0
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगमा  बागलुङबाट ३७२ जनाले उजुरी दर्ता गराएका छन् ।  स्थानिय शान्ति समितिमार्फत दर्ता गराएका उजुरीमध्ये बेपत्ता परिवारका २७ आफन्तले खोजिदिन आग्रहसहित निबेदन दर्ता गराएका छन् । सशस्त्र द्वन्द्वको समयमा बेपत्ता पारिएका, मृतकका परिवार, घाइते र अन्य पीडितले बेपत्ता आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगमा निवेदन दिन आयोगले आग्रह गर्दै गोप्य निवेदन दिन चाहेमा पनि व्यवस्था गरेको थियो ।  गत वैशाख २ देखि असार २ गतेसम्म निवेदन दिने म्याद भएपछि सो समयमा ढिलाइ गरेपछि एक महिनाका लागि म्याद थपिएको थियोे, स्थानीय शान्ति समितिकी सचिव लक्ष्मी शर्माले बताए । समितिको तथ्याङ्क अनुसार बागलुङमा २४ बेपत्ता परिवारले प्रारम्भिक राहत बुझेका छन् भने बेपत्ता आयोगमा २७ उजुरी परेका छन् । सशस्त्र द्वन्द्वको समयमा १३९ जनाको मृत्यु भएको थियो । १०२ जना अपहरणमा परेका थिए । शर्माका अनुसार बिस्थापित ७९ जना, अङ्गभङ्ग २३ जना, घाइते ५३ जना छन् भने ४१ जना बालबालिकाले बाबुआमा मृतक भएकाले छात्रवृत्ति पाएका छन् । ती सबैले उजुरी दिएको भए ४५० उजुरी आउनुपर्नेमा ३७२ उजुरी परेका हुन् ।  यो अवधिमा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगका सदस्यहरूले जिल्लाभर भ्रमण गरेर उजुरी दिन आग्रह गरेका थिए । थप पीडामा पर्नसक्ने भन्दै उजुरी नदिएकालाई उनीहरूले कारबाहीको आश्वासन दिएपछि उजुरी बढेका थिए । ‘निहत्था जनतामाथि भएको पीडा र हतियारधारी बीचमा वर्गीकरण गरेर मात्र न्यायका लागि पहल गर्छौँ’, सत्य निरूपण तथा मेलामिलाप आयोगकी सदस्य माधवी भट्टले भने–‘हामीले पनि पीडितलाई सबै मुद्दा मेलमिलापमा टुङ्गिदैनन् भनेर विश्वास दिलाएका छौँ ।’ बलात्कार, गम्भीर मानवअधिकार उल्लङ्घनलगायतका घटनाका पीडकको पहिचान गर्ने र कारबाहीको प्रक्रियामा लैजान आयोगले सक्दो पहल गर्ने उनले बताए । आयोग गठन गरेर उजुरी सङ्कलनको काम गरे पनि अझैसम्म सरकारले दुवै आयोगलाई साधन स्रोत नदिएर हलुका बनाएको आयोगकै सदस्यको आरोप छ ।  यसैबीच, शान्ति समितिका सचिवको म्याद सकिएकोले थप नभएपछि साउनदेखिका कामकार्बाही जिल्ला प्रशासनबाट हुन थालेका छन् । अधिकृत स्तरको कर्मचारीको म्याद सकिएपछि प्रमाणित गर्ने काम अन्य कर्मचारीबाट नभएपछि जिल्ला प्रशासन पठाइएको हो । रासस

Post a Comment

 
Top