितिको बस सञ्चालन गर्न दिन राजी भएका थिए । फागुन ६ गते नयाँ र पुराना यातायात ब्यवसायी बीच प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीको समन्वयमा प्रमुख दलका जिल्ला स्थित नेता एबं सर्वपक्षीय छलफलपछि चार वँुदे सहमति भएको थियो । सहमतिको चौथो बुदामा उल्लेख कार्यदल गठनको विषय कार्यान्वयन नभई नयाँ बस आउन लागेको भन्दै पुराना ब्यवसायी आन्दोलित भएका हुन् । पोखरामा थप गाडी सञ्चालन गर्न मिल्ने नमिल्ने अध्ययनका लागि कार्यदल गठन गर्ने र सो कार्यदलले दिएको सुझावको आधारमा अघि बढ्ने सहमति भएपनि कार्यान्वयन नभएको उनीहरुले बताए । नयाँ समिति अन्तर्गतका २७ वटा बस अहिले गुड्नका लागि तयारी अबस्थामा छन्। बस शुभजगदम्बा आयल स्टोर परिसरमा छन् । ‘नयाँ गाडी तयार भएको २० दिन कट्यो,’ विन्ध्यवासिनी यातायात बस ब्यवसायी समितिका सचिव रामचन्द्र अधिकारीले भने ‘बस तयार हुनासाथ यातायात कार्यालयमा रुट ईजाजतका लागि पेश भएको निवेदन अघि बढ्न सकेको छैन ।’ तीन वटा छुट्टा–छुट्टै कम्पनीको ३२ सिटे बस समितिको नाममा नामसारी भैसकेको र रुट ईजाजत पाए गुड्नका लागि तयार रहेको उनले बताए । नयाँ स्वराज, टाटा र महेन्द्रा तीन कम्पनीका बस हुन् । उनका अनुसार नयाँ बसमा प्रतिबस झण्डै ३६ लाखको दरले ९ करोड ७२ लाख भन्दा बढी लगानी छ ।  निकट भविष्यमै पोखराको सडकमा समिति अन्तर्गतका ४० वटा बस गुडाउने तयारी रहेको अधिकारीले बताए । ‘२७ वटा बस गुड्नका लागि तयार छन् र थप १३ वटा तयार हुदैछन् ’ उनले भने । तर पोखरा बस ब्यवसायी समितिले भने नयाँ बस थप हुन लागेकोमा विरोध जनाएको छ । समितिका सचिव अमृत शर्मा तिमल्सिनाले आफूखुशी बस थप्दै गए पोखराको यातायात ब्यवस्थापन मा चुनौती थपिने बताए । पोखरा बसले नयाँ गाडीको लागि रुट ईजाजत माग्दा विस्थापनमा जान बाध्य पारियो’, उनले भने–‘यदि नयाँ बस थपिन्छ भने हामीले पनि थप्छौं ।’ पोखराको यातायात ब्यवस्थापनका लागि यसअघि भएका सहमति कार्यान्वयन हुनुपर्ने उनले बताए । पोखरा बस अन्तर्गत अहिले २५१ सवारी छन् । त्यसमध्ये २३ वटा ग्रामिण क्षेत्रमा चल्छन् भने बाँकी पोखरा नगर क्षेत्रमा आलोपालो चल्दै आएका छन् ।  पोखरा बस ब्यवसायी समितिले पुरानो गाडी विस्थापन नीति अन्तर्गत एक महिना अघि मात्रै ३४ वटा लक्जरी बस र यूरो थ्री मापदण्डका ४९ वटा हरियो बस सञ्चालन गरेको थियो । पिस पोखरा अनलाइनले जनाएअनुसार यातायात ब्यववस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले नयाँलाई दिने नदिने भन्दा पनि कानून अनुसार अघि बढ्ने बताए । कानूनी प्रक्रिया पूरा गरेर बस सञ्चालनका लागि आउनलाई रुट ईजाजत दिने उनले बताए ।  यातायात ब्यवस्था कार्यालय गण्डकीले नयाँ बसको रुट ईजाजत प्रक्रिया अघि बढाएको छ । कार्यालय स्रोतका अनुसार केहि दिन भित्र नयाँ समितिका बसले रुट ईजाजत प्राप्त गर्नेछन् ।





Post a Comment

 
Top