0
परिचय ः असफल गौतमको जन्म गण्डकी अञ्चल, स्याङ्जा जिल्लाको ठूलाडिही–६ मा भएको हो । किसान परिवारमा जन्मिएका असफल ११ वर्षको उमेरदेखि नै साहित्य, कला र सङ्गीतका क्षेत्रमा लाग्दै आएका स्रष्टा हुन् । मामा घरमा हुर्केर गाउँकै स्कुलबाट औपचारिक अध्ययन सुरु गरेका असफल स्याङ्जादेखि पोखरासम्मको यात्रा तय गरेर आफ्नो उच्च शिक्षा हासिल गर्ने सपनालाई साकार पारिरहेका छन् । वर्तमान समय जागिर खाने र पैसा कमाउने हो, तापनि असफलले अध्ययन सँगसँगै साहित्य सिर्जना र सामाजिक सेवामा समय खर्चिरहेका छन् । बहुमुखी प्रतिभाका धनी असफल, आफू भोको भए पनि अरूलाई सहयोग गर्नुपर्छ भन्ने धारणा राख्छन् । उनी मनमा पीडा र चिन्ता भए पनि अरूलाई कहिल्यै पीर पार्दैनन् । यस्तै गुणले भरिएका सहृदयी असफल युवा पुस्ताका व्रिmयाशील र सफल साहित्यकार हुन् । असफलले विभिन्न व्रिmयाकलापका माध्यमबाट शिक्षासेवी, समाजसेवी, भाषासेवी र संस्कृतिप्रेमी व्यक्तित्वका रूपमा आफ्नो छवि स्थापित गरेका छन् । साहित्यका अन्य विधामा कलम चलाउने स्रष्टाको विशेष चर्चा हुने गरे तापनि लघु रूप, स्वतन्त्र उपविधा र जुनसुकै विषयवस्तुलाई चोटिलो प्रहार गर्ने मुक्तकको विशेष अध्ययन र अनुसन्धान गरिएको पाइँदैन । सोही कारण यस अनुसन्धानमुलक आलेखमा सानै उमेरमा नेपाली मुक्तक लेखनको परम्परा, यसको अध्ययन एवम् अनुसन्धान गर्ने स्रष्टा असफल गौतमका फुटकर प्रकाशित मुक्तक र सिलोक बन्दै छन् मुक्तक कृतिको अध्ययन र विश्लेषण गरिएको छ ।
विषयप्रवेश ः सुरुमा गायनमा लागेका असफलले वि.सं. २०५८ मा पर्वतबाट प्रकाशित मोदीमैदान साहित्यिक द्वैमासिकको वर्ष १ पूर्णाङ्क ३ मा मुक्तक शीर्षकको फुटकर मुक्तक प्रकाशन गरेर मुक्तक लेखन यात्रा सुरु गरेका हुन् । सुरुवातमा गीत, पछिल्लो समय मुक्तक हुँदै वर्तमानमा असफल गौतम साहित्यका विविध विधामा कलम चलाउँदै आएकाले नेपाली साहित्यमा उनले उल्लेख्य योगदान दिएका छन् । असफल गौतम आफ्नै मिहिनेतको कमाइबाट कृति प्रकाशन गरी साहित्यिक क्षेत्रमा लागेका छन् । उनले नेपाली साहित्यको भण्डारमा अहिलेसम्म दुई लोक दोहोरी एल्बम चट्टै कम्मरमा
(२०६०) र पीपलपाते ओठ (२०६१) बजारमा ल्याएका छन् । यसै गरी सङ्घर्षका पाइलाहरू सामाजिक उपन्यास (२०६६), सिलोक बन्दै छन् मुक्तक सङ्ग्रह (२०६७), नेपालका भाट जातिको अध्ययन, इतिहास (२०६९), सत्तलमा सिर्जना, गजल सङग्रह (२०७१) लगायतका सम्पादित र प्रकाशित गरी १८ वटा कृति प्रकाशन गरेर महत्त्वपूर्ण योगदान पु¥याएको पाइन्छ । यो मात्र