0
गोल्डेन न्यूज संवाददाता
लेखनाथमा विभिन्न वडामा महिलाहरूको बढ्दो सक्रियतासंगै नागरिक सचेतना केन्द्र अन्तर्गत सामाजिक परिचालन कार्यक्रमको  अनुगमन सम्पन्न भएको छ। लेखनाथको वडा नं ११ को भूतभूते टोल नागरिक सचेतना केन्द्र, १४ कोरुपा बढहरे नागरिक सचेतना केन्द्र र १५ को थुम्कीमा रहेको नागरिक सचेतना केन्द्रमा लेखनाथ नगरपालिकाले अनुगमन गरेको छ। महिलाहरूले आफूहरूलाई सामाजिक परिचालक मार्फत रिफ्लेक्ट विधि कक्षामा दिइएको जन्म, विवाह, मृत्यु दर्ता एवं विभिन्न घटना दर्ता सम्बन्धी जानकारी, महिला तथा पाठेघर सम्बन्धी गरिएको शिविर, जीविकोपार्जन सुधार योजना कार्यक्रम अन्तर्गतको आर्थिक सहयोग, सिप विकासका लागि गलैचा बुन्ने तालिम तथा बाख्रापालनका लागि बाख्रा वितरण, शौचालय निर्माण, बैठक तथा कक्षाका लागि सामाजिक भवन निर्माण, बाटो निर्माण जस्ता कार्यक्रमहरूले आफूहरूमा ल्याएको परिवर्तन देख्दा आफूहरू खुशी भएको बताए। लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत, लोकबहादुर भण्डारी, इन्जिनियर तथा योजना शाखा प्रमुख जगन्नाथ कोइराला, आ.ले.प. रविन्द्र अधिकारी, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम, लेखनाथ न.पा. शहरी शासन विज्ञ नवराज नेपाली र पत्रकारहरूको संलग्नतामा सो अनुगमन कार्यक्रम भएको थियो। पारिवारिक तथा सामुदायिक रुपमा आफूहरु प्रगतिशील हुन सदा सक्रिय भई नियमित कक्षा आउने समस्याको पहिचान गरि समाधानका लागि अनि सामुदायिक हक, हित र विकासका लागि आफूहरू अघि सर्ने प्रतिवद्धता जनाए।







Post a Comment

 
Top