0
गोल्डेन न्यूज संवाददाता
नेष्डो नेपालले संस्थाको लघु वित्त सेवामा आवद्ध एक सदस्यको परिवारलाई कर्जा मिनाहा घोषणा गर्दै कीरियाखर्च प्रदान गरेको छ । नेष्डोको नाउँडाँडा शाखा अन्तर्गत सल्यान गाविसस्थित मनकामना महिला स्वाभलम्बन केन्द्रकी सदस्य  गौमती विश्वकर्माको ६९ वर्षको उमेरमा निधन भएको थियो । गौमतीको निधन भएपछि उनले संस्थामा तिर्नुपर्ने सबै रकम मिनाहा एवं कीरियाखर्च समेत प्रदान गरिएको नेष्डो नेपालले जनाएको छ । गौमतीले नेष्डोलाई तिर्नुपर्ने ५५ हजार रुपैँया साँवा र ९ सय ३४ रुपैयाँ ब्याज मिनाहा गरी उनका छोरा सुशिल विश्वकर्मा लाई क्रियाखर्च वापत ३ हजार १ सय रुपैँया प्रदान गरिएको हो ।
यसैगरी नेष्डोको विभिन्न बचत कार्यक्रममा जम्मा भएको १० हजार ५ सय १४ रुपैँया पनि छोरा सुशिललाई प्रदान  गरिएको समेत नेष्डोका कार्यकारी प्रमुख विश्व प्रकाश प्रसाईले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । उक्त अवसरमा बोल्दै कार्यकारी प्रमुख प्रसाईले लघुवित्तले ग्रामीण क्षेत्रमा गई घरदैलौमा आकर्षक बचत योजना, सुलभ कर्जा सुविधा र एक दर्जन कल्याणकारी सुविधा प्रदान गर्दै आएको बताए । उनले नेष्डो नेपालले ग्रामिण क्षेत्रमा चेतना, संगठन र आयआर्जनका माध्यवाट विपन्न वर्गको संकटपूर्ण जीविकोपार्जनमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्दै आएको स्पष्ट पारे । विपन्न परिवारलाई समूहमा संगठित गर्दा सामाजिक विभेद, शोषण र उत्पिडनको समेत अन्त्य हुने भन्दै उनले सदस्यको मृत्युसँगै व्यवसायका लागि लिएको कर्जाको साँवा व्याज मिनाहा हुनुले ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे ।  नेष्डोका सचालक समितिका महासचिव प्रेम प्रसाद पौडेलले संस्थाले आर्थिक गतिविधिका संगसगै मृत्यू पश्चात समाजमा गरिने यस किसिमका श्रद्धाञ्जली सभावाट विपन्न वर्गको आत्मा सम्मान र सामाजिक प्रतिष्ठामा वृद्धि गराएको बताए ।  कार्यक्रममा नेपाली कांग्रेस सल्यान गाउँ कार्यसमितिका सभापति मान बहादुर केसी, नेकपा एमाले गाउँ कमिटीका सदस्य राम बहादुर के.सी, संस्थाका महिला प्रतिनिधि तथा सयपत्री महिला स्वाभलम्बन केन्द्रका प्रमुख जलदेवी वि.क., व्यवस्थापक उत्तमप्रसाद अधिकारी, महिला सदस्य सुना वि.क लगायतले संस्थाको गतिविधि बारे प्रकाश पारेका थिए । संस्थाकी नाउडाँडा शाखाका प्रवन्धक लक्ष्मी गाहाको अध्यक्षतामा भएको कार्यक्रममा लघुवित्त प्रमुख विश्ववन्धु प्रसाईले स्वागत, केन्द्र प्रवन्धक सुस्मिता क्षेत्रीले संस्थागत प्रतिज्ञा एवं मानव विकास अधिकृत ईश्वरी शर्माले कार्यक्रम संचालन गरेकी थिइन ।




Post a Comment

 
Top