होइन, उनले समाजमा उँचो छवि बनाएका स्रष्टाको सम्मान गर्दै कहिले स्रष्टाका सिर्जनाको विवेचना, कहिले ओझेलमा परेका स्रष्टाका बारेमा आफ्नै खर्च र परिश्रमबाट लघु अध्ययन र अनुसन्धान गर्दै कृति सम्पादन र प्रकाशन गरेका छन् । यसरी सम्पादन र प्रकाशन गरेका कृतिमा समसामयिक तीजे गीत सङ्ग्रह (२०६७), समावेशी रचनाहरूको सँगालो बिस्कुन (२०६८), दुर्गाबहादुर शाह बाबा ः व्यक्तित्व र कृतित्व, (२०६९), हाइकु ः आलेख र अभिलेख (२०७०) रहेका छन् । यस्तै उनले अन्य स्रष्टाहरूका चिन्तन मनन् उद्गार सङ्ग्रह (२०६७), यो कस्को हात हो ? (२०७०), सिर्जनाका फूलहरू (२०७२), टुहुरोको छोरो टुहुरो (२०७२) शान्तिनारायण श्रेष्ठ ः स्रष्टा र सिर्जना (२०७२), मनको शान्ति (२०७२) जनमुखी आवाज (२०७२), बिरिमफूल (२०७२) लगायतका कृतिको सम्पादन गरेका छन् ।
सिलोक बन्दै छन् मुक्तकका काव्य प्रवृत्तिको विश्लेषण
असफल गौतमले साहित्यका विविध विधामा कलम चलाएका छन् । उनले धेरै विधामा कलम चलाए तापनि उनको मूल विधा मुक्तक नै हो । उनको वि.सं. २०५८ मा पर्वतबाट प्रकाशित मोदीमैदान साहित्यिक द्वैमासिक पत्रिकामा मुक्तक शीर्षकको पहिलो फुटकर मुक्तक प्रकाशन भएको हो । यस कालव्रmमलाई हेर्दा झण्डै दुई दशक लामो साहित्यिक यात्रा पार गरेका असफलका सम्पादनसहित १८ वटा कृति प्रकाशन भएका छन् । यी बाहेक विभिन्न पत्रपत्रिका, वार्षिक मुखपत्र र संयुक्त कृतिमा उनका तीन सय ४६ फुटकर रचना प्रकाशन भएका छन् ।
असफल गौतमले प्रारम्भिक चरणबाटै आफूलाई सामाजिक यथार्थवादी साहित्यकारका रूपमा चिनाएका छन् । उनले वि.सं. २०६६ मा सामाजिक उपन्यास प्रकाशन गरेका छन् । उनले आफ्ना सिर्जनामा व्यङ्ग्य, प्रकृति चित्रण, मानवतावाद, युगबोधको अभिव्यक्ति, मातृत्वप्रेम, देशभक्ति, वर्गीय असमानता जस्ता भावलाई प्रतीकात्मक, बिम्बात्मक, सरल र सरस तरिकाले व्यक्त गरेका छन् । मुक्तककार असफल गौतमले आफ्ना मुक्तकमार्फत युगीन पीडा, छट्पटी र अन्तर मनका व्यथालाई कलात्मक अभिव्यक्ति दिँदै चेतनाको सन्दर्भलाई सम्प्रेषण गरेका छन् । सरल, सरस शब्दको प्रयोगले यिनका मुक्तक बोधगम्य छन् । असफल गौतमका मुक्तकका अन्तरवस्तु विश्लेषण सामाजिक यथार्थता, राष्ट्रप्रेम, मातृत्व प्रेम, प्रकृति प्रेम, प्रेम तथा प्रणयमूलक पक्ष, द्वन्द्वको त्रासदी र विद्रोह, मातृत्वप्रेम, मानवतावादी स्वर आदिका आधारमा गर्न सकिन्छ ।
सामाजिक यथार्थता
असफल गौतमले आफ्ना मुक्तकमा समाजका विभिन्न पक्षलाई समेटेका छन् । उनले व्यक्तिले भोगेका र आँखाले देखेका विषयवस्तुलाई मुक्तकको रूप दिएका छन् । उनको नजरमा समाज सभ्यताको जननी हो । सभ्य समाजमा रहेका हामी सदा सजक हुनुपर्छ । हाम्रो समाजमा जहिले पनि ठूला माछाले साना माछालाई खाने, धनीले गरीबलाई दबाई रहने, न्यून आय भएकालाई शोषण गरिरहने घटनालाई आफ्ना मुक्तकका विषयवस्तु बनाएका छन् । उनले अभिभावकको वियोगमा जिउन गाह्रो भएको, आफन्तजनले हेला गरेको र वैरीले पनि जीवनलाई तारो बनाएको प्रसङ्गलाई यसरी व्यक्त गरेका छन् ः
अभिभावकको वियोगमा बाँच्दा गाह्रो भो जीवन
रगतको नाता खोज्दै बस्ती धाउन साह्रो भो जीवन
आफै के बिग्रनु बुझी–बुझी त्यही हो दौलत भएपछि
 वैरीको नजरमा उचाल्ने पछार्ने तारो भो जीवन    
        (सिलोक बन्दै छन्, पृ. ६) ।
बलेको आगो ताप्ने र मिहिनेत नगरी खान पल्केकाले गर्दा समाजमा को सही को गलत छुट्याउन पनि कठिन भयो भन्ने सन्दर्भलाई उनले यसरी मुक्तकमा उतारेका छन् ः
आशामा बज्र पारे बलेको आगो ताप्नेहरूले
विना मिहिनेतमा सफलताको फल थाप्नेहरूले
आज तराजु छुट्याउनै गाह्रो कस्तो(कस्तो
हरूवा, चुरूवा, पानी मरूवाको साथ चाप्नेहरूले                (सिलोक बन्दै छन्, पृ. १०) ।
जिन्दगी भनेको सङ्घर्ष रहेछ, भित्री मन अँध्यारो भए पनि बाहिर हाँस्नुपर्दो रहेछ भनी असफल लेख्छन् ः
जिन्दगी एक सङ्घर्ष हो यस्तै पाइला चाल्नुपर्छ
आत्माबाट नचाहेर पनि कतै यस्तै भनी दाल्नुपर्छ
साँच्चै नहुनु थियो भयो अब दोहोरिने छनक छैन
मनको मझेरीमा झरी परे पनि बाहिरी अनुहार बाल्नुपर्छ             (सिलोक बन्दै छन्, पृ.२८) ।
समाजमा विद्यमान परिवेशलाई सङ्केत गर्दै असफलले विभिन्न मुक्तक लेखेका छन् । उनले वर्तमानका हाम्रा नेताले विचारै नगरी बोल्नाले आम नेपालीले दुःख पाएको भन्दै आफ्ना मुक्तकमा भनेका छन् ः
पछि हट्नुपर्छ भने बोल्दा विचार गर्नुपर्छ
कसै छोड्ने छैन म हेर तिमी पछि सर्नुपर्छ
लाज मान्ने मैले होइन त्यो तिम्रो आफ्नो कुरा
मान्छेको जुनी हो भने घातको लागि मर्नुपर्छ    
        (सिलोक बन्दै छन्, पृ. ३९) ।
समाजमा मानव भएर जन्मेपछि सबै काम गर्नुपर्छ, समाजका लागि जहर पिउन र सङ्घर्षका पहाड उक्लन पनि डराउनु हुन्न भन्ने भाव व्यक्त गर्दै उनी लेख्छन् ः
पिउनु परे जिन्दगीमा जहरसँग डराउँदिन
भीमकाय सङ्घर्षका पहाड आऊन् हराउँदिन
खराब दिलका खोरीहरू मै हुँ भन्छन् भने पनि
भित्री मनले चिन्ने छु वैरी ठानी कराउँदिन    
        (सिलोक बन्दै छन्, पृ. ४१) ।
आजको समाजमा विकृति बढ्दै गएकाले दिउँसै नारीको अस्मिता लुटिँदा पनि प्रशासन रमिते बनेको र मुक्तिको लहरले परिवार पनि अछुतो नभएको प्रसङ्गलाई असफलले यसरी मुक्तकमा लेखेका छन् ः
लेखाजोखा छैन यहाँ दिन दहाडै अस्मिता लुटिँदा पनि
रमिते बन्छ दुनियाँ प्रशासन यहाँ भाइभाइ कुटिँदा पनि
आजकल त परिवारमै मुक्ति चाहिने संस्कार हेर्नु हजुर
अवस्था भयो थरथर काँप्नुपर्ने श्रीमतीसँग छुटिँदा पनि                    (सिलोक बन्दै छन्, पृ. ६४) ।
यसरी असफल गौतमले आफ्ना मुक्तकमा सामाजिक यथार्थवादी भाव व्यक्त गरी आफूलाई यथार्थवादी मुक्तककारका रूपमा प्रस्तुत गरेका छन् ।
राष्ट्रप्रेम तथा मातृत्व प्रेम ः असफल गौतमले आफ्ना मुक्तकमा जननी र जन्मभूमिप्रति श्रद्धा भाव व्यक्त गरेका छन् । उनी एक राष्ट्रभक्त र मातृत्वप्रेमी सचेत सर्जक हुन् । उनले आफ्ना मुक्तकमा राष्ट्रप्रेम र मातृत्व प्रेमको भाव व्यक्त गरेको पाइन्छ । स्वाभिमानी राष्ट्रभक्त, देशभक्त र कर्तव्यनिष्ठ व्यक्तित्वका धनी असफल नेपाली हामी रहौँला कहाँ नेपालै नरहे भन्ने विचार बोक्ने लेखक हुन् । सोही कारण उनले आफ्ना बहुसङ्ख्यक सिर्जनामा राष्ट्रप्रेमको भाव अलापेका छन् र लेख्छन् ः
नेपालको स्वाभिमान बेच्नेहरू एक(एक गरी मारिन्छौ
गोला, बारूद, बम, बन्दुकले नभ्याए एम्बुसमा पारिन्छौ
स्वतन्त्र छु भनेर ढ्वाङ् फुक्दै दुनियाँ रूवाउँदै हिँडछौ भने
सिकारीले निशाना लगाएको गोलीले झैँ फुक्लुक्कै मारिन्छौ      (सिलोक बन्दै छन्, पृ. ३८) ।
वर्तमान समयमा आफूलाई राष्ट्रवादी देखाउने तर व्यवहार अराष्ट्रवादी गर्नेहरूको विगविगी रहेको छ । सोही कारणले गर्दा इमान्दारहरूले सधैँ दुःख पाएका छन् भन्ने भाव असफल आफ्ना मुक्तकका माध्यमबाट यसरी व्यक्त गर्दछन् ः
राष्ट्रप्रेमको नाम जप्ने भन्दै पहिलो दर्जामा टेकाएर हजुर भन्दै मुखले एक कुरा व्यवहारले
अर्कै देखाएर आखिर हिजोका ती कर्तुत
तिम्रा दुनियाँले देखेकै छन् असल पाठ सिकाउँछु
भन्दै बैमानीमा नाम लेखाएर   (सिलोक बन्दै छन्, पृ. ६३) ।
असफलले देशको हालत बिग्रिएर अस्तित्व नै सङ्कटमा परेपछि नेपाल आमालाई पीडा भएको छ । यस बेलामा एक सच्चा राष्ट्रभक्त नेपालीलाई छट्पटी भएको भाव व्यक्त गरेका छन् । बेइमानीले राष्ट्रियता र स्वाभिमानलाई नै धरापमा पारेकोमा चिन्ता व्यक्त गर्दै मुक्तककार असफल लेख्छन् ः
देशको हालत सम्झ्यो भने हुन्छ छट्टपट्ट
स्वाभिमान बेच्नेहरूले अस्मिता पारे लट्टपट्ट
हुँदो रहेनछ नाक नहुनेलाई कुनै पीर चिन्ता हजुर
डुङ्गा डुब्न लाग्यो भन्छन् जाग्ने हैन झट्टपट्ट    
            (सिलोक बन्दै छन्, पृ. ३४) ।
आजको वैज्ञानिक युगमा पनि नारीलाई कमजोर ठान्ने र घर भित्र सीमित ठान्ने प्रवृत्तिले जरा गाडेको छ । उनीहरूलाई समाज र देशको विकासमा अग्रसर गराउनुपर्छ भन्ने भावलाई यसरी व्यक्त गरेका छन् ः
नयाँ समयका नयाँ मान्छे एक्लो सिंह बन्दैनन्
अविवेकी सिकारी झैँ मान्छेको सिकार गन्दैनन्
चूलो, चौको, डोको, मेलामा सीमित नारीलाई
मुर्छाबाट ब्यूँझिएर आऊ बाहेक केही भन्दैनन्     
            (सिलोक बन्दै छन्, पृ. ३७) ।
उनका विचारमा जन्मदाता र जन्मभूमिको ऋण तिरेर कहिल्यै सकिँदैन ।
यस्तै असफल गौतमलाई आफ्नी जन्मदातृको पीडाले सधैँ छाती नै चिराचिरा भएको भाव आफ्ना मुक्तकमा यसरी व्यक्त गर्दछन् ः
हे आमा ! मलाई जन्माएर छुनुभन्दा
नजन्माएको भए हुन्थ्यो बाँचेर रूनुभन्दा
यादमा छाती चिरा–चिरा भयो आज
प्रसव समयमै छाडेको भए धिक्कारको जन्म हुनुभन्दा                 (सिलोक बन्दै छन्, पृ. ७०) ।
यसरी असफल गौतमले आफूलाई राष्ट्रपे्रमी र मातृत्वप्रेमी मुक्तककारका रूपमा चिनाएका छन् ।
प्रकृति प्रेम ः मुक्तककार असफल गौतमले प्रकृतिलाई विषय बनाई विभिन्न मुक्तक लेखेका छन् । उनले आफ्ना मुक्तकका विषय हिमाल, पहाड, तराई, डाँडाकाँडा, फूलबारी, खोलानाला, ताल तलैयालाई बनाएका छन् । प्रकृतिले दिएको उपहारको दुर्दशा देखी उनको मन छट्पटिन्छ र उनका रचनामा प्रकृति प्रेम व्यापक बनेर आउँछ । प्रकृतिले दिएका उपहारको संरक्षण र संवद्र्धन गर्न नसक्दा उनको मन रुन्छ । असफल गौतम प्राकृतिक सम्पदाको संरक्षणमा सम्पूर्ण जनशक्ति एकजुट हुनुपर्ने धारणा प्रकट गर्दछन् । पोखराको गहना फेवातालमा जलकुम्भीले डेरा जमाएको र ढलको पानी मिसिदा पनि पोखरेली लाज पचाउँदै चुपचाप हिँडेको प्रसङ्गलाई यसरी व्यक्त गरेका छन् ः
फेवातालमा जलकुम्भीले पद्मासन जमाउँदा
रमिते बन्छ प्रशासन ढल, भल, मल त्यहीँ रमाउँदा
मानवीय चेतना चपरीमा शल्यव्रिmयाको खाँचो
लाज पचाउँदै झुटो सत्यताको साँचो थमाउँदा      
            (सिलोक बन्दै छन्, पृ ः ४३)
विकासका नाममा वनविनाश गर्नाले वसन्तको मुना ओइलिएको, न्याउलीले विरहको भाका गाउन नपाएको र प्राकृतिक सन्तुलन बिग्रिएको प्रसङ्गलाई अनिकाल शीर्षकको मुक्तकमार्फत आफ्नो भाव यसरी व्यक्त गर्दछन् ः
वसन्ती मुना ओइलाउनु कस्तो चाल प¥यो
अतिवृष्टि, अनावृष्टि, महामारी अनिकाल प¥यो
न्याउली गाउने विरह भाका फेरि(फेरि वनमा
विकास भन्दै विनास गरेर खानेको थाल प¥यो              (सिलोक बन्दै छन्, पृ ः ६५) ।
                  बाँकी आगामी अंकमा






Post a Comment

 
Top